अमितले खिचेको तस्बिरले पायो पिपुल्स च्वाइस अवार्ड



नेपालगन्ज ।

नेपालगन्जका फोटोग्राफर अमित रावलले खिचेको तस्बिरले चौथो नेपालगन्ज फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको छ । रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरूको फोटोले ईसेवा भोटिङमा सर्वाधिक ६ हजार सात सय ७७ भोट प्राप्त गर्दै ५० हजार एक सय ११ रूपैयाँ राशीको पुरस्कार सहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको हो ।

अन्तरालको आयोजनामा भएको फेष्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट टप ३१ मा पर्न सफल फोटोहरू भोटिङका लागि ई सेवामा राखिएका थिए । अवार्ड प्राप्त गरेपछि फोटोग्राफर रावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफूलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशी परोपकारी काममा लगाउने बताउँदै उनले भने ‘कोहलपुरका मृगौला रोग पिडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रूपैयाँ दिने उद्घोष गर्दछु ।’

यससँगै नेपालगन्ज फोटो फेस्टिवल समापन पनि भएको छ । फेस्टिवल अन्तर्गत भएको प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर भएको छ । उक्त तस्बिरले ५१ हजार एक सय ११ रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

फेस्टिवलको समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका फोटोहरूलाई पनि नगद पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नेपालगन्ज–१८ का तिलक गाहा मगरले खिचेको तस्बिर खेलकुद विधामा, कृषि विधामा बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामा रोमिन थारू, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् ।

फेष्टिवलको समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यस्ता कार्यक्रमले युवाहरूलाई सृजनात्मक काममा व्यस्त बनाउने बताइन् । स्वदेशमा सम्भावना नदेखेका युवाहरूका लागि यो कार्यक्रम प्रेरक हुन सक्ने उनको भनाई छ ।

समापन कार्यक्रममा पर्यटन कार्यालय कोहलपुरका प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाई, पिजे क्लबका पुर्व अध्यक्ष एवम् प्रतियोगिताका निर्णायक विकास कार्कि लगायतको सहभागिता रहेको थियो । यसैगरि अन्तरालको आयोजनामा सन्चालन भएको २ दिने फोटोग्राफि तालिम पनि समापन गरिएको छ । तालिममा सहभागि ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको छ ।

प्रतिस्पर्धामा छानिएका एक सय ११ फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघिय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ भने अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने छन् ।

वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरू छनौट गरेको थियो । फेष्टिवलको पहिलो संस्करणमा रूकुमका मैत्या घर्ती मगर, दोश्रो संस्करणमा नेपालगन्जकी पत्रकार निशु जोशी र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उपाधि जितेका थिए ।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक, पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा आयोजना गरिएको चौथो नेपालगन्ज फोटो फेस्टिवललाई नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार