कैलाली ।
कैलालीमा कैदीको मृत्यु भएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिशसिंह पालीको असार २ गते राति उपचारको क्रममा मृत्यु भएको हो ।
उनको मृत्यु भएपछि पीडित परिवारले हत्या भएको भन्दै सई नाथविरूद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी आएपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
‘जाहेरी आएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने । उनका अनुसार सई नाथ जिप्रकामै कार्यरत थिए । उनी पालीविरूद्ध जाहेरीकर्ता समेत हुन् । बैंकिङ कसुर मुद्दामा नाथले नै पालीविरूद्ध जाहेरी दिएका थिए । त्यही कसुरमा असार १ गतेमात्रै उनी कारागार चलान भएका हुन् । तर पालीको मृत्यु र नाथबीचको सम्बन्ध के छ भन्नेबारे खुलिसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । घटना शंकास्पद भन्दै विरोध सुरू हुनुका साथै आफन्तले शव बुझ्न नमानेपछि बुधबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवल्दार नरेश साउद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समयसीमा दिएका छन् । आफन्तले पालीको शरीरमा चोटपटक देखिएको हुँदा उनको कुटपिट गरी हत्या भएको दाबी गर्दै आएका छन् । हत्याको आशंकासहित बुधबार डडेल्धुरामा बजार र राजमार्ग समेत अवरूद्ध गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्