बाँसगढीको नीति तथा कार्यक्रम : प्राथमिकतामा कृषि क्षेत्र



शुभाकर विश्वकर्मा । बाँसगढी (बर्दिया) ।

बर्दियाको बाँसगढी नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगरपालिकाको १७औँ नगर सभामा नगर प्रमुख खड्कबहादुर खड्काले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । १६ पेज ८९ बुँदाको नीति नारैनाराले भरिएको छ । नगरपालिकाले सार्वजनिक गरेका कार्यक्रमपनि महत्वाकांक्षी छन् । नीति तथा कार्यक्रमको प्रारम्भमै ‘सुन्दर हरियाली र सफा सहरः समृद्ध र समुन्नत बाँसगढी’ बनाउन स्थानीय सरकार दृढ रहेको उल्लेख गरिएको छ ।

नगरबासीका भावना तथा आवश्यकतालाई प्राथमिकतामा आधारमा क्रमशः पूरा गर्दै अगाडी बढ्ने संकल्पसहित ‘डिजिटल, समावेशी र समुन्नत बाँसगढी नगर’का रूपमा विकास गर्न तयाररत रहेको प्रतिबद्धता व्यक्त गरिएको छ । नीति तथा कार्यक्रममा दिगो तथा गुणस्तरीय पूर्वाधार विकास, उत्पादन तथा स्वरोजगारमुखी आर्थिक विकास, प्रभावकारी सामाजिक विकास, सुशासन तथा संस्थागत विकास एवम् वन, वातावरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकता दिइएको छ ।

‘आफ्नै बारीको उत्पादन खाऔँ ः आत्मनिर्भर बाँसगढी बनौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै कृषि उपजको उत्पादन तथा उत्पादकत्वमा गरी ‘कृषि उत्पादकत्व वृद्धिः बाँसगढीको समृद्धि’ सोचलाई विस्तार गरी कृषियोग्य भूमिमा सिँचाई सुविधा पु¥याउने, जैविक गुणस्तरमा ध्यान दिने, कृषि प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘प्राङ्गारिक उत्पादनमा बाँसगढी’ अभियानलाई शसक्त बनाउने उल्लेख गरिएको छ ।

‘किसानको सम्मानः हाम्रो अभियान’ अन्तर्गत कृषिलाई सम्मानित पेसाका रूपमा विकास गरी स्मार्ट एग्रिकल्चर कार्ड र किसान डायरीमार्फत अभिलेखीकरण गरिने उल्लेख छ । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने मान्यतामा उत्पादनको आधारमा अनुदान दिइने नीति लिइने उल्लेख गरिएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खड्काले ‘घरदैलोमा प्राविधिक सेवा ः व्यवसायिक कृषिजन्य उत्पादनमा टेवा’, ‘पशु धन जोखिम मुक्त नगरपालिका’ बनाउन पशुपंक्षी बीमा, सुत्केरी गाई-भैँसी पोषण भत्तालाई निरन्तरता दिइएको बताए । नगर प्रमुख खड्काका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नी युवाको सीप, पुँजी र अनुभवलाई उपभोग गरी उत्पादनमुलक रोजगारीको आधार सिर्जना गरिनेछ ।
‘श्रम संसार’ डिजिटल प्लेटमर्फको प्रभावकारी प्रयोग मार्फत रोजगारीको खोजीमा रहेका व्यक्ति, रोजगारदाताको सम्बन्ध विस्तार गर्ने र ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रमलाई निरन्तरता दिइने र श्रमको सम्मानः मेरोपनि योगदान अभियान सञ्चालन गरिने जनाइएको छ । नगर क्षेत्रका सफल उद्यमीलाई प्रोत्साहन र सम्मानको नीति लिइने, १० वर्षे रणनैतिक शिक्षा योजनाको कार्यान्वयन, विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान र विद्यालय मर्जर गर्ने, ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति र विद्यालयको अनुदान’को व्यवस्था गर्ने र पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

यस्तै विद्यालयको जग्गा र सम्पति अभिलेखीकरण गर्ने, शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने, कक्षा १० सम्म निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने, प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता, लुम्बिनी प्राविधिक विश्वविद्यालयको सहकार्यमा बाँसगढीमा केन्द्रिय क्याम्पस सञ्चालनका लागि प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।

यस्तै खेलाडी विकास कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने,परम्परागत बहु सांस्कृतिक तथा बहुधार्मिक सहिष्णुता झल्काउने चाडपर्व, मेला, जात्रालाई संरक्षण गर्ने र नगरभित्र रहेका प्राचीन मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र मर्मत सम्हार गरिनेछ । ‘एक वडा एक पर्यटकीय गन्तव्य’ कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा, सुरक्षित मातृत्व र सुत्केरी महिलाका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालन, थारू समुदायमा देखिने सिकलसेल, एनेमिया र थालमेसिया पहिचान, उपचार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरस्तरीय महामारी, रोग नियन्त्रण तथा विपद् व्यवस्थापन योजना बनाइ कार्यान्वयन गर्ने, ‘स्वच्छ भान्साः स्वस्थ परिवार’ परिकल्पनासहित प्राकृतिक तथा वैकल्पिक चिकित्सा प्रद्धति अबलम्बन गर्ने र ‘एक घर, एक धारा’ कार्यक्रम, खानेपानी बोर्ड गठन, पूर्ण स्वस्थकर पालिका घोषणा गरिनेछ । एक छोरी एक बैंक खाता कार्यक्रमलाई निरन्तरता दिइएको छ । बालमैत्री नगरको अभियान सञ्चालन गर्ने र जेष्ठ नागरिक मिलन केन्द्रहरूलाई क्रियाशील बनाइनेछ ।

पञ्चवर्षीय आवधिक योजना र नगर यातायात गुरुयोजना निर्माण गर्ने, आयोजना बैंकमार्फत सन्तुलित विकास गर्ने, भूकम्प प्रतिरोधी संरचनाः सुरक्षित जीवनको रचनासहित भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिइएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि अनुत्पादक क्षेत्रको लगानी निरुत्साहित गर्ने नीति लिएको छ । मर्मतसम्भार कोष परिचालन, विकास निर्माणका योजना अनुगमनलाई थप प्रभावकारी बनाउन वडा समितिलाई अधिकार प्रत्योजन गर्ने बताइएको छ ।

‘विकासको आधारः पूर्वाधारको लाडि सडक विस्तार’ भन्ने नारासहित पालिका केन्द्र र वडा केन्द्र जोड्ने रणनैतिक सडक निर्माण, ‘एक वडा एक गौरवको आयोजना पूर्वाधार विकास कार्यक्रम’लाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । छाडिएका पशु चौपाया व्यवस्थापन गर्न सञ्चालित गौशालालाई बहु आयमिक आर्थिक तथा सांस्कृतिक पर्यटन केन्द्रको रूपमा विकास गर्ने, वडास्तरीय हरित स्वय्मसेवक गठन गरिनेछ ।

‘सुन्दर हरियाली र सफा सहरः समृद्ध र समुन्नत बाँसगढी नगर’ भन्ने मूल मर्मसहित हरित बाँसगढी निर्माण गर्न बृहत वृक्षारोपण कार्यक्रम सञ्चालन, शून्य फोहोर व्यवस्थापन अवधारणालाई कार्यान्वयन गर्ने, ‘एक सामुदायिक वन, एक पानी पोखरी तथा उद्यान’ अभियान सञ्चालन, समृद्धिका लागि वन परियोजना लागू गर्ने, दिगो वातावरण मैत्री विकासको कल्पनाः बाँसगढीवासीको चाहना भन्ने भावनासहित वातावरणमैत्री स्थानीय शासनको अवधारणा लागू गरिनेछ । नगरपालिको शून्य बेरुजुको नीति लिएको छ । भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिएको छ ।

नगर प्रहरी गठन, सञ्चालन तथा व्यवस्थापन गर्ने, नगरबासीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने, डिजिटल बाँसगढी बनाउने र एकीकृत मोबाइल एप सञ्चालन तथा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिने भएको छ । जनतासँग जनप्रतिनिधि कार्यक्रम, भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण, आपसी सम्बन्ध सुमधुर बनाउन, असल अभ्यास तथा अनुभव आदान प्रदान गर्न स्वदेशी तथा विदेशी सहरहरूसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने, हाम्रै घर हाम्रै लगानी भन्ने अभियान सञ्चालन, कोशेली घर सञ्चालन गर्नेसम्मका योजना रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार