कञ्चनपुर ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको राष्ट्रिय अभियानअन्तर्गत कञ्चनपुरका स्थानीय तहलाई लक्षित उमेर समूहका सबै बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरिसकेको पुष्टि भएपछि मंगलबार बेलौरी नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
बेलौरी नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख एवं जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्पन्न घोषणा गरे ।
जिल्ला समन्वय समितिका सभापति बोहराले पूर्णखोप अभियान सफल बनाउन लाग्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै लागूऔषध नियन्त्रणका लागि पहल गर्न आवश्यक रहेको बताए । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय, वडा र पालिकाको ऐक्यबद्धताले मात्र यो सम्भव भएको बताउँदै बाल बच्चाको मृत्युदर घटाउनमा खोप अभियान सहज हुने बताए ।
पूर्णखोप सुनिश्चितता गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी राना, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझा, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामी, स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकल पर्सन जनकबहादुर कुँवर, स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खोप अभियानमा योगदान पु¥याएवापत उच्च मूल्यांकन गर्दै लक्ष्मीपुर स्वास्थ्य चौकीमा कार्यरत भारुदेवी बोहरा र निर्मला चौधरीलाई नगद रु दुई हजार पाँच सय रूपैयाँँसहित प्रमाणपत्र प्रदान गरिएको छ । नगरस्तरीय महिला स्वास्थ्य स्वयंसेविका समितिले उत्साहजनक भूमिका निर्वाह गरेवापत कदर प्रदान गरिएको बेलौरी नगरपालिका स्वास्थ्य शाखामा प्रमुख जयसिंह बोहराले जानकारी दिए ।
पालिकामा १२ वटा स्वास्थ्य संस्था रहेका छन् । पालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा २ हजार १सय ५७ जनालाई खोप सेवा प्रदान गरेको छ । कार्यक्रमको सहजीकरण रामपुर स्वास्थ्य चौकीका प्रमुख धर्मानन्द भट्टले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्