बाँके ।
सशस्त्र प्रहरीको नम्बर ५ बाहिनीले सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनाललाई स्पष्टीकरण सोधेको छ । नम्बर ३० गण बाँकेबाट खटाइएका एक घुमुवा सशस्त्र प्रहरी जवानको पाँच लाख रूपैयाँ असुली गरेको समाचार मिसन टुडेले सार्वजनिक गरेपछि बाहिनीले गणपति खनालसँग स्पष्टीकरण माग गरेको हो ।
उनलाई बाहिनीले २४ घन्टाभित्र घटनाबारे सत्यतथ्य पेस गर्न भनिएको छ । सशस्त्र प्रहरीको नम्बर ५ बाहिनी चन्द्रौटा स्रोतले समेत गणपति खनालसँग २४ घन्टे स्पष्टीकरण माग गरिएको पुष्टि गरेको छ । पाँच लाख रकम असुलीको आरोप लागेका सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरीलाई गत जेठ २९ गते इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरिसकेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरीका दुई जना सहायक हवलदार, सशस्त्र प्रहरीका एक जना जवान र अन्य दुई जना ‘पब्लिक’ मिलेर एक व्यापारीसँग ५ लाख रूपैयाँ जबरजस्ती असुल गरिएको थियो । पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान र परमानन्द वर्मा, महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका सशस्त्र प्रहरीका जवान चौधरी, कोहलपुर–११ निवासी आफूलाई पत्रकार समेत बताउने मोबाइल तथा इलेकट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र आफूलाई भष्ट्राचारविरुद्धका अभियन्ता बताउने दैलेख घर भई हाल नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।
घटनामा संलग्न प्रहरी सहायक हवलदारहरू खान र वर्मा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट स्वयंले घुमुवाका रूपमा बाँके र बर्दिया जिल्ला हेर्नेगरी खटाएका व्यक्ति हुन् ।
लागूऔषध नियन्त्रण ब्युरोमा दरबन्दी रहेका प्रहरीका यी दुई जना सहायक हवलदारहरूलाई डीआईजी भट्टले मौखिक रूपमा जिम्मेवारी दिएर परिचालन गरेका थिए । सशस्त्र प्रहरी जवान चौधरीलाई भने बाँकेका गणपतिले परिचालन गरेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पुरानो बसपार्कनजिकै थ्रीस्टार मोबाइल पसल सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रूपैयाँ असुली गरिएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उजुरी दर्ता भएपछि प्रहरी सहायक हवलदार खान र कुर्मी, भण्डारी र रिजाललाई २८ जेठमा र सशस्त्र जवान चौधरीलाई २९ जेठमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले बताए ।
उनका अनुसार सादा पोसाकमा आएका ती व्यक्तिले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाइ व्यापारीलाई लागूऔषध मुद्दामा फसाउने धम्की दिँदै रकम असुल गरेका थिए । व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट (यूपी५०एए ९८८५)को कारमा आएका ती व्यक्तिको गतिविधि सीसीटिभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सूर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्