बाँके ।
नेपालगन्जस्थित परोपकारी संस्था गौरव स्मृति तथा बि.योर सेल्फ फाउण्डेशनले बाँकेमा पत्रकारहरूको निःशुल्क आँखा जाँच गरेको छ । फाउण्डेशनले नेपाल पत्रकार महासंघ बाँकेसँगको सहकार्यमा आयोजना गरेका निःशुल्क आँखा जाँच शिविरमा जिल्लाका एक सय ९४ जना पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिएको महासंघ बाँकेका सचिव कृष्ण ओलीले जानकारी दिए ।
उनका अनुसार संस्थाका संस्थापक गौरव शाहको चौथो स्मृति दिवसका अवसरमा आयोजित शिविरमा जाँच गर्दा चश्मा लगाउन आवश्यक देखिएका ९१ जना पत्रकारलाई निःशुल्क चश्मा पनि प्रदान गरिएको छ भने औषधी पनि निःशुल्क वितरण गरिएको थियो । दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरिएको थियो । अधिकांश पत्रकारहरूमा दूर दृष्टिको समस्या देखिएको कनोजियाले जानकारी दिए ।
संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता गरिएको स्मृति सभा एवं शिविरको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखामा समस्या आउने जोखिम रहने बताए । उनले फाण्डेशनले पत्रकारहरूको आँखा जाँच गरेर परोपकारी काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरू गर्दै आएको जानकारी गराउँदै पत्रकारहरूको आँखा जाँच गरी सेवा दिन पाएकोमा खुसी व्यक्त गरे । स्वर्गीय गौरव शाहले सञ्चालन गरेको संस्थालाई आफूहरूले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरू गर्दै आएको उल्लेख गरे ।
यसैबीच, फाउण्डेशनले सोही अवसरमा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५’ मा प्रथम पुरस्कार विजेता नेपालगन्जकी मोनिका कठायतलाई सम्मान पनि गरेको थियो









प्रतिक्रिया दिनुहोस्