नवउद्यमीका लागि तालिम सञ्चालन



बुटवल ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरी तालिम सञ्चालन गरेको छ । युवाहरू विदेशमुखी हुँदै गरेको अवस्थामा उद्योग वाणिज्य संघले युवा लक्षित तालिम दिन थालेको हो । बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक तथा तालिमका फोकल पर्सन मदनकुमार कार्कीका अनुसार तालिम एक महिनासम्म सञ्चालन हुने र तालिममा २० जना नवउद्यमीको सहभागिता रहेको छ ।

संघले उद्यमशिलता विकासका लागि २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले बुटवल उपमहानगरपालिकामार्फत बुटवल उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गरेको छ ।

एक महिनासम्म चल्ने सीपमूलक विजनेश इन्कुवेशन तालिमकोे बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी हुन् । उपप्रमुख सावित्रादेवी अर्यालले यस्ता तालिमहरू सञ्चालन गरिरहनु पर्ने बताउँदै तालिमले उद्यमशिलता विकास सहयोग पुराउने विश्वास व्यक्त गरिन् ।

उनले आर्थिक अवस्थालाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै तालिम उपयोगी र व्यवहारिक रहेको बताइन । बुटवल उपमहानगरपालिकाले पनि उद्यमशिलता तथा स्वरोजगार विकासका लागि धेरै सीपयुक्त तालिम प्रदान गरिएको बताउँदै उनले भनिन्, ‘सीप सिकेकालाई उद्यमी कसरी बनाउन सकिन्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्छ । यस विषयमा बुटवल उपमहानगरपालिका गम्भीर छ । हामी त्यस विषयमा काम गरिरहेका छौँ ।’ तालिममा सकेका सीपलाई वयवहारमा उतार्न सकेमा उत्पादन बढ्ने उल्लेख गर्दै हरेक नागरिक अब उत्पादनमा लाग्नुपर्ने र उत्पादन भएका बस्तुका लागि बजारको खोजी गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीहरूलाई प्रोत्साहन र उनीहरूको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि २ पटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिसकेको बताउँदै तालिमबाट राम्रो प्रतिफल प्राप्त भएपछि तालिमलाई निरन्तरता दिएको बताए । तालिमका लागि सरकारी तहबाट प्राप्त भएको साथ र सहयोगले उद्यमशिलता विकासमा सहयोग पुगेको र नयाँ उद्यमी उत्पादन गर्न सक्ने सम्भावना प्रशस्तै रहेको विश्वास व्यक्त गरे ।

लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा.ताराप्रसाद उपाध्यायले उद्यमशिलता विकासका लागि लुम्बिनी वाणिज्य क्याम्पसमा पनि विजनेश इन्कुवेशन सेन्टर स्थापना गरिएको जानकारी गराउँदै समयको मागअनुसार सीपमूलक तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार