नेपालगन्ज ।
कर्मचारी अख्तियारमा बयान दिन गएको भन्दै बन्द गरिएको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयको सेवा १९ दिनपछि आंशिकरूपमा सञ्चालनमा ल्याइएको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि बायोमेट्रिक, लिखित तथा प्रयोगात्मक परीक्षाबाहेकका सेवाहरू सुचारु गरिएको जानकारी दिएको छ । धेरै सेवाग्राहीले सेवा लिने नयाँ लाइसेन्सको काम भने सुरु हुन अझै केही दिन लाग्ने कार्यालयले जनाएको छ ।
कार्यालयले जेठ ८ गतेबाट नयाँ लाइसेन्सका कामहरू रोकेको थियो भने जेठ १२ गते अर्काे सूचना जारी गर्दै सवारी दर्ता, नामसारी समेतका सेवा स्थगन भएको जानकारी दिएको थियो । यसरी सेवा रोक्नुका पछाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका प्राविधिक कर्मचारीलाई बयान दिन बोलाउनु कारण रहेको कार्यालयको भनाइ थियो ।
अख्तियारले कार्यालयका कम्प्युटर अपरेटर शक्ति ठाकुर, ज्यालादारीका सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज बाँकेका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि अख्तियारले कार्यालयका प्राविधिक कर्मचारीहरूलाई पनि बयानका लागि बोलाएको थियो ।









प्रतिक्रिया दिनुहोस्