खजुरामा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण



खजुरा (बाँके) ।

बाँकेको खजुरा गाउँपालिका सूचना प्रविधि शाखाको आयोजना र लाइकमाइन्डसको सहकार्यमा खजुरामा डिजिटल साक्षरता तथा साइबर सुरक्षासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

सोमबारदेखि सुरु भएको अभिमुखीकरणमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिव, स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको सहभागिता रहेको सूचना प्रविधि शाखा प्रमुख सुरेश साहुले जानकारी दिए । डिजिटल प्रविधिको सही सदुपयोग गर्न यसको ज्ञान लिन अति आवश्यक रहेकोले अभिमुखीकरण कार्यक्रम गरिएको शाखा प्रमुख साहुले बताए ।

अभिमुखीकरणमा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगका बारेमा समेत चर्चा गरिएको थियो । साइबर सुरक्षा नअपनाउँदा विभिन्न आइपर्ने समस्या र यसले निम्ताएको स्थितिलाई नियन्त्रणमा ल्याउन नसक्दा ठूलो नोक्सानी बेहोर्न परिरहेको कार्यक्रममा जोड दिइएको थियो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी, टेक्नोप्वाइन्ट नेपालगन्जका आइटी इन्जिनियर शिरिषराज शर्मा, जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक शिवा थापाले अभिमुखीकणमा सहजीकरण गरिरहेको लाइकमाइन्डसका प्रबन्ध निर्देशक शिशिरनारायण श्रेष्ठले बताए । यसअघि खजुरामा १६ सामुदायिक विद्यालयहरूमा अभिमुखीकण गरिसकेको शाखा प्रमुख साहुले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार