१८औँ गणतन्त्र दिवस: सहिदले देखेका सपनामा कुठाराघात



वीरेन्द्र जैसी । शेरबहादर ऐर । 

जनआन्दोलन २ का क्रममा सहादत प्राप्त गरेका २५ जना सहिदहरुमध्ये एक हुन् बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ गाउँकी सेतु विश्वकर्मा । चार कक्षा पास गरेकी २५ वर्षकी सेतु नेपालगन्जमा भइरहेको जनआन्दोलनमा भाग लिन दिनहुँ अरु मानिसहरुसँगै आउँथिन् । २०६३ वैशाख ५ गते पनि उनी आन्दोलनमा सहभागी भएको बेला नेपालगन्जमा प्रहरीले अश्रुग्याँस प्रहार ग¥यो ।

अश्रुग्याँसको सेलकै चोटले घाइते भएकी उनले उपचारका लागि भारत लैजाँदै गर्दा बाटामै सहादत प्राप्त गरिन् । चिकित्सकहरुले अश्रुग्याँसले श्वास प्रश्वास प्रणाली विच्छेद भएर मृत्यु भएको रिपोर्ट दिए । उनी एक गृहणीका रुपमा दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने दुई जना महिलामध्ये एक हुन् ।
सेतु कुनै राजनीतिक दलमा आबद्ध थिइनन् । अरुले आन्दोलनमा नजाउ भन्दा पनि नमानेकी उनी किन त्यसरी आन्दोलनमा होमिएकी होलिन् ? धेरै कुरा अझै खुलेको छैन । सेतुसँगै आन्दोलनमा होमिएका स्थानीय ज्येष्ठ नागरिक लालबहादुर थापा भन्छन्, ‘आन्दोलनमा गए सुखका दिन आउँछन् । कसैले हेप्न सक्दैन भन्थे । हामी पनि जान्थ्यौँ । उनी पनि जान्थिन् ।’

यता, सेतुको परिवारको अवस्था, उनको गाउँको अवस्थाले भने उनले आन्दोलन रोज्नुको कारणको अनुमान गर्न सकिन्छ । सेतुका श्रीमान् त्यतिबेला रोजगारीका लागि भारतमा थिए । यता उनको गाउँभरीको जग्गा एक जना व्यक्तिले आफ्नो भएको भन्दै उक्त जग्गा छाडेर अन्यत्रै जान दबाब र धम्की दिइरहन्थे ।

आफू बसेको जमिनकै भरोसा नभएको अवस्थाको गाउँकी सेतुको मनमा के थियो होला ? गाउँलेहरु अझै पर्खिरहेका छन्, आफू बसेको जमिनको स्वामित्व प्राप्त हुने दिन । करिब २०३५ सालतिर विभिन्न पहाडी जिल्लाबाट बसाइ सरी सुखद जीवनको खोजीमा मानिसहरु उक्त गाउँमा आएका थिए । २०३६ सालमा दैलेखबाट आएका लालबहादुर थापाका अनुसार पहाडमा खेती गर्न जमिन थिएन । एकजना आफन्तले यहाँ जग्गा छ, जंगल फाँडेर बस्न सकिन्छ भनेपछि करिब ७ परिवार सँगै बसाइ सरी आएका थिए । ७३ वर्षीय थापा सम्झिन्छन्, ‘यहाँ पूरै जंगलै जंगल थियो । आफैँले त्यो झाडी फाँडेर बसेका हौँ । साँप, बिच्छी र औलोको खतरा झेलेर यहाँ बसेका हौँ ।’

तर, उनीहरुले झाडी फाँडेर बस्ती बसाएको केही वर्षपछि एकजना व्यक्ति आएर उक्त क्षेत्रको करिब १६ बिघा जमिन आफ्नो भएको बताउन थालेको थापाले बताए । ती व्यक्तिले उक्त ठाउँबाट हट्न दबाब दिएपनि आफूहरुले नमानेको उनी बताउँछन् । त्यसपछि आफूले उक्त जग्गा खरिद गरेको बताउने एकजना अर्का व्यक्तिले कहिले गुण्डा लगाएर त कहिले डोजर लगाएर स्थानीयहरुलाई त्रसित बनाउने काम गरे ।

स्थानीय तह गठनपछि गाउँपालिकाले उक्त गाउँको जग्गाको वास्तविकता खोजी ग¥यो र उक्त जग्गालाई सरकार मातहत ल्याउने निर्णय ग¥यो । तर, जग्गाको मालिक बताउने व्यक्ति भने त्यसविरुद्ध अदालत गए । खजुरा गाउँपालिका अध्यक्ष डम्मर विक भन्छन्, ‘अदालतले नटुंग्याएसम्म त हामीले पनि केही गर्न नसक्ने भयौँ । अदालतले उक्त जग्गा सरकारी नै हो भन्ने निर्णय गर्नेबित्तिकै हामी स्थानीयहरुलाई लालपुर्जा दिन्छौँ ।’

हुन त गाउँपालिकाले नेपालगन्ज गुलरिया हुलाकी सडकबाट सेतु विकको घरसम्म पुग्ने सडक पिच गरेको छ । सेतुका नाममा सडकको नामाकरण गरेको छ र प्रवेश गेट पनि बनाएको छ । तर, जमिनकै स्वामित्व नहुँदा आर्थिक अवसरहरुबाट बञ्चित हुनुपर्ने अवस्था आएपछि गाउँमा युवाहरु छैनन् । कोही भारत त कोही विदेश छन् । सेतुकै तीनजना छोराहरु अहिले घरमा छैनन् । उनीहरु रोजगारीका लागि परदेशिएका सेतुका श्रीमान् शेरबहादुर विकले बताए । शेरबहादुर नेपालगन्जमा रिक्सा चलाएर गुजारा गरिरहेका छन् । करिब ४० घरधुरी रहेको सहिद सेतु विकका गाउँवासीहरु आफू बसेको जमिनको लालपुर्जा नपाएसम्म सेतुको सम्मान हुन नसक्ने बताउँछन् । सेतुका श्रीमान शेरबहादुर भन्छन्, ‘सरकारले पहिला लालपुर्जा दिनुप¥यो । त्यसपछि युवाहरुलाई यहीँ जीविकोपार्जन हुनेगरी व्यवस्था गर्नुप¥यो ।’

खजुरा गाउँपालिका अध्यक्ष विक भने उक्त गाउँमा कृषि खेती राम्रो भइरहेको र गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको दाबी गर्छन् । सरकारले सहिद परिवारलाई दिने भनेको राहत रकम सबै छोराहरु नाबालिग नहुन्जेल प्रयोग गर्न नपाइने भएकोले बैंकमै जम्मा छ । उक्त राहत रकम लिनका लागि प्रक्रियामै जान नपाएको शेरबहादुर बताउँछन् ।

होरिलालको परिवारमा बिडम्बनाको लहर

प्राथमिक शिक्षा प्राप्त गरेका कैलालीको धनगढी उपमहानगरपालिका १० का २८ वर्षीय होरीलाल राना स्थानीय समुदायमा भद्रभलाद्मीका रुपमा गनिन्थे । उनले निरङ्कुश राजतन्त्रविरुद्ध आम जनताले सङ्घर्षमा भाग लिनुपर्नेमा वकालत गर्थे ।

तत्कालीन शाही सत्ताले २०६२ सालमा नगर निर्वाचन घोषणा गरेको थियो । तर, उक्त निर्वाचन सात दलले बहिष्कार गरेका थिए । त्यसविरुद्ध तत्कालीन शाही नेपाली सेना गस्तीमा खटाइएको थियो । दलहरूको बहिष्कार अभियानबाट अत्तालिएको शाही सत्ताले माघ २६ गते रानाको हत्या ग¥यो । सेनाले रानालाई माओवादी भएको र एम्बुस थाप्दै गरेको अवस्थामा मारिएको आरोप लगायो । तर, मानव अधिकारवादीहरुको अध्ययनले राना नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को समर्थक रहेको पायो भने एम्बुस थाप्ने काममा कुनै संलग्नता नरहेको पायो ।

होरिलालको परिवार भने सेनाले शौच गर्न गएका बेला उनको हत्या गरेको दाबी गर्छ । उनका भाइ वेदवारी रानाले सो घटना स्मरण गर्दै मिसन टुडेसँग भने, ‘बुवा इँटा भट्टामा काम गर्ने मजदुरलाई खाना, पानी लगायत कार्यालय सहयोगीको काम गर्नुहुन्थ्यो । दाई बिहानै घरबाट निस्कनुभयो । रातिसम्म घर आउनुभएन । हामीले दाई बुबासँगै जानुभएको होला भन्ने ठान्यौँ । तर, राति बुबासँग उहाँ आउनुभएन । अनि बुबाले उहाँको खोजी गर्नुभयो ।’ उनका अनुसार टोलमा कुनै स्थानमा नभेटिएपछि छिमेकीसँग सोधखोज गर्दा नेपाली सेनाले एक व्यक्तिलाई गोली हानेको बताए । वेदवारीले भने, ‘बुवा तीन दिनपछि बजार जानुभयो । त्यो शव हेरे, दाईको रहेछ । नेपाली सेनाले उहाँ शौच गर्दै गर्दा गोली हानी हत्या गरेका थिए ।’

होरिलालको हत्या हुँदा उनको विवाह भएको एक वर्षमात्रै भएको थियो । सन्तान पनि हुन पाएका थिएनन् । होरिलालको हत्या भएको १९ वर्षपछि उनकी श्रीमतीको उपचारका लागि आर्थिक अभावका कारण मृत्यु भएको वेदवारी बताउँछन् । उनले भने, ‘पिलिया रोगबाट उनी ग्रसित थिइन् । हामीले पटक पटक उपचार गराइरहेका थियौँ । तर, हामीसँग त्यति धेरै पैसा थिएन । सहिद कोषबाट आएको रकम दश लाख पनि अपुग भयो । भाउजु बितेको एक वर्षमात्र भएको छ ।’
उनले होरिलालका नाममा राज्य र गैरसरकारी संस्थाबाट समय समयमा सहयोग पाइरहेको तर, पछिल्लो समय दाजुको स्मरण राज्यले गर्न भुलेको अनुभुति गरेको बताए । उनले भने, ‘दाजुलाई हरेक सहिद दिवसका दिन स्मरण गरी कार्यक्रम गरिन्थ्यो । तर, पछिल्लो तीन वर्षयता उहाँको स्मरणमा कुनै गतिविधि भएको छैन् ।’

२०७८ सालमा होरिलाल मारिएको स्थान नजिकै रहेको घुइयाँघाटमा रहेको विद्यालय परिसरभित्र होरिलाल सहिद प्रतिष्ठानको भवन निर्माण गरिएको छ । अहिले सो भवन वडावासीको बैठक र विद्यार्थीहरुको पठनपाठन कक्ष बनेको छ । वेदवारीले भने, ‘सहिद होरिलालको स्मरणलाई यथावत राख्न गाउँमा उनको नाममा स्वागत द्धार निर्माण गर्दा उपयुक्त हुने थियो ।’

यामलालको सपना थियो लोकतन्त्र

बर्दियाका यामलाल लामिछाने कृषि पेशा गरेर जीविका चलाइरहेका थिए । त्यससँगै राजनीतिक रुपमा सचेत भएर लागेका उनी नेकपा (एमाले)को सङ्गठित सदस्यसमेत थिए । यामलाल निरंकुश राजतन्त्र अन्त्य भई देशमा लोकतन्त्र बहाली हुनुपर्ने विचार राख्थे ।

पार्टीको काममा र लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउने उनी विसं २०६३ वैशाख ७ गते बर्दियाको गुलरियामा सात राजनीतिक दलले आयोजना गरेको शान्तिपूर्ण जुलुशमा सहभागी थिए । जुलुशमा प्रहरीले हस्तक्षेप गरेर गोली चलायो । यामलालको पेट र अन्य भागमा गरी तीनवटा गोली लाग्यो । उपचारका लागि भारतको लखनउ लगिएका लामिछानेको उपचारकै त्रममा त्यही दिन बेलुका निधन भयो ।

दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने कृषि पेशामा रहेका ५ जना व्यक्तिहरुमध्ये एक हुन् लामिछाने । उनको सहादतपछि उनको परिवारमा आर्थिक संकट आइप¥यो । मिसन टुडेको सम्पर्कमा आएका लामिछानेका भतिजा एवम् सहिद यामलाल स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिराज लामिछानेका अनुसार अहिले यामलालका जेठा र माइला छोरा वैदेशिक रोजगारीमा छन् । एकजना जागिरे र एकजना सहकारी अभियानमा छन् ।

२०७८ मा लामिछानेको नाममा गठन भएको स्मृति प्रतिष्ठानले विशेष दिवसहरुमा विचार गोष्ठी आयोजना गर्ने र सृजनात्मक कामहरु गर्ने गरिरहेको अध्यक्ष लामिछानेले जानकारी दिए । यसैगरी लामिछानेको नाममा बर्दियाको सदरमुकाम गुलरियामा चोकको नामाकरण गरिएको र शालिक राख्ने प्रक्रियामा रहेको उनले बताए । स्मृति प्रतिष्ठानका अध्यक्ष लामिछाने सहिदको सम्मान शालिकहरु बनाएर मात्रै नहुने बताउँछन् ।

अहिले देशमा जनआन्दोलन २ का उपलब्धिहरु उल्टाउने गरी राजनीतिक गतिविधिहरु हुन थालेकोमा आफूहरुलाई दुःखित बनाएको लामिछानेको भनाइ छ । अहिलेको स्थिति आउनुमा गणतन्त्रका पक्षधर नेताहरु नै जिम्मेवार रहेको उनको बुझाइ छ । ‘राजतन्त्र पक्षधरहरुले गणतन्त्रलाई गलत प्रचार गरिरहेका छन् । तर, गणतन्त्रको अगुवाइ गर्छु भन्ने नेताहरुले पनि उनीहरुलाई नै बल पुग्नेगरी गतिविधि गरे । जसले गर्दा आज सहिदहरुको बलिदानीको अपमान भइरहेको छ । यसले हामी दुःखित छौँ,’ लामिछानेले भने । उनले युवाहरुको बाध्यतापूर्ण विदेश पलायन र गणतन्त्रको अगुवाइ गर्छु भन्नेहरु नै भ्रष्टाचारमा लिप्त भएको देख्दा मन कुडिने गरेको बताए ।

‘हरि अधिकारीको सपनामाथि भइरहेको छ कुठाराघात’

४८ वर्षीय हरिराज अधिकारी नेपालगन्जका एक प्राध्यापक थिए । सात दलको संयुक्त आन्दोलनलाई समर्थन गर्दै र तत्कालीन शाही सत्ताको विरुद्ध नारा लगाउँदै पेशागत संस्थाको सञ्जाल पापडले आयोजना गरेको एक जुलुशलाई सम्बोधन गरेपछि उनी बेहोस भएका थिए । त्यसपछि अस्पतालमा पु¥याइएका उनलाई करिब डेढ घण्टापछि मृत घोषणा गरिएको थियो ।

यसरी आन्दोलनकै मैदानमा रहँदा ज्यान गुमाएका अधिकारीलाई सात राजनीतिक दलले जनआन्दोलनमा बाँकेको पहिलो सहिद घोषणा गरे । सरकारले भने औपचारिकरुपमा ०६३ भदौ १३ गते सहिद घोषणा गरेको थियो ।

अहिले अधिकारीको परिवार काठमाडौँमा बसोबास गरिरहेको छ । अधिकारीकी धर्मपत्नी अन्जु शर्मा सरकारले सहिद घोषणा गरेपनि सहिदको सपनालाई भने अपमान गरिरहेको बताउँछिन् । उनले भनिन्, ‘सहिद घोषणा गरेर मात्रै दायित्व पूरा नहुने रहेछ । त्यतिबेला जुन व्यवस्थाका विरुद्ध उहाँ लड्नुभयो आज उहाँकै सहादतको बलमा प्राप्त व्यवस्थाविरुद्ध सडकमा आवाज उठिरहेको छ । यो अवस्था आउनुमा उक्त आन्दोलनको नेतृत्व गर्नेहरु नै बढी जिम्मेवार छन् ।’

शर्माले सरकारसँग व्यक्तिगत केही अपेक्षा नभएपनि देश र जनताको भलाइको लागि सहिदले देखेको सपनाको धज्जी उडाएको देख्दा पीडा महसुस हुने गरेको बताइन् । ‘युवाहरुले देशमै रोजगारी पाउन्, भ्रटाचार र अत्याचार अन्त्य होस् भन्ने नै हाम्रो चाहना हो । तर, अहिले एकपछि अर्काे गरी सहिदका सपनामाथि कुठाराघात भइरहेको छ । यस्तो हेरेर कसरी चित्त बुझाउनु । के भन्नु ?’ शर्माले भनिन् ।

००००

धनगढीको अनामनगरका ३६ वर्षीय चक्रराज जोशी २०६१ साल मंसिर २७ गते भाइलाई भेटेर सडकमार्ग हुँदै क्याम्पसरोड आफ्नो घरतर्फ जाँदै थिए । सोही क्रममा नेपाली सेनाले उनलाई सडकबाटै उठाएर लग्यो र गोली हानी हत्या ग¥यो । परिवारले उनको शव तीन दिनपछि फेला पा¥यो ।

जोशीका दुई छोरा र एक छोरी छन । राज्यले उनको छोराछोरीलाई १८ वर्षसम्म हुँदा निःशुल्क पठनपाठन गरायो । तर, उच्च शिक्षाका लागि कुनै सहयोग नगरेको उनका छोरा दिनेश जोशी बताउँछन् । ‘न त सरकारले रोजगारीको व्यवस्था गर्न सक्यो, न त स्वास्थ्य उपचार खर्च दियो,’ उनले भने, ‘अहिलेसम्म सरकारले दिएको सहिद कोषको खर्चले जीवनयापन भइरहेको छ ।’

००००

देशमा प्रतिगमनविरुद्ध पाँच दलको आन्दोलन चलिरहेको थियो । तत्कालीन लोकेन्द्रबहादुर चन्दको सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध २०५९ चैत २५ गते बुटवलमा विद्यार्थीहरु सडकमा उत्रिएका थिए । नेपाल प्रगतिशिल विद्यार्थी युनियन रुपन्देहीका जिल्ला अध्यक्ष रहेका २५ वर्षीय देवीलाल पौडेल सडकमा विरोधको कार्यक्रमको नेतृत्व गरिरहेका थिए । विरोधपछि आयोजित सभाका लागि बुटबल बहुमुखी क्याम्पसभित्र प्रवेश गर्दैगर्दा प्रहरीले गोली चलाएर उनकै क्याम्पसमा देवीलालको हत्या ग¥यो । देवीलालको सहादतपछि देशभरी आन्दोलन चर्कियो र सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउन बाध्य भयो ।

तत्कालीन निरंकुश राजशाहीविरुद्धको आन्दोलनमा ज्यान गुमाएका पौडेललाई तीन वर्षभन्दा बढी समयपछि २०६३ जेठ २१ गते सहिद घोषणा गरियो । उनी दोस्रो जनआन्दोलनको क्रममा सहादत दिने पहिलो सहिदका रुपमा रहेका छन् ।

०००००००

धनगढीका सहिद होरिलालको हत्याविरुद्ध आवाज उठाउँदा सेनाले आफूलाईसमेत हत्या गर्न खोजेको हाल नेपाली काँग्रेस कैलालीका सभापति तथा राष्ट्रिय सभा सदस्य रहेका नारायणदत्त भट्ट बताउँछन् । धनगढीमा भएको राजतन्त्रविरोधी आन्दोलनमा दमन गर्दै सुरक्षा फौजले गोली चलाउनुका साथै लाठी, बुट, अश्रुग्याँस प्रहार गरेको थियो । भट्टका अनुसार उनी सो आन्दोलनको अग्रपंक्तिमा थिए । सुरक्षाफौजको दमन सुरु भएपछि उनीमाथि लाठी र बुट प्रहार हुन थाल्यो । उनी जिल्ला वन कार्यालयको गेटभित्र छिरे तर सुरक्षाकर्मीले प्रहार गर्न छोडेनन् ।

कुटाइबाट अशक्त भएपछि उनी त्यहीँ ढले तर पनि प्रहार रोकिएन । सञ्चारकर्मी र मानव अधिकारकर्मीको टोलीले प्रहरीको लाठी छेकेर उनलाई जोगाए । तर, सो दिन आफूलाई मार्ने योजना रहेको घटनाको धेरै वर्षपछि जानकारी पाएको उनी बताउँछन । ‘त्यो रिसइबी साँधेर सुरक्षाकर्मीले मलाई मार्ने नै योजना बनाएको रहेछ’, भट्टले भने । कुटाइबाट उनको दायाँ खुट्टाको घुँडामाथिको हड्डी टुक्राटुक्रा भयो भने टाउको र छातीमा पनि गम्भीर चोट लाग्यो । उपचारका क्रममा भट्ट करिब साढे दुई वर्षसम्म नेपाल र भारतका अस्पतालमा बसे । हड्डीमा रड र किला हालिएका छन् । अहिले पनि उनी उपचारकै क्रममा छन् । भट्टसहित एक सय ८२ आन्दोलनकारी सो आन्दोलनमा घाइते भएका थिए ।

०००००

गणतन्त्र ल्याउनका लागि दोस्रो जन आन्दोलनका क्रममा ज्यान गुमाएका २५ जना सहिदहरुले आफ्नो ज्यानको आहुति त दिए नै, उनीहरुको परिवारलेसमेत ठूलो कष्ट झेल्नुप¥यो । दोस्रो जनआन्दोलनको विषयमा आन्दोलन भएको ७ वर्षपछि वैकल्पिक समूहले गरेको एक अध्ययनबाट ११ जनाको परिवारलाई जीविकोपार्जनका हिसाबले जिउन मुस्किल भएको, ८ जना कमाउने मुख्य व्यक्ति नै गुमेको र ५ जनाको गुजारा चलाउने अवस्था भएपनि मुस्किलमा रहेको पाइएको थियो ।

उक्त आन्दोलनमा ज्यान गुमाउनेहरुमध्ये १९ जना ४० वर्षमुनिका युवाहरु थिए । सहिदहरुमध्ये ९ जना कुनै पेशा व्यवसाय गरिरहेका, ६ जना श्रमिक, ५ जना कृषक, ३ जना विद्यार्थी र २ जनामात्रै पूर्णकालीन राजनीतिक क्षेत्रका व्यक्ति थिए । यसैगरी उक्त आन्दोलनमा घाइते भएकाहरुमध्ये ६० प्रतिशत ४० वर्षमुनिका युवाहरु थिए ।

यसरी शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका नागरिकहरुको बलिदानको जगमा राजतन्त्रको अन्त्य भएर गणतान्त्रिक व्यवस्थाको बिजारोपण भएको थियो । तर, उक्त आन्दोलनमा सहादत दिने र घाइते हुनेहरुको सपनालाई राज्य संयन्त्रमा पुगेकाहरुले बिर्सनु निकै दुःखद भएको मानवअधिकारकर्मी भोला महत बताउँछन् । महतले भने, ‘उक्त आन्दोलनको अग्रमोर्चामा सर्वसाधारण नागरिक, जो लोकतन्त्रप्रति आस्था राख्थे, देशको उन्नतिको अपेक्षा राख्थे उनीहरु थिए । त्यही भएर ज्यान गुमाउनेहरु र घाइतेहरुमा सर्वसाधारण नागरिकहरुकै संख्या बढी देखिन्छ । तर, उनीहरुकै सपनालाई लत्याउनतिर राजनीतिकर्मीहरु उद्धत भए । यो निकै दुःखद कुरा हो ।’

अहिले सडकमा जनताको बलिदानबाट प्राप्त व्यवस्था पल्टाउन भनेर एक पक्ष उत्रने र अर्काे पक्ष त्यसको प्रतिकारमा उत्रने स्थिति देखिनु मानवअधिकारका दृष्टिले थप चिन्ताजनक भएको पनि उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार