शुभाकर विश्वकर्मा
नेपाली समाजमा बेलाबेलामा एउटा साझा चाहना जन्मिन्छ । जब–जब नेपाली समाजमा संकट आउँछ । एउटा नायक आओस् । सबै समस्या समाधान गरिदेओस् । विकृत राजनीतिमा सुधार होस् । कर्मचारीतन्त्र सुध्रियोस् । शिक्षा र स्वास्थ्य र पूर्वाधार विकास होस् । स्वदेशमै रोजगारीको वातावरण सिर्जना होस् । समग्रमा सामाजिक जीवनमा नै सकारात्मक परिवर्तनको महशुस होस् । एउटा असल नायकबाट समाजले गरिरहेको अपेक्षा हो यो । नेपाली समाजले रिलको नायक देख्यो । अझै पनि रियलमा नायक पाएको छैन । अहिलेसम्म हामीले व्यक्तिमा नायकत्व देख्यौँ । प्रणालीमा होइन । नायकत्वको मृततृष्णा एउटा मानसिकता हो । सपनाजस्तै हो, मानसिकता । यो क्षणिक हो । दीर्घकालीन होइन । सपना देखिन्छ । यर्थाथमा भेटिँदैन । अहिलेसम्म कहिल्यै नभेटेको नायक अहिले नेपाली समाजले खोजिरहेको छ । तर कसलाई ? यसको सजिलो उत्तर छ, त्यो भनिरहनै पर्दैन । धेरै अघि नजाउँ । तीन दशकबीचको मात्रै कुरा गर्दा एक समय नेपाली समाजले प्रचण्डमा नायकत्व देख्यो । अलि अस्तिसम्म केपी शर्मा ओलीमा । अहिले रवि लामिछाने र बालेन्द्र साहमा देखिरहेको छ । हामीकहाँ हिजो पनि नायकत्वको मृगतृष्णा थियो, छ र रहिरहनेछ । कुनैबेला देश प्रचण्डमय थियो । तत्कालीन व्यवस्थाका लागि एक समय उनले बन्दुक उठाए । त्यसको नेतृत्वकर्ताका रूपमा उनमा नेपाली जनताले नायकत्वको सपना देखेका थिए । सशस्त्र संघर्षको बलमा जन्मिएको प्रचण्डपथको अवसान भइसकेको छ । नेपाली समाजले प्रचण्डमा देखेको नायकत्वको सपना उनले पूरा गर्न सकेनन् । त्यही नायकत्वको मृगतृष्णा स्वरुप २०६४ मा नेपाली जनताले प्रचण्डलाई अवसर दिएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भर्खरै हतियार बिसाएर सक्रिय राजनीतिमा आएको नेकपा माओवादीले प्रत्यक्षतर्फको २४० मध्ये १२० सिट जितेको थियो । कुना कन्दरासहित गाउँमात्रै होइन सहरी क्षेत्रमा जरा गाडेको थियो । त्यसपछि प्रचण्ड पटकपटक सत्तामा पुगे । प्रचण्डले जनताले जनमतको भार सम्हाल्ने सकेनन् । पछिल्ला तीन दशकमा मूल नेताका रूपमा प्रचण्ड वर्तमान अवस्थाको प्रमुख भागीदार छन् ।
उनी अहिले राजनीतिक केन्द्रको किनारामा आसिन छन् । प्रचण्डको राजनीतिक बस विसौनी कहाँ हो ? स्वयम् उनी नै अन्यौलमा देखिन्छन् । माओवादी नामको सवारीको नाम परिवर्तन गरिरहेकै छन् । अहिले उनले नेकपा नामको सवारीको चालकका रूपमा बहुरंगी यात्रुहरूको जमघट मात्रै गराएका छन् । प्रचण्ड नेतृत्वको हाइकमाण्ड वृद्ध पुरुषआश्रम जस्तो बनेको छ । त्यतिबेला माओवादीले गाउँमै रगताम्य हुनेगरी ‘रातो लहर’ ल्याएको थियो । प्रचण्डमा इतिहासमा नालायक दर्ज हुन नपरोस् भन्ने याचता गर्ने अवस्थामा आइपुगेका छन् । मदन भण्डारीको अकस्मात् मृत्युपछि नेकपा एमालेको मूल राजनीतिमा उदाएका केपी शर्मा ओली अहिले इतिहासकै रक्षात्मक अवस्थामा छन् । २०७२ को संविधान जारी भएपछि ओली प्रधानमन्त्री बने । भारतको आर्थिक नाकाबन्दीको डटेर सामना गरेका ओलीप्रति भक्तिभाव असाधारण थियो । चुच्चे नक्सासम्म आइपुग्दा त उनलाई राष्ट्रकै अभिभावकको रूपमा हेरियो । ओलीप्रति जनताले देखेको नायकत्वको बलमा ओली पटकपटक सत्तामा नपुगेका होइनन् । २०७४ सालमा एमाले र माओवादीलाई जनताले बहुमत दिए । जुन बहुमत ओलीले सम्हाल्नै सकेनन् । सत्ता र पार्टी राजनीतिमा देखिएको प्रतिकूलताको सामना गर्न नसकेर पटकपटक संसद् विघटन गर्ने प्रयास गरे । त्यसयता निरन्तर रक्षात्मक बन्दै गएका थिए ओली । २०७९ को निर्वाचनमा कुनै पनि दलले बहुमत पाएनन् । गठबन्धन सरकारमा ओली प्रधानमन्त्री बने । अलि अलि बचेको ओलीप्रतिको भरोसा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि धुलोपीठो भयो । ज्यान जोगाउन हेलिकप्टरको साहारा लिनुपर्ने अवस्थामा ओली पुगे । उनी अहिले इतिहासकै राजनीतिक संक्रमणकालसँग जुधिरहेका छन् । यो संक्रमणकालको निमित्त नायक ओली स्वयम् हुन् । समाज र समयको माग तथा बेग नबुझ्दा कस्तो परिणिति भोग्नुपर्छ, त्यो ओलीलाई राम्रोसँग ज्ञान छ । ओली बालकोटबाट गुण्डु मात्रै पुगेका छैनन् । ओलीको अबको बाटोमा अनिश्चय देखिन्छ । अब फागुन २१ गते तय गर्नेछ । ओलीको राजनीतिक पोजिसन के हुन्छ । फागुन २१ पछिको नतिजाले निश्चित गर्ने नै छ ।
२०७९ सालको प्रतिनिधिसभाको मुखैमा एकाएक सञ्चारकर्म गरिरहेका रवि लामिछाने नेपाली राजनीतिमा उदाए, राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा । ‘घण्टी’ चुनाव चिन्ह लिएर जनतामाझ गएको उनको पार्टी अप्रत्याशित नतिजासहित संसद्को चौथो पार्टी बन्न पुग्यो । उनको पार्टी दुईपटक त सत्तामै गयो । जनताको अप्रत्याशित साथ भएको रास्वपा सरकारमा गएपछि आलोचित मात्रै बनेन रवि स्वयम् नागरिकता, सम्पति शुद्धीकरणदेखि सहकारी ठगी प्रकरणमा जेलसम्म पुगे । व्यक्तिगत रूपमा उनी विवादित भए पनि प्रचण्ड र ओलीहरूको तुलनामा समाजले एउटा तप्काले उनीमाथि पनि नायकको रूपमा हेरेको देखिन्छ । छोटो समयमा रास्वपा राजनीतिक उतारचढावको भुक्तभोगी भइसकेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले त सत्तापलट गरिदियो । नेपालको राजनीतिक कोर्ष नै परिवर्तन गरिदियो । नयाँ सरकार गठन गर्दा सबैभन्दा बढी खोजिएका पात्र थिए, काठमाडौँका तत्कालीन प्रमुख बालेन्द्र साह (बालेन) । तर, उनी विषम् परिस्थितिमा देशको नेतृत्वको लागि तयार भएनन् । पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नागरिक सरकारको प्रधानमन्त्री बनिन् । यसबीचमा बालेन रास्वपा प्रवेश गर्दै प्रधानमन्त्रीको उम्मेदवारसमेत बने । अहिले बालेनमा नेपाली समाजले नायकत्व खोजिरहेको देखिन्छ । नेपाली राजनीतिमा बालेन नवप्रवेशी अनुहार हो । त्यसअघि बालेन कसरी अहिलेको अवस्थासम्म पुगे । त्यो कुरा जान्नुपर्ने हुन्छ । आजभन्दा तीन वर्षअघि बालेन्द्र साह नेपाली राजनीतिको कुनै पनि दृश्यमा थिएनन् ।
जब २०७९ को स्थानीय तह निर्वाचनमा देशको राजधानी सहर काठमाडौँको मेयरमा उम्मेदवारी दिए । उनले उम्मेदवारी मात्रै दिएनन् काठमाडौँका परम्परागत राजनीतिक शक्ति नेकपा एमाले र नेपाली काँग्रेसजस्ता शक्तिलाई ठूलो झट्का दिए । स्वतन्त्र मेयरका रूपमा बालेन्द्रले काठमाडौँमा औसत कार्यकाल बिताए । काठमाडौँको मेयरको रूपमा उनले जुन काम गरे । त्यसले प्रशंसा र विरोध दुवै कुराको सामना बालेनले गरे । उनले प्रमुख राजनीतिक दल र तत्कालीन सत्ता प्रमुखसँगको तिक्ततापूर्ण सम्बन्ध रहयो । खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण सम्बन्ध हुन सकेन । सार्वजनिक रूपमा खासै प्रकट नहुने र सामाजिक सञ्जालमा प्रमुख राजनीतिक शक्तिलाई प्रश्न गरिरहने परिचय बनाएका बालेन्द्र जेनजी आन्दोलनसम्म आइपुग्दा एकाएक पार्टी राजनीतिसम्म आइपुगेका छन् । जेनजी आन्दोलनपछि युवा पुस्ताले उनलाई प्रधानमन्त्री बनाउन खोजेको थियो । तर, उनी तयार भएनन् । अन्तरिम सरकार गठनमा बालेन नै निर्णायक देखिए । काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेर वरिष्ठ नेता मात्रै बनेनन् । फागुन २१ को चुनावमा रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा झापा ५ मा केपी शर्मा ओलीसँग चुनाव लड्दैछन् । उनी अहिले देश दौडाहामा छन् । उनी दलीय राजनीतिमा प्रवेश गरेपछि उनीप्रति जनतामा अभूतपूर्व आकर्षण देखिएको छ । यो आर्कषणको आयु कहिलेसम्म हुन्छ । त्यो अहिले नै यसै भन्न सकिन्न । चुनावी मैदानमा देखिएकामध्ये बालेन्द्रलाई नयाँ अनुहार र युवा प्रतिनिधिका रूपमा हेर्न सकिन्छ । खासगरी काठमाडाँैको मेयरमा रूपमा उनले गरेको कामबाट प्रभावितले उनलाई प्रधानमन्त्री होस् भन्ने आकांक्षा राखेको देखिन्छ । त्यो कुराको पटापक्ष फागुन २१ पछिको प्रतिनिधिसभामा उनको दलको अंक गणितले निर्धारण गर्नेछ । बालेन्द्र साह र रास्वपाप्रति देखिएको माहोलले परिवर्तनको संकेत गरेको भान हुन्छ । इतिहासमा पानीढलो बन्न लागेको परिवर्तनले अभूतपूर्व संकेत गरिसकेको छ ।
निर्वाचन र नेपाली समाज
फागुन २१ गते हुने निर्वाचन नेपालको नवौँ संसदीय निर्वाचन हो । नेपालमा पहिलोपटक २०१५ मा पहिलो आम निर्वाचन भएको थियो । त्यसयता आठ आम निर्वाचन भएका छन् । ती निर्वाचनमा विभिन्न पार्टीले बहुमत ल्याएको देखिन्छ । २०४८ सालमा नेपाली काँग्रेसले बहमुत प्राप्त गरेको थियो । तर, २०५१ मा मध्यवर्ती निर्वाचन भयो । नेकपा एमाले पहिलो दल बन्यो । नेकपा एमालेले अल्पमतको सरकार चलायो । उक्त सरकार नेपालमा पहिलोपटक कम्युनिस्ट सरकारको बनेको थियो । २०५६ को निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पहिलोपटक संसदीय राजनीतिमा आएको नेकपा माओवादीले बहुमत ल्याएको थियो । दश वर्ष सशस्त्र संघर्ष गरेको माओवादी पटकपटक सत्तामा पुग्यो । २०७० मा नेपाली काँग्रेस ठूलो पार्टी बन्यो । २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी र एमालेको गठबन्धन सरकारले बहुमतको सरकार चलाएको थियो । २०७९ मा नेपाली काँग्रेस पहिलो पार्टी बनेको थियो । नेपालमा जतिपटक निर्वाचन भएका छन् । हरेक निर्वाचनमा नेपाली मतदाताले फरक दललाई अभिमत प्रकट गरेको देखिन्छ । हरेक निर्वाचनमा फरक दल पहिलो पार्टी बन्नु त्यसको उदाहरण हो । अहिले परम्परागत राजनीतिक शक्तिका रूपमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र पालैपालो सरकारमा गएका छन् ।
नेतृत्वको रूपमा २०५२ देखि हालसम्म शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डहरू नै आलोपालो सरकारमा गएका छन् । २०७९ को निर्वाचनमा नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । त्यतिबेला रास्वपा चौथो शक्ति बनेको थियो । निर्वाचनका रूपमा रास्वपाले दोस्रोपटक निर्वाचनमा भाग लिँदैछ । अहिले रवि लामिछाने र बालेन्द्र साहरूमा आशा देखेका छन् । जुन नेपाली समाजमा विद्यमान आशावादको पछिल्लो संस्करण हो । खासगरी नेपालको मध्यम वर्ग चुनावी परिणामा निर्णायक देखिन्छ । आसन्न निर्वाचनमा जनताले कसलाई चुन्छन् । यसले अबको नेपालको नेतृत्वको निर्धारण गर्नेछ । फेरिनै पुरानै अनुहार आउँछन् की नयाँ अनुहारलाई देशको नेतृत्वमा जनताले पु¥याउँछन् ।
आम प्रश्न
चुनाव सन्निकट आइसकेको छ । अब के होला ? कसले जित्ला ? कसले बहुमत ल्याउला ? कुन पार्टीले कति सिट ल्याउला भन्ने चुनावी चासोको रूपमा रहेको छ । चुनावी पाटो तातिरहेको बेला यसपटक केही फरक परिदृश्य छन् । एक त यो अकस्मात हुन लागेको निर्वाचन हो । अर्को पक्ष भनेको प्रमुख पार्टीहरूले प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर चुनावमा होमिएका छन् । २०५६ सालको निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीका उम्मेदवार चुनावी मैदानमा छन् । नेपालमा विसं १८६३ देखि प्रधामन्त्रीय पद्धति सुरु भएको हो । त्यसयता नेपालमा ४१ जना प्रधानमन्त्री भइसकेका छन् । जहानियाँ राणा शासन, दलीय व्यवस्था, पञ्चायती व्यवस्था, बहुदल हुँदै पुनः दलीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै भदौ २३ र २४ को जेनजी आन्दोलनसम्म देश आइपुगेको छ । त्यसैको परिणामस्वरुप हुन लागेको निर्वाचनले धेरै प्रश्नको जवाफ देला कि न देला ? भन्ने आम प्रश्न छ ।









प्रतिक्रिया दिनुहोस्