
कैलाली ।
धनगढी–३ भन्सार रोडमा रहेको दून एकेडेमीको आयोजनामा दोस्रो कविता महोत्सव हुने भएको छ । पहिलो कविता महोत्सव सम्पन्न गरेको एकेडेमीले यस वर्ष विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र शिक्षाविद्को उपस्थितिमा पठन संस्कृतिको विकास र साहित्यप्रति नव प्रतिभाहरूलाई जागृत गर्नको लागि दोस्रो विद्यालयस्तरीय कविता महोत्सव गरिन लागेको पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिए ।
पत्रकार सम्मेलनमा आयोजकले कविता महोत्सवमार्फत विद्यार्थीहरूमा सिर्जनात्मकता अभिवृद्धि, भाषिक सीपको विकास र साहित्यप्रतिको रुचि बढाउने लक्ष्य रहेको बताए । साथै पछिल्लो समयमा साहित्यप्रतिको उत्साह कम हुँदैगर्दा विद्यार्थीहरूलाई साहित्य क्षेत्रमा प्रोत्साहित गर्नको लागि महोत्सवको आयोजना गरिएको आयोजक दून एकेडेमीका प्रिन्सिपल आर.पी उपाध्यायले बताए ।
कविता महोत्सवमा कविता लेखन कार्यशाला, विद्यार्थीहरूद्वारा कविता वाचन, साहित्यिक सत्रहरू र सांस्कृतिक प्रस्तुतिहरू रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिए । कविता महोत्सवको पहिलो दिन दून एकेडेमीमै सुरुवातसँगै प्रशिक्षण गरिने छ भने महोत्सवको दोस्रो दिन ओम पार्टी प्यालेसमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सहभागीहरूले कविता लेखेर सुनाउने गरी तय गरिएको दून एकेडेमीका प्रिन्सिपल उपाध्यायले जानकारी दिए ।
प्रिन्सिपल उपाध्यायले साहित्य क्षेत्रमा लागेको विद्यार्थी कुनै पनि कुलतमा नलाग्ने र मानसिक रूपमा पनि तन्दुरुस्त हुने भएकाले आफूहरूले कविता प्रतियोगिता नभइकन कविता महोत्सवको आयोजना गर्दै आएको बताए । प्रतियोगिताबाट सीमित विद्यार्थी लाभान्वित हुने तर महोत्सवमा सबै विद्यार्थीले समान रूपले सिक्ने र आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने भएकाले समेत महोत्सवलाई प्राथमिकता दिएको उनको भनाइ रहेको थियो ।
साथै प्रिन्सिपल उपाध्यायले दून एकेडेमीले गर्न लागेको कविता महोत्सवलाई सफलपूर्वक सम्पन्न गर्नको लागि विद्यार्थी, शिक्षक, शिक्षाविद्, साहित्य प्रेमी, पत्रकार ,नागरिक समाज सबैको साथ सहयोगको अपेक्षा रहेको समेत बताए ।









प्रतिक्रिया दिनुहोस्