हुम्ला ।
हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई फोन गर्न सकस परेको छ । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा १ महिनादेखि सेवा अवरुद्ध भएको हो । स्थानीयवासीका अनुसार १ महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण फोन सेवाबाट मर्कामा परेका छन् ।
त्यहाँका स्वास्थ्यकर्मी, विभिन्न पेशा, व्यवसायमा संलग्नहरूलाई सञ्चार सेवा लिन सास्ती भएको गाउँपालिकाका कर्मचारी किरण बुढाथोकीले बताए । मोबाइलमा नेटवर्क देखाएपनि फोन नलाग्ने र सन्देश (म्यासेज) नजानेलगायत समस्या रहेको उनको भनाइ छ । सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको स्वास्थ्य शाखा प्रमुखसमेत रहेका उनको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो हुने उनले जानकारी दिए ।
उनका अनुसार इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिन समस्या भएको हो । टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे ।
पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको स्थानीय गेटबहादुर थापाले बताए । महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उनको भनाइ छ । टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालय लगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको उनको गुनासो छ ।
सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मंगलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताए । सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउनेजाने गरेको जानकारी प्राप्त भएको उनको भनाइ छ । उनका अनुसार तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्ने जनाइएको छ । सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताए । केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए कर्मचारी पठाइने उनले जानकारी दिए ।
सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखाहरू छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समेत समस्या भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्