कोहलपुर : कोहलपुर नगरपालिका–२ प्रेमनगरस्थित शिवशक्ति नमूना आधारभूत विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ । सोमबार कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले भवनको शिलान्यास गरेकी हुन् । उनले कोहलपुर नगरपालिकाको नीति अन्तर्गत नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरु टिनको छानो मुक्त बनाउने अभियानमा रहेको बताइन् । नगरपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयका अधिकांश विद्यालय अहिले टिनको छानो मुक्त भइसकेको उनले जानकारी दिइन् ।
नगरपालिकाको नमूना विद्यालयको रुपमा शिवशक्ति नमूना आधारभूत विद्यालय पनि करिब टिनको छानो मुक्त भइसकेको उनले बताइन् । अब बन्ने चार कोठे भवनले विद्यालय भौतिक पूर्वाधारमा पनि सम्पन्न हुने उनको भनाइ छ । २ नम्बर वडामा तीन सामुदायिक विद्यालय रहेको बताउँदै उनले करिब तीन वटै विद्यालय टिनको छानोमुक्त भइसकेको बताइन् । आफ्नो कार्यकालभित्र टिनको छानोमुक्त विद्यालय बनाउने उदको दाबी छ । अंग्रेजी माध्यमबाट पठपाठन सुरु गरेको शिवशक्ति विद्यालयमा विद्यार्थीहरुको आकर्षण पनि बढ्दो रहेको छ । विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम, अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले उत्तिकै जोड दिएको उनले बताइन् । निमार्ण कम्पनीलाई उनले तोकिएकै समय अवधिमा भवन निमार्ण गर्न समेत सुझाव दिइन् ।
भवन निमार्णको जिम्मा गोर्खाली निमार्ण सेवा नेपालगन्जले पाएको वडाध्यक्ष हरि कठायले बताए । भ्याटसहित ३३ लाख लागतमा भवन निमार्ण हुने उनको भनाइ छ । असार मसान्तभित्र भवन निमार्ण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको अध्यक्ष कठायतले बताए । नमूना विद्यालय रहेकाले आगामी दिनहरुमा प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना हुनआउने गरेर अघि बढ्न सुझाव दिए । २ नम्बर वडाको मात्र नभई नगरपालिकाकै चिनारी र उदाहरणको रुपमा विद्यालय रहेको उनले बताए ।निजी विद्यायहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरेर अघि बढ्न सामाजिक विकास समितिका संयोजकइश्वरी प्रसाल विश्वकर्माले आग्रह गरे ।
सम्भावना बोकेको र त्यसैमाथि नमूना विद्यालय रहेकाले अन्य विद्यालयभन्दा केही फरक गर्न जरुरी रहेको बताए । अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अघि रहेको उनले बताए । कोहलपुरलाई शैक्षिक हब बनाउने लक्ष्य रहेको उनको भनाइ थियो । त्यसमा एक इँटा थप्ने काम शिवशक्तिले गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्रकुमार बस्नेतले कक्षा ९ र १० को पढाइका लागि अनुमति दिनुपर्ने बताए । अभिभावकहरुले कक्षा–८ उत्तिर्ण गरेपछि कता पढ्न पठाउने भनेर अलमल हुने भएकाले विद्यालयमा आउने वर्षबाट कक्षा –१० सम्म सञ्चालनको लागि अनुमति दिन आग्रह गरे ।
२०८१÷२०८२ को बजेट मार्फत चार कोठे भवन निमार्णको लागि सहयोग गरेको भन्दै प्रधानाध्यापक बद्री सापकोटाले खुसी व्यक्त गरे । स्थानीय सरकार, अभिभावक र सबैको साथ सहयोगले नमूना विद्यालय बन्न सफल भएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्