कैलाली ।
कैलालीको गोदावरी वडा नम्बर ९ शेहरी बजार छ । अत्तरिया बजारभन्दा पनि धनगढीको मुख्य बजार उनीहरूको आकर्षक केन्द्र हो । उत्पादित तरकारी, धानबाली लगायत बिक्री गर्न धनगढी पुग्छन । तर, सो शेहरीसंग जोडने सडक भने नबन्दा स्थानीयहरूले सास्ती खेप्नुपरिरहेको बताउँछन् ।
स्थानीय होलुवा डङ्गोरा थारूले सडक बनाउन बजेट विनियोजन भएको आश्वासनमात्र दिने गरेको बताए । उनले सुन्ने गरेको तर, सडक बनाउने काम नभएको बताए । उनले आफू वडा सदस्य हुँदा पनि सो सडक बनाउन पटक–पटक आवाज उठाएको तर, काम नभएको बताए ।
उनले भने, ‘बजेट परेको छ भन्छन् । कहाँ जान्छन बजेट ? बजेटलाई सुन्नमात्र सुन्छु । देख्न पाएको छैन् । काम भएको छैन् । वडा सदस्य भएको थिए । एक अवधि पुरै कट्यो । अहिले पनि दुई करोड बजेट विनियोजन भएको भन्छन् । तर, काम भएको छैन् ।’ उनले सुत्केरी महिला, कृषकहरूले सो सडकमा संकट भोगिरहेको बताए ।
वडाका निवर्तमान अध्यक्ष लहानु चौधरीले धनगढी–शेहरी बजार जोड्ने सडक नबन्दा वडाबासीहरूले समस्या भोगिरहेको बताउँछन् । उनले स्थानीय तहले शाखा सडकहरूमा कार्य गरेको तर, प्रदेश सरकारले सो सडकका लागि काम गर्न नसकेको बताए ।
उनले भने, ‘वडा अध्यक्ष रहदा नगरपालिका र प्रदेशमा पहल गरे । शाखा सडकहरूमा स्थानीय तहले गरिरहेको छ । मुख्य सडक बनाउनतर्फ प्रदेशले चासो दिनुपर्ने हो । प्रदेशमा सिफारिस गरेका थियौँ । मुर्कटेदेखि बेला, धनचौरीदेखि बेला जोड्ने बाटोलाई पटक–पटक रातो कितावमा राखेका थियौँ । स्थानीय तहले पनि यो सडक बनाउन जोड दिनुपर्ने हो ।’
स्थानीय पार्वती भण्डारीले धुलो उड्ने, कच्ची सडकले आवतजावत गर्न समस्या भइरहेको बताइन् । उनले गर्भवती महिलालाई बर्थिङ्ग सेन्टर तथा अस्पताल पु¥याउन पनि समस्या रहेको बताइन् । उनले निर्वाचनका क्रममा सडक बनाइदिने आश्वासन पाउने गरेको तर, निर्वाचित भएपछि फर्केर पनि नहेरेको गुनासो गरिन् ।
उनले भनिन्, ‘गर्भवती महिलाहरूलाई असहजता बढी भएको छ । सडक कच्ची भएकै कारण एम्बुलेन्सलाई समयमै पुग्न समस्या छ । जसका कारण गर्भवती महिलाहरूले समयमै सेवा पाउन सक्दैनन् ।’ ‘निर्वाचनको समयमा सडक बनाइदिन्छु मलाई भोट दिनुस भन्थे । तर, अहिले त अनुहारसमेत हेर्न पाएको छैन् । यो सडक बनाउनतर्फ पनि ध्यान छैन् ।’ भण्डारीले आक्रोशित हुँदै भनिन् ।
स्थानीय महादेव राना शेहरीदेखि धनगढी आउने जाने गर्दछन् । निर्माणाधिन पुलमा सूचनापाटी नराखिदिँदा दुर्घटना परे । उनले धनगढी र गोदावरी नगरपालिकाले सहकार्य गरेर सडक बनाउनतर्फ पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘यहाँका अधिकांश मानिस रोजगार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न धनगढीनै जान्छन् । छोटो र कम दुरी भएका कारण यो सडकमा यात्रा गर्छन् । तर, सडक कालोपत्रे छैन् । धुवाँ धुलो उडिरहन्छ । जथाभावी फालिएका गिट्टीले सवारीसाधनमा क्षति पुग्ने गरेको छ ।’
सो सडकमा धनगढीका टिप्पर, ट्याक्टरहरू गुड्छन् । जसका कारण सडकको धुलोले स्थानीयबासीहरूले स्वास्थ्यमा समस्या झेलिरहेका छन् । त्यहाँबाट धनगढीमा काम गर्न आउने महिलाहरू कच्ची सडककाकारण पनि आवतजावतमा समस्या झेलिरहेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्