सुर्खेत ।
गर्मी यामलागेसँगै बढेको वायु प्रदूषणले मानिसहरूमा बढी प्रभाव पार्न लागेपछि सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् । उनीहरूले गर्मी याममा वनजंगलमा अत्यधिक डढेलो लागेको, गाडी मोटरको धुँवा, खडेरीले धुलो उडेकोजस्ता कारणले वायु प्रदूषण बढेको हुँदा त्यसको असर मानव स्वास्थ्यमा परेकोले सचेत रहन सुझाव दिएका छन् ।
गर्मी लागेसँगै आँखा पोल्ने, ओठमुख सुक्ने, घाँटी दुख्ने, शरीर चिलाउने, ज्वरो आउने, रूखाखोकी लाग्ने जस्ता रोगको संक्रमण बढेको पाइएको छ । विशेषगरी बालबालिका बढी प्रभावित भएका छन् । राजधानी काठमाडौँ त अध्यधिक प्रदूषणले गर्दा मानव स्वास्थ्यमा असर पारेको छ भने कर्णाली प्रदेश राजधानी सुर्खेततिर काठमाडौँ जतिको असर नपरेपनि प्रदूषणको सुरुवात भइसकेको छ । अस्पताल तथा निजी मेडिकलतर्फ बिरामीहरू बढ्न थालेका छन् ।
सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले सुर्खेतमा पनि प्रदूषण बढ्ने क्रममा रहेको बताए । विशेषगरी बिहान र बेलुका प्रदूषित हावा आकाशमा नगई वायुमण्डलमै रहने भएकोले यसले बढी असर गर्ने उनको भनाई छ । प्रदूषित हावा बढ्दै गएकोले यसबाट सचेत रही स्वास्थ्य सुरक्षा अपनाउन उनले आग्रह गरे ।
यता कर्णाली प्रदेश अस्पतालमा पनि यसका फाट्टफुट्ट बिरामीहरू आउने गरेका छन् । अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले प्रदूषित वातावरणका कारण बिरामी नआएपनि अवस्था हेर्दा सचेतना अपनाउनुपर्ने बेला आएको बताए । उनले गर्मी लागेसँगै भाइरल ज्वरोका बिरामीहरू बढेको जानकारी दिए । दूषित वायु विशेषगरी काठमाडौँतिर भएपनि यता उताको जस्तो चिन्ताजनक अवस्था नभएको तर लापरबाही गर्न नहुनेमा उनको जोड छ ।
घर बाहिर निस्कँदा मास्क लगाउने, धुवाँ धुलोमा सकभर नहिँड्ने, सरसफाइमा ध्यान दिने जस्ता स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरे । दूषित वायुले दीर्घकालीन रोगले पनि सताउने गर्दछन् । डा. केसीका अनुसार यसले दम रोग, मुटुरोग, क्यान्सरजस्ता दीर्घ रोग बढाउँछ । यस्तै सँधै सिथिल बनाउने, रोग प्रतिरोधात्मक क्षमताको ह्रास, सिर्जनशीलताको कमी र यसबाट अन्य रोगहरू पनि लाग्न सक्ने उनले बताए ।
उनले वायु मण्डललाई दूषित हुनबाट जोगाउन इन्धनबाट सञ्चालन हुने गाडीहरूलाई निरुत्साहित गरी विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्ने, वृक्षारोपण गरी हरियाली बढाउनुपर्ने र स्वास्थ्य सचेतता अपनाउनुपर्ने सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्