स्वर्गीय कोइरालाको घरमै पुगेर प्रचण्डले दिए श्रद्धाञ्जली



कोहलपुर (बाँके) ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य स्वर्गीय अशोक कोइरालाको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को दोस्रो लुम्बिनी प्रदेश सम्मेलनमा सहभागी हुन कोहलपुर पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार साँझ कोहलपुर नगरपालिका–११, दशबिगाहास्थित कोइराला निवासमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । अध्यक्ष प्रचण्ड सम्मेलनको उद्घाटन र सम्बोधनपछि सिधैँ कोइरालाको घरमा पुगेका थिए ।

अध्यक्ष प्रचण्डको भेटपछि पार्टीको तर्फबाट जारी समवेदनामा भनिएको छ, ‘कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य अशोक कोईरालाको २०८१ चैत ११ गते उपचारका क्रममा भएको अकल्पनीय निधनले हाम्रो पार्टी माओवादी केन्द्र परिवारलाई स्तब्ध बनाएको छ, उहाँले राज्य परिवर्तन र समग्र कम्युनिस्ट आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ ।’ पार्टीले कोईरालाको अप्रत्यासित निधनले कम्युनिष्ट आन्दोलन तथा उनको परिवारलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् माओवादी केन्द्रका नेता कुलप्रसाद केसी, नेता नरेन्द्र पाण्डे ‘जेम्स’, गोपालप्रसाद अधिकारी, गंगा दाहाल, प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले सहभागिता रहेको थियो ।

दुःखद घडीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वर्गीय अशोक कोईरालाको निवास पुगेर उनको परिवारलाई समवेदना व्यक्त गरेको एकीकृत समाजवादी बाँके जिल्ला सचिव दीपक जिएमले जानकारी दिए । कोइरालाको २०८१ चैत ११ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २१ गते बिहीबार