‘हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हे¥यै’



शेरबहादुर ऐर । कैलाली ।

‘हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हे¥यैै…’ चर्चामा रहेको गायक दुर्गेश थापाको गीतको बोल हो यो । गीतको जस्तै सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार मन्त्री पदबाट राजीनामा दिएर मन्त्रालयबाट बाहिरने क्रममा सोही कुरा दोहो¥याए । अहिले दुर्गेशको गितजस्तै सुदूरपश्चिम सरकार र सत्तागठबन्धन दलका नेताहरूमा परिरहेको छ ।

दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि ल्याउने विषयमा वन व्यवसायीसँग लेनदेनबारे अडिओ सार्वजनिक भएपछि उनले मन्त्री पदबाट त राजीनामा दिए । तर, उनी र व्यवसायीबीचको लेनदेनको छलफलमा उनले मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशमलाल चौधरी, वर्तमान अध्यक्ष रञ्जीता श्रेष्ठलाई मिलाउनुपर्ने कुराको संरक्षण गरे । उनको अडिओ प्रकरणबारे छानबिन अघि नबढ्दै अहिले नेकपा एमाले नेता नारदमुनि रानाको अडिओ बाहिरिएको छ । राना र निवर्तमान मन्त्री लक्ष्मणबीच भएको संवादमा पनि लेनदेनकै कुरा छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको अडिओमा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी र एमालेका पोलिटब्यूरो सदस्य रानाबीच घुस लिने विषयमा छलफल भएको छ । सुरुमा मन्त्री चौधरी मात्र मुछिएको भनिएको भएपनि नयाँ खुलासाले एमाले नेता राना समेत घुस प्रकरणमा संलग्न रहेको देखाएको छ ।

अडिओमा रानाले मन्त्री चौधरीलाई दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउन सल्लाह दिइरहेको सुनिन्छ । उनले कार्यविधि बनाई कार्यदलमार्फत बैठकमा पास गराउन निर्देशन दिएको अडिओमा प्रष्ट छ । मन्त्री चौधरीलाई रानाले भनेका छन्, ‘तपाईँ र म फेरि चुनाव लड्नुपर्छ, जित्नका लागि पैसा कमाउनुपर्छ ।’ यसले आगामी चुनावको तयारी र आर्थिक लाभका लागि दिगो वन व्यवस्थापनलाई उपयोग गर्ने योजना रहेको देखाउँछ ।

मन्त्री चौधरीलाई पदबाट राजीनामा गराउन सत्तागठबन्धन दलदेखि विभिन्न व्यवसायीहरू लागेको उनको अभिव्यक्तिले बताउँछ । उनले पार्टीभित्र र केही शक्तिहरू असफल बनाउनतर्फ लागेको बताए । उनले भनेका थिए, ‘सत्तामा भएपछि विभिन्न दबाबहरू आउँछन । सत्ता गठबन्धन दलदेखि प्रतिपक्षी दलहरू मेरो विरुद्धमा लागिरहेका छन’ उनले भने, ‘अहिले मन्त्रालयको सिफारिसमा विभिन्न समितिहरूमा नियुक्ति गर्ने कार्य चलिरहेको छ । यही सन्दर्भमा एक हप्ताअघि मलाई यो अडिओ आएको थियो । आफूले भनेको नमाने पद पनि जान सक्छ भनेका थिए । अहिले अडिओ सार्वजनिक भइसकेको छ । त्यसैले छानविनलाई सहजता दिलाउन नैतिकताका आधारमा पदबाट राजीनामा दिन्छु ।’

लक्ष्मण किशोरले मुख्यमन्त्रीलाई मनाउनुपर्ने अडिओमा भनिएको भएपनि मुख्यमन्त्री शाहले मन्त्रीलाईनै देखाएर जोगिने प्रयास गरे । तर, मन्त्री पदबाट राजीनामा दिनुअघि लक्ष्मण किशोरले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा आफ्नो मान्छे राख्न भन्दै अडिओसहितको म्यासेज आएको बताएका थिए । व्यवसायीको नाम पत्रकार सम्मेलनमा सार्वजनिक नगर्नुले पनि मुख्यमन्त्री, पार्टी संरक्षक रेशम, अध्यक्ष रञ्जीता स्वयमबाट मन्त्री लक्ष्मण किशोरले दबाब पाएको देखिन्छ । ‘को व्यवसायी हुन म चिन्दैन’ पत्रकारको जिज्ञासामा उनको भनाइ थियो ।

मन्त्री लक्ष्मण किशोरको अडिओ सार्वजनिक भएसँगै अहिले नेकपा एमालेका नेता नारदमुनि राना र उनीबीच भएको संवाद सार्वजनिक भएको छ । दुवैबीच सोही कार्यविधिबारे छलफल भएको छ । लक्ष्मण किशोर र नेता रानाबीचको संवाद सार्वजनिक भएपछि मंगलबार रानाले सार्वजनिक अडिओ तोडमोड गरी ल्याइएको बताए । उनले सो कार्यविधिका विषयमा छलफल भएको तर, लेनदेनका विषयमा कुनै छलफल नभएको बताएका छन् ।

रानाका अनुसार चौधरीले आफूलाई फोन गरी ‘दाजु, म तपाईँजस्तै मन्त्री भएको छु । हाम्रो संयुक्त सरकार पनि छ । चिया खाऔँ र सरसल्लाह गरौँ,’ भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावपछि मन्त्रीको कार्यकक्षमा आफू पुगेको उनले बताए । उनले भने, ‘त्यहाँ सचिवालयका केही व्यक्ति पनि थिए । मन्त्रीज्यूले काम गर्न गाह्रो भएको बताएपछि मैले दुई सुझाव दिएको थिएँ । पहिलो, कार्यदल बनाएर समय दिनुहोस्, जसले कार्यविधि तयार पारोस् । दोस्रो, लुम्बिनी प्रदेशको कार्यविधिलाई आधार मानेर आवश्यक परिमार्जन गर्नुहोस् ।’

रानाले अडिओमा भएका अरू कुराहरू आफू अघि नभएको र कसैले अडिओमा अन्य संवादहरू जोडेको दाबी गरे । ‘अडिओ तोडमोड गरेर प्रस्तुत गरिएको छ । आर्थिक चलखेलको कुरा मसँग कुनै पनि सम्बन्ध छैन्,’ उनले स्पष्ट पारे । उनले मन्त्रालयकै केही व्यक्तिले अडिओ रेकर्ड गरी सार्वजनिक गरेको हुनसक्ने शंका व्यक्त समेत गरे । नेता रानाले मन्त्रालयलाई सफल बनाउन सकारात्मक सुझाव मात्रै दिएको र आर्थिक चलखेलमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरे ।

एकपछि अर्को नेताका बारेमा कार्यविधिबारे भएको लेनदेनको अडिओ सार्वजनिक भइरहेको छ । तर, यो प्रकरणमा को–को संलग्न छन् भन्नेबारेमा सरोकारवाला निकायहरूले छानबिन गर्न सकेको छैन । मन्त्री पदबाट राजीनामा दिएपछि अहिले संसदीय विशेष समितिले यो प्रकरणबारे छानविन गरिरहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २० गते बुधबार