कोहलपुर (बाँके) ।
सरकारले सोमबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय विरुद्ध कोहलपुरमा विरोध प्रदर्शन गरिएको छ । नेपालमा लोडसेडिङ हटाउन भूमिका खेलेका घिसिङलाई सरकारले अन्यायपूर्वक पदबाट हटाएको भन्दै बुधबार कोहलपुरमा राँके जुलुसका साथै विरोध प्रदर्शन गरिएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले तानाशाही प्रवृत्ति देखाएर घिसिङलाई हटाइएको भन्दै पुर्नबहालीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको थियो । कोहलपुरस्थित न्युरोड चोकमा आयोजित कार्यक्रममा रास्वपाले सरकारको कडा आलोचना गरेको छ । ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, मन्त्री परिषद्को भ्रष्ट र निरंकुश निर्णय खारेज गर’ भन्दै प्रतिपक्षी दलसमेत रहेको रास्वापाले कडा आलोचना गरेको हो ।
उक्त अवसरमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपमहामन्त्री सिएम उपाध्यायले वर्तमान सरकारले जनविरोधी काम गरेको बताए । उनले नेपालमा लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई कार्यकाल सकिन चार महिना बाँकी हुँदा अपमानजनक तरिकाले हटाएको बताए । सरकारले गरेको गलत निर्णयको विरोधमा हरेक नेपालीले आवाज उठाउनुपर्ने उपाध्यायले बताए । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य सोमती थारूले वर्तमान सरकारले ऊर्जा माफियाहरूको कब्जामा रहेको बताइन् । उनले सरकारले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय फिर्ता लिनुपर्ने बताइन् ।
नेकपा ‐माओवादी केन्द्र) निकट वाइसिएल र अखिल (क्रान्तिकारी)ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा राँके जुलुस निकालेका छन् । वाइसिएल र अखिल (क्रान्तिकारी)को संयुक्त आयोजनामा बुधबार साँझ कोहलपुरस्थित न्युरोड चोकमा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइएको थियो । उक्त अवसरमा उनीहरूले ‘कता हिँडेको सालो पालेर, कुलमान फालेर, भ्रष्ट भएर, जनता हेरको हेरेई, भ्रष्ट केपी मुर्दावाद, ऊर्जामन्त्री राजिनामा दे’ लगायतका नारा लगाउँदै सरकारको विरोध गरेका थिए । युवा र विद्यार्थीहरूले राँके जुलुस निकाल्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्काको पुत्ला जलाएपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर भागदौडसमेत भएको थियो ।
राँके जुलुसपछि आयोजित कोणसभामा बोल्दै वाइसिएल कोहलपुरका संयोजक लालबहादुर खड्काले कुलमानलाई हटाउने सरकारको निर्णयको विरोधमा राँके जुलुस निकालिएको बताए । उनका अनुसार सरकारले कुलमानमाथि अन्याय गरेको छ । सरकारले निर्णय फिर्ता लिनुपर्ने उनले माग गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयको सरकारमा रहेका दल तथा नेता तथा प्रमुख प्रतिपक्ष दलहरूले विरोध गरिरहेका छन् । बुधबार प्रतिपक्ष दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरोध गरेका थिए । उक्त निर्णयको देशभर विरोध भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्