डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात



खगेन्द्र दाहाल । खजुरा ।

बाँकेको खजुरामा १०औँ डाँफे कप फुटबल खेल प्रतियोगिता सुरु भएको छ ।

न्यु डाँफे स्पोर्टस् क्लब खजुरा डि गाउँको आयोजनामा भएको गजबहादुर सिंजाली स्मृति १०औँ डाँफे कपमा भएको उद्घाटन खेल आयोजकको पोल्टामा परेको छ । शनिबार न्यू डाँफेको ‘बि’ टिम र नेपालगन्जको योङ्ग स्टारबीच भएको खेलमा ४–२ को अन्तरले आयोजक विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै टिमको १–१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुटआउट मार्फत आयोजकले थप ३ गोल गर्न सफल भयो भने योङ्ग स्टारले १ गोल मात्र गर्न सकेको थियो ।

क्लबका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना भइरहेको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले गरेका थिए । खेलको उद्घाटन गर्दै पालिका अध्यक्ष विकले खजुरा खेल क्षेत्रका लागि उर्वरभूमि रहेको बताए । अध्यक्ष विकले स्थानीय क्लबहरूले खेल क्षेत्रलाई अघि बढाउन विशेष भूमिका खेलिरहेको उल्लेख गरे । उनले खेल मैदानदेखि अन्य खेलाडी उत्पादन कार्यका लागि पालिकाको सहयोग भइरहने जनाए ।

क्लबका अध्यक्ष हरीप्रकाश विकको अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेल संयोजकसमेत रहेका क्लबका पूर्वअध्यक्ष तिलकविर सुनारले दशौँ संस्करणसम्म निरन्तर सञ्चालन गर्न सक्नु चुनौती रहेको उल्लेख गरे । खेल सम्पन्न गर्न करिब ८ देखि ९ लाख रूपैयाँ लाग्ने भएकाले स्थानीय सरकारले यस सम्बन्धमा आगामी वर्षमा बजेट बढाउन खेल संयोजक सुनारले अनुरोध गरे ।

बाँकेको जेठो क्लबहरू मध्येकै एक न्यू स्पोट्र्स क्लबले हरेक बर्षजसो यस किसिमको प्रतियोगिता गर्दै आइरहेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबल खेल खजुराको यही मिनी रङ्गशालामा भएको थियो । कार्यक्रममा बोल्दै खेल संयोजक सुनारले अर्को वर्ष गोल्डकप गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । आफूहरू गोल्डकप खेलाउन तयार रहेको तर यसमा स्थानीय सरकारले बजेट बनाउँदा कन्जुसाइँ नगर्न अनुरोध गरे ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । शनिबार ९ गतेदेखि सुरु भएको प्रतियोगिता २१ गते सकिने प्रचारप्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रूपैयाँ नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

विगत केही वर्षदेखि निरन्तर उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहेका लिलबहादुर थापाले सहयोग गर्दै आएका छन् । अन्य खर्च आयोजकले स्थानीय सरकार, व्यक्ति तथा व्यापारीबाट सहयोग संकलन गरी गर्ने गरेको क्लबका कोषाध्यक्ष ओपेन्द्र खत्रीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रूपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए । आज भिलेज होम राँझा र न्यू भगवती स्पोट्र्स क्लब बैजनाथ हासनापुरबीच दिउँसो ४ बजे खेल हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार