‘अस्पताललाई मालिकको तजबिजले चलाउनु सह्य हुँदैन’



नेपालगन्ज ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नीजि अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृत्ति सरकारलाई सह्य नहुने बताएका छन् । शनिबार नेपालगन्जमा भएको कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा कर्मचारीहरूले सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलन गरेपछि सञ्चालकहरूले प्रक्रिया मिचेर विभिन्न अस्वभाविक गतिविधि गर्दै आएका छन् ।

यसै विषयतर्फ लक्षित गर्दै मन्त्री पौडेलले भने, ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौँ । अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृत्ति सरकारलाई सह्य हुँदैन ।’

यसअघि पनि मन्त्री पौडेल नेपालगन्ज आएका बेला कर्मचारीहरूका जायज माग पूरा गर्न निर्देशन दिएका थिए । तर मेडिकल कलेजले ती माग पूरा नगरेर कर्मचारीहरूलाई दबाबमा राख्न विभिन्न गतिविधि गर्दै आएको छ ।
यसैगरी स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउँदै लगिने बताएका छन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले जनतालाई उपचार सेवामा बढीभन्दा बढी सहयोग गर्ने उद्देश्यले बीमा कार्यक्रमलाई घरदैलोसम्म पु¥याउने सरकारको योजना रहेको उल्लेख गरे ।

मन्त्री वाकाथनमा सहभागी

स्वास्थ्य मन्त्री पौडेल नेपालगन्जमा शनिबार बिहान आयोजना गरिएको वाकाथनमा पनि सहभागी भएका थिए । नेपाल चिकित्सक संघ भेरीले आयोजना गरेको वाकाथनमा मन्त्री प्रदीप पौडेल पनि सहभागी भएका हुन् ।
वाकाथन सुरुवात गर्दै मन्त्री पौडेलले निरोगी नेपाल बनाउने अभियानलाई यस्ता क्रियाकलापले सघाउ पु¥याउने बताए । उनले स्वस्थ शरीरका लागि नियमित हिँडाइ आवश्यक रहेको बताए ।

नेपालगन्जको गणेशमान चोकबाट सुरु भएको वाकाथन धम्बोझी चोक पुगेर पुनः गणेशमान चोकमा पुगेर समापन भएको थियो । वाकाथनका संयोजक डा. किशोर खत्रीले ‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ’ भन्ने मूल नारासहित वाकाथन आयोजना गरिएको जानकारी दिएका छन् ।

बालरोग विशेषज्ञ डा. खत्रीले वाकाथानलाई अभियानकै रुपमा अगाडि बढाउने बताएका छन् । वाकाथनमा प्रदेश सांसदहरू कृष्णा केसी नमुना, मिना कुमारी श्रेष्ठ, नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल लगायतको पनि सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार