बाँके ।
शनिबारदेखि सुरु भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ को पहिलो दिन एउटा खेल सम्पन्न भएको छ । गोल्डकपको उद्घाटन पश्चात पहिलो खेल आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब र लुम्बिनी फुटबल एडेकेमीबीच भएको थियो । पहिलो खेलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१औँ मिनेटमा जर्सी नम्बर ११ का निराजनजंग शाहीले गोल गरेका थिए । यस्तै, दोस्रो हाफको ६५औँ मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले गोल गरे । शाही र थापाको गोल प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले गोल्डकपमा पहिलो जित दर्ता गर्न सफल भएको हो । लुम्बिनी फुटबल एडेकेमी घोराही दाङले भने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ ।
पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन् । एन्फा रेफ्री गोपी भुजेलका अनुसार गोल्डकपको दोस्रो दिन दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिंङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ ।
प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रूपैयाँ र द्वितीय हुने टिमले चार लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्