वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने व्यवस्थाका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभाग र प्रजातान्त्रिक कानुन व्यवसायी संघको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित संविधान संशोधनको आवश्यकता र चुनौतिका विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
महामन्त्री थापाले कुनैबेला आफू संघीय सरकारमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने मान्यता राख्ने गरेकोमा विश्वका केही देशका उदाहरणले लोकप्रियतावाद हाबी भएर समस्या सृजना हुने देखिएको थापाले बताए । त्यसकारण संघीय सरकारमा संसद्बाटै निर्वाचित कार्यकारी र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको विकल्पमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने, ‘यसले माथिको सरकार ढल्दा अथवा माथि पानी पर्दा तलको सरकारले छाता ओढ्नुपर्ने अवस्थाको अन्त्य गर्छ । ५ वर्ष स्थिर सरकारले प्रदेशमा काम गर्न सक्छ ।’ संघीय सरकारको कार्यकारी दुई कार्यकालभदा बढी हुन नपाइने व्यवस्था पनि गर्न सकिने थापाको भनाइ छ ।
महामन्त्री थापाले अहिले संघीयता र प्रदेश सरकारले खर्च बढाएको भन्दै गलत विश्लेषण भइरहेको र त्यसले नागरिकहरू भ्रममा परेकोले त्यसलाई चिर्नुपर्ने पनि बताए । साथै उनले प्रदेश सरकारलाई पर्याप्त अधिकार दिएर प्रभावकारी बनाउनुपर्ने पनि बताए । ‘प्रदेश सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सुरक्षा र ठूला परियोजना बाहेकको अधिकारहरू दिएर प्रभावकारी बनाउनुपर्छ । ५ लाख, १० लाखका परियोजना पनि संघ र प्रदेश सरकारले चलाएर बस्ने होइन ।’
संघीयताको खर्च कम गर्नका लागि तीन तहका सरकारका योजनाको डुप्लिकेशन हटाउने र जनप्रतिनिधिको सङ्ख्या घटाउने व्यवस्था गर्नुपर्ने थापाको राय छ । उनले निर्वाचन अघिको गठबन्धन गर्न नपाइने व्यवस्था पनि गर्नुपर्ने देखिएको बताएका छन् । थापाले संविधानमा लेखिएका मौलिक हकहरू तुरुन्त कार्यान्वयन हुनुपर्नेमा ती हकका लागि कानुन नै नबन्दा नागरिकहरूमा नकारात्मक सन्देश गएको बताए । ‘संविधानमा त मौलिक हक लेख्यौँ । तर त्यसका लागि चाहिने कानुन बनाएनौँ । त्यसैले अब मौलिक हकको लागि चाहिने कानुन यति समयभित्र गरिसक्छौँ भन्ने प्रतिबद्धता गरौँ,’ थापाले भने ।
महामन्त्री थापाले समावेशीतालाई थप उन्नत बनाउनेगरी संविधान संशोधन गर्न सकिने बताए । यसैगरी, संविधानमा उल्लेखित कतिपय व्यवस्थाको व्याख्या आफ्नो स्वार्थ अनुकूल भइरहेकोले त्यस्ता व्यवस्था गर्नुको कारणसहितको व्याख्या पनि गरेर संविधान संशोधन गर्नुपर्ने मत थापाको छ ।
थापाले सुशासन पनि संविधानको मुख्य अंग भएकाले न्यायालय र विश्वविद्यालयजस्ता संस्थामा अयोग्य व्यक्ति नियुक्त नहुने व्यवस्थाका विषयमा पनि छलफल गर्न सकिने बताए । यद्यपि यो विषय नियतसँग जोडिएको उनको भनाइ छ । उक्त अन्तक्र्रिया कार्यक्रममा संविधानविद् काशीराज दाहाले संविधान संशोधनका विषय, आवश्यकता र चुनौतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । दाहालले संविधानमा मुख्यगरी पाँचवटा विषयमा संविधान संशोधन गर्न सकिने धारणा प्रस्तुत गरेका थिए ।
दाहालले शासकीय स्वरुप, प्रदेश संरचना, समावेशीता, निर्वाचन प्रणाली र आर्थिक समृद्धि एवम् सुशासनका विषयमा थप उन्नत व्यवस्थाका लागि संविधान संशोधन गर्न सकिने बताए । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू सहभागी अन्तक्र्रियामा बोल्ने वक्ताहरूले संविधान संशोधन आवश्यक रहेको तर व्यापक छलफल गर्दै टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डिला संग्रौलाले वर्तमान सरकार बन्दा भएको सहमतिको एक बुँदा संविधान संशोधन पनि भएको तर प्रधानमन्त्रीले नै संविधान संशोधन २०८७ सालमा हुने भनेर दिएको अभिव्यक्तिले आशंका उत्पन्न गराएको बताइन् । त्यसैलाई चिर्न विभाग संविधान संशोधनको आवश्यकता र चुनौतिबारे देशका प्रमुख सहरहरूमा अन्तक्र्रिया आयोजना गर्न थालिएको संग्रौलाले जानकारी दिइन् ।
शक्ति आर्जनको कसरतमा कोइराला र थापा
नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनको समय नजिकिँदै गर्दा नेता शेखर कोइराला र महामन्त्री गगन थापा पार्टी पंक्तिलाई प्रभाव पार्ने अभियानमा प्रतिस्पर्धामा उत्रिन थालेका छन् । महामन्त्री गगन थापा शनिबार नेपालगन्जमा आयोजित संविधान संशोधनको आवश्यकता र चुनौति विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन आएका बेला उनको स्वागत पञ्चेबाजासहित गरियो ।
पञ्चेबाजा बजाउने महिलाहरू बाँके निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने क्षेत्रका महिलाहरू थिए । जसको व्यवस्था कांग्रेसको उक्त क्षेत्रको समितिले गरेको चर्चा कार्यक्रम स्थलमा भइरहेको थियो । करिब ३ घण्टा डिले भएको थापाको हवाइ उडान पर्खेर नेपालगन्ज विमानस्थलमा कार्यकर्ताको भीड लाग्यो । उनलाई नेपालगन्ज विमानस्थलदेखि कार्यक्रमस्थल भेरी प्राविधिक शिक्षालयसम्म कार्यकर्ताहरूले ¥यालीसहित स्वागत गरे । थापा बाँके आउँदा त्यसरी तामझामसहितको स्वागत यसअघि हुने गरेको थिएन ।
अन्तक्र्रिया कार्यक्रमस्थलमा भेटिएका अधिकांश कांग्रेस नेता कार्यकर्ताहरूले महाधिवेशन लक्षित भएरै महामन्त्रीलाई तामझाम सहितको स्वागत गरिएको बताइरहेका थिए । थापा नेपालगन्जपछि सुर्खेतको कार्यक्रममा सहभागी हुन जाँदैछन् । महामन्त्री थापा सल्यान, रोल्पा र प्युठानमा पनि कार्यक्रमहरूमा सहभागी भएका छन् । कांग्रेसको आगामी सभापतिका लागि खुलेर दाबी नगरेपनि महामन्त्री गगन थापा र १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी नेता डा.शेखर कोइराला दुई जना कार्यकर्ताहरूसँग आफूले पार्टीलाई सही दिशामा लैजाने विश्वास दिलाउने पर्यत्न गरिरहेका छन् ।
१४औँ महाधिवेशनमा एउटै समूहबाट सभापति र महामन्त्रीको चुनाव लडेका कोइराला र थापाले आगामी महाधिवेशनमा सभापतिकै लागि फरक–फरक समूहबाट प्रतिस्पर्धा गर्ने उनीहरूको अभिव्यक्ति र गतिविधिले देखाएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । उनीहरू दुवैजना यतिखेर पश्चिम नेपालमा पार्टीपंक्तिभित्र शक्ति आर्जनको लागि कसरत गरिरहेको कार्यकर्ता पंक्तिभित्र चर्चा भइरहेको छ ।
डेढ साताअघि सुर्खेत पुगेका नेता डा.कोइरालाको स्वागतार्थ कार्यकर्ता पंक्तिले थापालाई जस्तै तडकभडकयुक्त स्वागत गरेको थियो । अघिल्लो शनिबार नेपालगन्ज आएका नेता कोइरालालाई पनि नेपालगन्ज विमानस्थलमा कार्यकर्ताको भिडसहित स्वागत गरिएको थियो । नेपालगन्जमा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कार्यकर्ताको उक्त उपस्थितिले आफूलाई उत्साहसँगै ऊर्जा पैदा गरेको बताएका थिए ।
कांग्रेस विधानमा दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने प्रावधानले सभापति देउवा आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा हुने छैनन् । उनी व्यक्तिगतरूपमा चुनावी प्रतिस्पर्धामा नभए पनि उनले समर्थन गर्ने उम्मेदवार र गुट भने बलियो हुने पक्कापक्कीजस्तै छ । त्यसकारण नेताहरू देउवालाई आफ्नो शक्ति देखाउने प्रयत्नमा रहेको कांग्रेसका एक नेताले बताए ।
कार्यकर्ताहरू भने यसअघि एउटै समूहमा रहेका नेताहरू अलग अलग भएमा तेस्रो पक्षलाई फाइदा पुग्ने बताउँछन् । यद्यपि अहिलेको हल्ला र दौडधुपले पार्टीभित्र वर्चस्व देखाउने पर्यत्न भएपनि अन्तिमसम्म समूहहरू तलमाथि हुने पनि कार्यकर्ताहरूको बुझाइ छ ।









प्रतिक्रिया दिनुहोस्