‘खजुरा प्रतिभा’ खोजीको दोस्रो संस्करण हुँदै



नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाको प्रज्ञा प्रतिष्ठानले ‘खजुरा प्रतिभा’ खोजीको दोस्रो संस्करण आयोजना गर्ने भएको छ । प्रतिष्ठानले लुकेर रहेका प्रतिभाको खोजी गरी हौसला प्रदान गर्नका लागि गत वर्षबाट ‘खजुरा प्रतिभा’ खोजी प्रतियोगिता आयोजना गर्दै आएको छ । कविता, वक्तृत्वकला, गायन र नृत्य विधामा प्रतिभाको खोजी गर्ने कार्यक्रम रहेको प्रज्ञा प्रतिष्ठानले पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ ।

यस वर्षको प्रतियोगिताका लागि पनि विद्यालयस्तरको छनौट सुरु भइसकेको छ । आज मंगलबारसम्म विद्यालयले हरेक विधामा कम्तिमा एकजना छात्रासहित दुईजना विद्यार्थीको नाम उपलब्ध गराउन समय तोकिएको छ । विद्यालयहरूले आन्तरिक प्रतिस्पर्धा गराएर गाउँपालिकास्तरीय छनौटमा सहभागी हुने प्रतिभाको टुंगो लगाउनेछन् । त्यसपछि पालिकास्तरीय छनौटको पहिलो चरण फागुन १४ गते, दोस्रो चरणको छनौट अर्थात सेमिफाइनल फागुन १७ गते र फागुन २४ गते फाइनल चरणको छनौट गरिने छ ।

फाइनलमा छनौट भएका प्रतिभालाई एक महिनाको तयारीको समय दिएर चैत्र २६ गते हरेक विधाको उत्कृष्ट एकजना प्रतिभा छनौट गरिने प्रतिष्ठानका उपकुलपति डा.इन्द्र भण्डारीले जानकारी दिए । त्यसपछि सबै विधामा पनि उत्कृष्ट एकजनालाई खजुराको प्रतिभा घोषणा गरिने डा.भण्डारीले बताए ।

हरेक विधामा उत्कृष्ट तीन जनालाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ भने खजुराको प्रतिभालाई १५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नयाँ प्रतिभाको खोजीका साथै खजुराको इतिहास, साहित्य र कलासंस्कृतिका विषयमा अनुसन्धानमूलक तथा संग्रहणीय प्रकाशनहरू पनि गर्दै आएको जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार