पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न ‘पत्रकार सद्भाव वनभोज कार्यक्रम’



बाँके ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले ‘पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम’ गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरूको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासँगको सहकार्यमा डुडुवा–५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिबार वनभोज कार्यक्रम गरेको हो ।

लामो समयदेखि निरन्तरता पाउन नसकेको पिकनिक संस्कृतिलाई नयाँ कार्यसमितिले यस वर्षदेखि फेरि सुरुवात गरेको नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले जानकारी दिए ।
शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरूको उल्लेख्य उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले महासंघको नेपालगन्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनको माथिल्लो तलामा सेमिनार हल बनाइदिने घोषणा गरेका थिए । उनले स्थानीय सरकारका नाताले पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पालिका अध्यक्ष चौधरीले स्थानीय पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र प्रबद्र्धनका लागि महासंघ बाँके शाखाले डुडुवा गाउँपालिका क्षेत्रलाई रोजेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले पर्यटन प्रबद्र्धन तथा व्यवस्थापनका लागि पालिकाले विशेष योजनाका साथ काम गरिरहेको बताए । उनले त्यसक्रममा डुडुवा गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कामहरूको बारेमा समेत पत्रकारहरूलाई जानकारी गराएका थिए । जनताको घरदैलोमै सेवा दिइरहेको डुडुवा गाउँपालिकाले २०७९ मंसिर १ गतेदेखि पशुपालक किसानलाई घर–घरमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य कार्ड लागू गरेको जनाएको छ । पशु बिरामी भए पशु स्वास्थ्यकर्मी घर–घरमा पुग्छन् ।

पालिका अध्यक्ष चौधरीले २०७४ फागुन १ गतेदेखि पशु नश्ल सुधार कार्यक्रम लागू गरेर हालसम्म ९ हजार पाडापाडी र बाच्छाबाच्छी जन्मिइसकेको बताए । उनले आफ्नो पहिलो कार्यकालको सुरुवातमै यो कार्यक्रम लागू गरेका थिए । उनको यो दोस्रो कार्यकाल हो । यस्तै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू छ । यसमा छोरी जन्मिने बित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रूपैयाँ जम्मा गरिदिन्छ । जुन रकम एसईई गरिसकेपछि २० बर्ष उमेर पुगेपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चोधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरूलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको छ । उनले विद्यार्थीहरूमा सदाचार विकास गर्न नैतिक शिक्षा पनि पढाउन थालिएको जानकारी दिए ।

अध्यक्ष चौधरीले डुडुवाको हिरमिनिया आलुको पकेट क्षेत्र भएकाले भण्डारणका लागि ७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि सञ्चालनमा आइसकेको बताए । जनतालाई कसरी प्रत्यक्षरुपमा धेरैभन्दा धेरै सेवा दिन सकिन्छ भनेर आफू निरन्तर लागिपरेको अध्यक्ष चौधरीको भनाई छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले राम्रो अभ्यासको सुरुवात गरेको बताउँदै सहकार्यका लागि डुडुवा गाउँपालिकालाई धन्यवाद दिए । अन्य मोडेलमा महासंघसँग सहकार्यका लागि पनि उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले स्थानीय पर्यटकीय स्थलहरूको प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भनेर डुडुवा–५ नानापुरस्थित पार्कमा ‘पत्रकार सद्भाव वनभोज कार्यक्रम’ आयोजना गरिएको बताए । उनले पर्यटन प्रबद्र्धनमा मिडियाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारले पर्यटकीय स्थलहरूको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताए । अध्यक्ष गिरीले जिल्लाका स्थानीय सरकारहरूसँग सहकार्य गरेर आगामी दिनमा विभिन्न तालिम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए । उनले निरन्तररुपमा विभिन्न कार्यक्रम र क्रियाकलाप सञ्चालन गरेर संस्थालाई क्रियाशील बनाइने बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार