मिसन संवाददाता
कोहलपुर, २७ माघ
वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन् । विभिन्न मितिमा वैदेशिक रोजगारीमा जापान वर्किङ भिसामा लैजाने भनी रकम असुलेको आरोपमा एक युवती पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेकी छन् ।
प्रतिव्यक्ति १४÷१५ लाख रूपैयाँ ठगी गरेको आरोपमा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) आयुशप्रसाद जोशीले बताए । जापान पठाइदिने भन्दै निज मगरले कुल १ करोड २३ लाख रूपैयाँ संकलन गरेको देखिएको उनले बताए । डीएसपी जोशीका अनुसार उक्त रकम संकलन गरेर उनी २÷३ महिनादेखि फरार थिइन् ।
उनका विरुद्धमा पीडितहरूले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका थिए । लगत्तै मगरविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । मगरविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्