एकिकृत समाजवादीका नेताले नाला कब्जा गरि बनाएको संरचना जोगाउन तटबन्धन गर्दै उपमहानगर



धनगढी उपमहानगरले आफैँले नियमको पालना नगरी समाजवादीका एक नेताले नाला अतिक्रमण गरेर बनाएको घर संरचना तथा जग्गा बचाउन सरकारी रकममा तटबन्धन निर्माण गरिरहेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रहेका वडा नम्बर–५ स्थित धिमलाल जोशीले नाला अतिक्रमण गरी बनाएको संरचनाको संरक्षण गर्न उपमहानगरले तटबन्धन निर्माण गरिरहेको हो ।
शेरबहादुर ऐर । कैलाली ।

धनगढीको भवन निर्माण तथा मापदण्ड २०७४ ले नालाको दश मिटर छोडेरमात्र स्थायी संरचना निर्माण गर्न स्वीकृति दिने व्यवस्था गरेको छ । तर, धनगढी उपमहानगरपालिका आफैँले सो नियमको पालना नगरी व्यक्तिको घर संरचना तथा जग्गा बचाउन तटबन्धन निर्माण गरिरहेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित धिमलाल जोशीले नाला अतिक्रमण गरी बनाएको संरचनाको संरक्षण गर्न उपमहानगरपालिकाले तटबन्धन गर्न लागेको हो । धिमलाल नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन् ।

धनगढीमा निर्वाचित भएर आएपछि नगरप्रमुख गोपाल हमाल र वडा अध्यक्ष गजेन्द्र शाही नेतृत्वका जनप्रतिनिधिहरूले २०७९ साल असोजमा नाली अतिक्रमणका कारण धनगढीमा समस्या बढ्दै गएको भन्दै अतिक्रमण हटाउने अभियान सुरु गरेको थियो । नाला अतिक्रमण हटाउने नाममा सो समयमा सो नाला वरपर रहेका बोटबिरुवा, रूख, बाँसका झाडी र कटान रोक्न निर्माण गरिएको तटबन्धनमा डोजर चलाएर विनाश गरिएको थियो । अहिले उपमहानगरपालिकाले नालीलाई दश मिटर बनाउनुभन्दा नालीको चौडाइ दुई मिटर पनि नहुने गरी तटबन्धन गरिरहेको स्थानीयहरू बताउँछन् । चालू आर्थिक वर्षमा सो कार्य हुन लागेपछि स्थानीयले सो कार्यको विरोध गर्दै निर्माणमा रोक लगाएका छन् ।

झन्डै ३२ लाखको लागतमा निर्माणाधीन सो तटबन्धले नालाको बहावलाई साँघुरो बनाउने भन्दै स्थानीयले उपमहानगरपालिकाले कायम गरेको नालाको मापदण्ड नै लागू गर्न माग गरेका छन् । धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष गजेन्द्रबहादुर शाहीले आफूलाई जानकारी नदिई उपमहानगरपालिकाले सो नालामा तटबन्धन गरिरहेको बताए । उनले भने, ‘नगरप्रमुख हमालले कसको मागमा त्यहाँ नालाको चौडाइ घटाएर तटबन्धन गरिरहेका हुन् भन्ने मलाई जानकारी छैन । वडामा योजना हाल्दा वडाध्यक्ष र सदस्यहरूसँग कुनै सल्लाह हुँदैन ।’

वडाध्यक्ष शाहीले अमिनले नापजाँच गरेर नै तटबन्धन गरेको बताउँदै भने, ‘सो नाला कहीँ ५ मिटर छ भने कही ३ मिटर कायम छ । तर, २०७९ सालमा अतिक्रमण हटाउने भनेर डोजर चलाएको भन्दा झन्डै दुई सय मिटर छोडेर दोस्रो लेयर र नालालाई दुई मिटरमा कायम राख्न पहिलो लेयरको तटबन्ध गरिएको छ ।’ उपमहानगरपालिकाका इन्जिनियर दात्ताराम जोशीले पूर्व ज्ञानमार्गसम्म सो सुकुटी नालामा दुई लेयरमा तटबन्ध निर्माण गर्न ठेक्का सम्झौता भएको बताए । उनले भने, ‘सुकुटी नालाबाट हुने कटान तथा डुबान रोक्न सो तटबन्धन कार्य अघि बढाइएको हो । अहिले स्थानीयको विरोधपछि काम अघि बढ्न सकेको छैन ।’

तत्कालीन समयमा उपमहानगरपालिकाले अतिक्रमण हटाउने नाममा जथाभावी डोजर लगाएपछि बस्ती तथा सो आसपासमा निर्मित भवनहरू कटानको जोखिममा रहेका छन् । धनगढीको भवन निर्माण तथा मापदण्ड २०७४ ले ‘नदी वा मुख्य कुलोसँग जोडिएको जग्गामा निर्माणका लागि नदीमा ५० मिटर, नालामा १० मिटर, मुख्य कुलो ५ मिटर र कुलोमा दुई मिटर किनारदेखि दूरी छोडेरमात्र स्थायी निर्माण गर्न स्वीकृति दिइने’ उल्लेख छ । तर, धनगढी उपमहानगरपालिकाले सो नियमविपरीत कसैलाई संरक्षण त, कसैलाई घरबारविहीन हुने गरी डोजर चलाइरहेको छ ।

पूर्णरूपमा अतिक्रमण हट्दैनन्

धनगढीले अतिक्रमण गर्ने व्यक्ति र संस्थालाई सार्वजनिक क्षेत्र खाली गर्न सूचना जारी गर्ने गरेको छ । सो आधारमा कतै डोजर चलाएर संरचना भत्काउने गरेको छ भने कतै केही नगरी चुपचाप बस्ने गरेको छ ।
धनगढी–४ को ठाकुर एग्रो इन्डष्ट्रीले नाला अतिक्रमण गरेको भन्दै डोजर चलायो तर, सो नालाको न त सुरुवात विन्दु खोल्यो न त अन्तिम विन्दुसम्म पु¥यायो । धनगढी–४ भगवती टोलमा अवस्थित ठाकुर एग्रोले सार्वजनिक नाला मिचेको प्रतिवेदन २०८० असोज ७ गते तयार भएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले नाला भन्दै ठाकुर एग्रोमा मंसिर १० गते डोजर लगाएको थियो । खोलानाला अतिक्रमण जुनसुकै अवस्थामा हटाउने बताउँदै आएको उपमहानगरपालिकाले न त पूर्णरूपमा खोला अतिक्रमण हटाउन सकेको छ न त यकिन तथ्यांक नै राख्न सकेको छ । उपमहानगरपालिका इन्जिनियर द्विजराज भट्टले उपमहानगरपालिकाका १९ वडाको खोलानालामा कति संरचना पर्छन् भन्ने अध्ययन भइरहेको बताए ।

डोजर चलाउन खटिएका कर्मचारीलाई कति संरचना सो नालाभित्र पर्छन् र कहिलेसम्म भत्काइसकिनेछ भन्ने जिज्ञासामा भन्छन्, ‘नापजाँच गरिसकेका छौँ । एकै दिन सबै संरचना खोल्न सकिन्छ भन्ने छैन । विस्तारै अतिक्रमित नाला खोलिनेछ ।’ तर, हालसम्म सो नालाका अन्य संरचना नहट्नुले उपमहानगरपालिकाले आफूलाई असहयोग गर्ने व्यक्तिलाई नाला र नक्सा पास नगरेको बहानामा भवनमाथि डोजर चलाउने मनसाय राखेको स्पष्ट देखिन्छ ।

पूर्णरूपमा अतिक्रमण हट्न नसकेको सुकुटी नालामा उपमहानगरपालिकाले अहिले पिल्लर गाड्ने काम गरिरहेको छ । तर, नाला अतिक्रमण गरेर निर्माण भएको एकीकृत समाजवादी पार्टीको भवन, आमाको माया छात्राबासलगायत नगरप्रमुख हमाल निकटका व्यक्तिहरूको संरचना नहटाई संरक्षण गर्ने कार्य भइरहेको स्थानीयहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार