कविता : मेरो चाहना



जन्म दिने बा आमालाई सधैँ पुज्ने गर्छु
परिवारको दुःख पिरलाई सधैँ बुझ्ने गर्छु
नौ नौ महिना कोखमा राखी संसार देखायौ
छोरीबाट आमा बनी यो धर्ती टेकायौ

सानो छँदा कोखिलामा च्यापेर निदायौ
आफू भोक भोकै बसी दस धारा बहायौ
जानीजानी कहिल्यै दुःख दिने छैन आमा
भगवान तिमी नै भई रक्षा गर्यौ बाबा

साहुको ऋण तिर्न बाबा विदेशिनु पर्यो
गरिब हुँदा कति कति हन्डर खानु पर्यो
एक्लै बच्चा हुर्काउन गाह्रो भो कि आमा
घरको स्थितिले छोड्न बाध्य भयौ बाबा

एक्लै कमाई बाबाले कसरी ऋण तिर्लान
कहिले होला पूरा इच्छा कहिले घर फिर्लान
अहिले म सानी नै छु पढी लेखी भोली
भर्न सक्ने बन्नु पर्छ रहरका झोली

छन् झोलामा बाआमाका सुन्दर सपना
घरको धुरी खाँबो बन्ने मेरो छ चाहना
पढ्छु बाबा पढ्छु आमा अघि अघि बढ्छु
भोली तिमीले देखेको उच्च शिखर चढ्छु

लेखक : देवीसरा विश्वकर्मा श्री प्रभात मावि जीगाउँ,बाँकेमा व्यवसाय संकायमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार