श्यामलाल पोखरेल,बुटवल :रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वनबाटिकामा निर्माणाधीन भ्यूटावर प्रयोगमा आएको छैन । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले बनाएको बहुउद्देश्यीय भ्यूटावर प्रयोगविहीन हुँदा सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
२०७४ सालको चैतमा निर्माण सुरु भएको भ्यूटावर २०७८ साल चैत १५ गते एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
शंकरनगर वन बिहार तथा वनबाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेण्यका अनुसार ओलीले उद्घाटन गर्दा भ्यूटावरको ९० प्रतिशत निर्माणको काम सकिएको थियो । ग्राउन्ड फ्लोरमा केही मात्रामा काम बाँकी हुँदाहुँदै उद्घाटन गरिएको थियो ।
तत्कालीन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आफूले भ्यूटावर बनाएको भन्ने पार्नका लागि जबर्जस्ती उद्घाटन गरे पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तिलोत्तमा नगरपालिकामा चुनाव जित्नका लागि पार्टी अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री ओलीलाई एमालेको योजनामा उद्घाटन गराइएको थियो ।
२०७९ सालको चुनाव आउन लागेको र स्थानीय तहका जनप्रतिनिधिहरूको समय अवधि सकिनै लागेका बेला हतारहतार उद्घाटन गराइएको भ्यूटावर प्रयोगविहीन हुँदा यसबारे चौतर्फी कुरा उठेका छन् ।१० तलाको बहुउद्देश्यीय भ्यूटावर निर्माणका लागि तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत लगानीमा भ्यूटावर निर्माण गरिएको उक्त भ्यूटावरका लागि शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रले १ करोड ५ लाख भुक्तानी दिइसकेको छ ।
उद्घाटन भएको झन्डै तीन वर्षसम्म हुनै लाग्दा पनि सञ्चालनमा नआएको उक्त भ्यूटावरमा लगाइएको रङरोगन उत्रिन थालेको छ ।
सञ्चालन नुहँदै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको भ्यूटावर अहिले अलपत्र अवस्थामा ठडिएको छ । कुल २५ हजार १ सय २२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको भ्यूटावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालयका संरचना छन् ।
भ्यूटावर सञ्चालन भएपछि मासिक ३ लाख ५० हजार आम्दानी हुने र उक्त मासिक आम्दानीबाट ६० प्रतिशत तिलोत्तमा नगरपालिका र ४० प्रतिशत शंकर नगर वन बिहार तथा अनुसन्धानको हुने गरी नगरपालिका र अनुसन्धान केन्द्रबीच आपसी सहमतिसमेत भइसकेको थियो ।
तर पूर्ण निर्माण कहिले सकिने र आम्दानी कहिलेबाट होला भन्ने विषय अनुमान पनि गर्न सकिने अवस्था छैन ।
वन बाटिकामा दैनिकजसो १ हजारको हाराहारीमा पर्यटक आउने गर्दछन् । ती पर्यटकले बाहिरै टिकटक बनाएर चित्त बुझाउनुपरेको छ ।
ठेकेदार टोपबहादुर रायमाझीले निर्माणको जिम्मा पाएका थिए । उक्त भ्यूटावर निर्माण गर्ने समयावधि पनि सकिएको छ । अहिले तिलोत्तमा नगरपालिकाले नयाँ ठेकेदारसँग अझै सम्झौता नगरेकाले भ्यूटावर निर्माणको बाँकी हरेको केही काम कहिले सकिन्छ भन्ने अझै टुंगो छैन भने सञ्चालनको विषय अझै अन्योलमा छ ।
तिलोत्तमा नगरपालिका–१ मा पर्ने शंकरनगर वन बिहार तथा वन बाटिका रुपन्देहीमा ठूलै पर्यटकीयस्थल मानिन्छ । जहाँ वनभोज, विवाह, अवलोकन भ्रमण, चिडियाखाना हेर्न आउनेको दैनिक भीड लाग्ने गर्दछ ।
वन बाटिकामा भ्यूटावर बन्न लाग्दा हामी उत्साहित भएका थियौँ । लामो समयसम्म सञ्चालनमा नआउँदा खल्लो लागेको छ,’ पर्यटन व्यवसायी लालबहादुर केसीले भने ।
पहिला पनि नगरपालिकाले कमजोरी गरेको र अहिले पनि नगरपालिकाले कमजोरी गर्दा भ्यूटावर समयमा सम्पन्न भएर सञ्चालनमा आउन नसकेको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसद शर्माले बताए । नगरपालिकाले आफूले पनि गर्न सक्दैन र हामीलाई पनि दिँदैन अध्यक्ष शर्माले भने ।
नगरपालिकालाई मासिक ३ लाख बढी आम्दानी हुने दाबी गर्ने पूर्वमेयर हालका संघीय सांसद एमालेका नोतासमेत रहेका वासुदेव घिमिरेले भ्यूटावर सञ्चालन हुन नसकेको विषयमा कुनै चासो देखाएका छैनन् ।
शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रमा चिटिक्क परेको अग्लो भ्यूटावर देखिन्छ । उक्त ठाउँमा पुग्दा जोकोहीलाई पनि एकपटक माथि चढेर हेर्ने लाग्छ, तर भ्यूटावरको तलपट्टि चापी लगाएको देख्दा अवलोकन गर्न पुगेका पर्यटक हिस्स पर्ने गरेका छन् ।
भ्यूटावरमा ठूलो लगानी गरेर सञ्चालन नहुँदा स्थानीयले तत्कालीनदेखि अहिलेको नगरपालिका र राजनीतिक नेतृत्वको आलोचना गर्न थालेका छन् । राज्यको लगानी लामो समयसम्म खेर गएकोमा नागरिक चिन्तित छन् ।
भ्यूटावरको पुरा काम सम्पन्न गर्नका लागि तिलोत्तमा नगरपालिकाले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी गरेको छ ।
तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले बाँकी निर्माणको कामलाई सम्पन्न गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र निर्माणकार्य सम्पन्न आगामी वैशाखभित्र सञ्चालन गर्ने बताए ।
भ्यूटावर प्रयोगमा नआउँदा जनगुनासो बढेको छ । यसको सञ्चालनमा किन ढिलाइ भएकोे छ ? के कारणले हुन सकेको छैन ? कसका कारणले रोकिएको छ ? भन्दै नागरिक तहबाट चौतर्फी आवाज उठेको छ । तर सुनुवाइ भने भएको छैन ।









प्रतिक्रिया दिनुहोस्