श्यामलाल पोखरेल,बुटवल : रुपन्देहीको तिलोत्तमा १ सिद्दार्थचोक निवासी दिनेश खनाल तत्कालीन माओवादी पार्टीको राजनीतिमा सक्रिय थिए । साबिक करहिया गाविसको वाइसिएल नेपालको इन्चार्ज थिए । २०५७ सालदेखि माओवादीको राजनीतिमा सक्रिय थिए । त्यस बेलाको समयमा माओवादी अझ त्यसमा वाइसिएल भनेपछि सबैले चिन्थे । उनको हाइटपनि वाइसिएलमा राम्रै थियो । इन्चार्ज जस्तो युवा नेताको बोलाबोल चल्थ्यो ।
घरमा पनि उनको खासै नराम्रो थिएन । घरवास थियो । खान लाउन समस्या थिएन । अन्नपातका लागि खेत थियो । उब्जनी पनि राम्रै हुन्थ्यो । राजनीतिदेखि घरपरिवार र समाजमा पनि राम्रै थियो । पार्टीका नेतादेखि कार्यकर्ता र गाउँघरका साथिभाईहरुसँग पनि दिनेशको सम्बन्ध राम्रै थियो । सबैको साथ सहयोग पाएकै थिए ।

सबैतिर राम्रै हुँदाहुँदै पनि एकदिन दिनेशलाई राजनीतिसँगै उत्पादनमा लाग्नु पर्ने र आर्थिक उपार्जन गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने अन्तरह्दयदेखि सोच पलायो । त्यसपछि उनी व्यवसायमा लाग्ने सोच बनाएर अघिबढे । त्यपछि राजनीतिबाट क्रमस टाढा हुँदै गएर व्यक्तिगत काममा लागेको उनी बताउँछन् ।
दिनेश खनालले व्यापार व्यवसाय गरेर पैसा कमाउने सोचमा त पुगे, तर उनीसँग व्यवसाय गर्ने पैसा भने थिएन । पैसा कमाउने र स्वदेश फर्केर व्यापार व्यवसाय गर्ने सोच बनाएर वाइसिएल नेपालको इन्चार्जबाट राजीनामा दिएर उनी २०६३ को अन्तिम अर्थात चैतमा साउदी अरबतिर लागे । विदेशमा कमाइ भने जस्तो नभएपछि एक वर्ष नहुँदै घर फर्कनु परेको उनले बताए ।
२०६४ सालमा घर फर्कदासाथ उनी कुखुरा पालनसँगै तरकारी उत्पादनमा लागेका थिए । तरकारी खेती र कुखुरा व्यवसायका लागि चाहिने जति पैसा उनीसँग थिएन । एकजनाबाट ५० हजार सापटी लिएर तथा अन्य ठाउँबाट व्यवस्था गरी कुखुरापालन सुरु गरेको उनले सुनाए । ३ वर्षसम्म तरकारी खेतीसँगै कुखुरा पालेर बजारमा बेचे । त्यसपछि कुखुरापालनबाट एक कदम फड्को मारेर उनी कुखुरा सप्लायर्सतिर लागे ।

जिउँदो ब्रोइलर कुखुरा बजारमा सप्लायर्स गर्नुका साथै काटेर होलसेलका रुपमा अहिले मासु बिक्री वितरण गरिरहेका छन् । अहिले उनले दैनिक १० क्विन्टल कुखुरा बजारमा सप्लायर्स गर्छन । उनले स्थानीय बजारदेखि पोखरा काठमान्डौँसम्म कुखुरा सप्लायर्स गर्छन ।२०६८ सालबाट व्यावसायिक रुपमा कुखुरापालन व्यवसाय गर्नुका साथै आफ्नै घरबाट होलसेल सप्लाईसमेत गरिरहेका छन् ।
कुखुरा व्यवसायसँगै उनले २०६८ सालमै बुटवलको दिपनगरमा फेसन गार्मेन्टसमेत सञ्चालनमा ल्याएका थिए । गार्मेन्टमा राम्रै हुँदै गएपनि कोरोना महामारीका कारण उक्त गार्मेन्ट बन्द गर्नुपर्ने बाध्यता आइलागेको उनी बताउँछन् । उनका लागि कोरोना महामारी बाधक बन्यो । तर कुखुरा सप्लायर्सको व्यवसाय भने फस्टाउँदै गयो ।
विभिन्न व्यवसायमा लगानी गर्नेक्रममा उनले बुटवलको कालिकानगरमा केएफएफसी रेस्टुरेन्टमा लगानी गरे । अहिले उक्त रेस्टुुरेन्ट पार्टनरसिपमा चलिरहेको छ । उनलाई रेस्टुरेन्टले पनि आम्दानी दिएको छ । कुखुरापालन व्यवसायमा रमाएका खनालले रुपन्देहीको धकधईमा रहेको कोल्डस्टोरमा पनि लगानी रहेको थियो । तर कोल्डस्टोरमा गरेको २७ लाखको लगानी डुबेको उनी बताउँछन् । उनी भन्छन्, ‘कोल्डस्टोरमा २७ लाख डुबेपनि कुखुरा व्यवसायले पार लगायो । २७ लाख डुबेको पीडालाई यो व्यवसायले भुलायो ।’
कुनै दिन ५० हजार जुटाउन नसकेर हम्मेहम्मे परेका खनाल अहिले करोडौँका मालिक बनिसकेका छन् । राजनीतिदेखि विदेशसम्मको हन्डर खाएका उनले अहिले डेढ करोड बढी लगानीमा कुखुरा सप्लायर्स चलाउँदै आएका छन् । कुखुरा सप्लायर्स सञ्चालन गरेर अहिले उनले आफ्नो परिवारबाहेक ११ जनालाई रोजगारीसमेत दिएका छन् ।

घरखर्च राम्रैसँग चलाएर दुई वटा गाडीसमेत जोडेका छन् । कुखुरा सप्लायर्सबाट मासिक एक लाख आम्दानी हुने गरेको उनको भनाइ छ । उनले तिलोत्तमा १ सिद्धार्थचोकमा रहेको आफ्नै घरमा ‘खनाल मासु पसल तथा सप्लायर्स’को व्यवसायबाट केही ठाउँमा जमिनसमेत जोडेका छन् । बिहानैको झिसमिसेदेखि रातीसम्म उनी यो व्यवसायमा कर्मचारीसहित आफैँ खटिन्छन् । उनी आफैँ मासुसमेत काट्ने गर्छन् ।
त्यसैगरी उनले साझेदारीमा केही वर्ष यतादेखि तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मद्रानीमा कुखुरा, हाँस र माछापालन गरेका छन् । डेढ बिघा जमिन
भाडामा लिएर उनले व्यावसायिक रुपमा कुखुरा, हाँस र माछापालन गर्ने दिर्घकालीन सोच बनाएको बताउँछन् । बजारको माग अनुसार हाँसपालनमा भविष्य देखेका उनले एक हजार हाँस पाल्ने गरी योजना बनाएका छन् । आफ्नो व्यवसायसँगै उक्त फर्मबाट निम्न आयश्रोत भएको चार जनाको परिवारलाई मासिक तलव दिएर रोजगारी दिएका छन् । उनका छोराछोरीलाई शिक्षा स्वास्थ्यलगायतमा सहयोग गरेका छन् ।
सुरुमा कुखुरा पाल्दा साथिभाईहरुको सहयोग र कुखुराका लागि खोर बनाउन करहिया सामुदायिक वनले केही काठ सहयोग गरेकाले मनोबल बढेको उनी सम्झन्छन् । व्यवसायसँगै सामाजिक सेवामा पनि रमाउने खनाल कुनैदिन जनसहभागितामा बास सहकारी गठन गरेर सयौँ मानिसलाई सहकारीमा आबद्ध गरेका थिए ।
हाल उनी तिलोत्तमा १ रुपन्देहीमा सञ्चालित विकल्प बहुउद्देश्य सहकारीका अध्यक्ष हुन् । कुनै समय एनजिओ, आइएनजीओमा काम गरेका उनी उद्योग व्यापार संगठन तिलोत्तमाका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष भएर काम गरेका थिए । तर अहिले भने कुनै पार्टीको सदस्य पनि नभएको उनी बताउँछन् ।
कुखुरापालनदेखि कुखुरा सप्लाईमा रमाउँदै सफलतामा उदाएका ४१ वर्षीय खनाल कुखुरा व्यवसायीका समस्याप्रति जानकार छन् ।
कुखुराको मासु खाने उपभोक्ताको कमी नभएपनि आर्थिक मन्दीका कारण बजार खस्कदै जाँदा र मुल्य तल माथि हँुदा व्यवसायी समस्यामा परेको उनले बताए । होटल व्यवसाय कमजोर हुँदा साना ब्रोइलर कुखुरा व्यवसायी विस्थापित भएको र मझौला र ठूला व्यवसायी धरासायी अवस्थामा पुगेको उनको बुझाइ छ । सानै उमेरदेखि व्यवसायमा संघर्ष गरेका खनाल अहिले रुपन्देहीमा सफल व्यवसायीको रुपमा परिचित छन् । उनी आफ्नो पेशा व्यवसायप्रति निष्ठावान छन् । उनको दिनचर्या नै बनेको छ कुखुरा सप्लाइको काम ।









प्रतिक्रिया दिनुहोस्