राजस्व चुहावटलाई रोक्न सरोकारवाला लाग्नुपर्नेमा जोड



नेपालगन्ज (बाँके) ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विभिन्न कारणबाट हुँदै आएको राजस्व चुहावटलाई निरुत्साहित पारी रोक्नका लागि सम्पूर्ण सरोकारवाला निकायहरू एक भएर लाग्नुपर्ने बताएका छन् ।

७३औँ अन्र्राष्ट्रिय भन्सार दिवसका अवसर पारेर नेपालगन्ज भन्सार कार्यालयले आइतबार नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रममा प्रजिअ रिजालले भने, ‘राजस्व संकलनको प्रमुख स्रोतका रूपमा भन्सार रहेको छ, विभिन्न कारणबाट राजस्व चुहावट हुँदै आएको गुनासाहरू आएका छन् ।’ उनले भने, ‘राजस्व चुहावटलाई निरुत्साहित पार्न र नियन्त्रणका लागि सम्पूर्ण सरोकारवाला निकायहरू एक भएर लाग्नुपर्छ ।’

बाँकेस्थित नेपाल–भारत ६५ किलोमिटर खुला सीमाका कारण पूर्णरूपमा राजस्व चुहावट रोक्नका लागि समस्या हुने गरेको भन्दै उनले भने, ‘भारत–नेपालको बाँकेसँग सिमाना जोडिएको ६५ किलोमिटर लामो खुला सीमा छ, भन्सार कार्यालय एउटा मात्र छ, तस्करी र राजस्व चुहावट रोक्नका लागि सशस्त्र प्रहरीले पनि प्रयास गरिरहेको छ ।’ उनले भने, ‘तर सशस्त्र प्रहरी र भन्सारको आँखा छलेर हुने गरेको राजस्व चुहावट प्रमुख चुनौतीका रूपमा रहेको छ, राजस्व चुहावट रोक्नका लागि सम्पूर्ण सरोकारवालाहरू लाग्नुपर्छ ।’

भन्सारबाट हुँदै आएको राजस्व संकलनको सुधार प्रमुख चुनौतीका रूपमा रहेको भन्दै उनले कर्मचारीले इमान्दारीताका साथ काम गर्नुपर्ने र सेवाग्राहीले पनि इमान्दारीताका साथ कर बुझाउनुपर्ने बताए । ‘भन्सार चुहावट नियन्त्रणका लागि दुई पक्षीय (भारत र नोपल भन्सार कार्यालय) पहल हुनु जरुरी छ, भारतीय भन्सारले कडाइ गरिरहेको छ, चुहावटलाई नियन्त्रण गर्नका लागि भारतीय पक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ ।’

भन्सार सुधारका लागि पद्यति बनाउनुपर्ने, कार्यान्वयन गर्ने निकायहरूको विश्वास पनि गर्नुपर्ने, गल्ती गर्ने र दुरुपयोग गर्नेलाई कडा कारबाही समेत गरेर पद्यतिको विकास गर्न जरुरी रहेको उनले बताए । सेवाग्राही, कर्मचारी तथा सरोकारवाला सबै निकाय देश र जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै उनले देशले आर्थिक रूपमा फड्को मार्न सके सबै नेपालीको आर्थिक उन्नती हुने बताए ।

प्रजिअ रिजालले भन्सार छली, चोरी, निकासी, तस्करी अपराध हो भन्ने कुरालाई समाजमा व्यापक रूपमा जनचेतना समेत जगाउनुपर्ने धारणा राखे । उनले कुनै कुनै समस्याहरू यहाँको लेवलबाट समाधान गर्न नसकिने भन्दै नीतिगत तहबाटै प्रयास गरिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा भारतीय कस्टमका डिपुटी कमिशनर नन्देश्वर सिंहले सामानहरू नेपाल–भारत आयात निर्यात हुँदा भारतीय पक्षबाट कहीँ पनि अप्ठ्यारो हुने गरी काम नगरेको बताए । उनले सीमा नाकामा हुने भन्सार चुहावटलाई नियन्त्रण गर्न आफ्नो पक्षबाट सधैँभरी सहयोग हुने बताए ।
‘नेपाल र भारतबीच सामानहरू आयात निर्यात हुँदा केही समस्याहरू देखिएका छन्, ती समस्याहरूलाई समाधान गर्नका लागि आउने महिना नेपालगन्ज भन्सार कार्यालयमै बैठक राख्दैछौँ, कार्यान्वयनमा देखिएका सानातिना समस्याहरूलाई मध्येनजर गर्दै समाधान गर्ने पहल गर्नेछौँ ।’ उनले भने, ‘नेपाल भारत दुवैतिरका बोर्डर क्षेत्रमा जति पनि एजेन्सीहरूले काम गरिरहेका छन्, सबै चनाखो र सतर्क हुनुपर्छ, कुनै समस्या आइपरेमा दुई देशका अधिकारी बसेर समाधान गर्ने प्रयास गर्नेछौँ ।’

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भन्सार सुधारका लागि कार्यालय हरदम लागिरहेको भन्दै सरोकारवाला सबै निकायहरूको सहयोगमा मात्र पूर्णरूपमा भन्सार सुधारका काम गर्न सकिने बताए । उनले भन्सारमा विभिन्न समस्याहरू आइरहने भन्दै ती समस्याको समाधानका लागि पहल गर्दै आर्थिक उन्नती र समृद्धिका लागि कार्यालय सदैव प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उत्कृष्ट कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार