खाना महोत्सवमा २ करोड ५० लाखको कारोबार



श्यामलाल पोखरेल । बुटवल ।

बुटवलमा आयोजना गरिएको खाना तथा माघे सङ्क्रान्ति मेलामा २ करोड ५० लाख रूपैयाँको आर्थिक कारोबार भएको छ ।

आयोजकले ३ करोड रूपैयाँको आर्थिक कारोबारको अपेक्षा गरे पनि २ करोड ५० लाख रूपैयाँको कारोबार भएको आयोजक संस्था होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका महासचिव अर्जुन थापाले जानकारी दिए ।

आयोजकले खाना महोत्सव तथा माघे सङ्क्रान्ति सकिएको केही दिनपछि आर्थिक कारोबारबारे जानकारी गराएको थियो । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म तीन दिनसम्म चलेको खाना महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा १ लाख ५० हजार दर्शकले अवलोकन गरेको बताइएको छ ।

‘नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परिकारहरू हाम्रो सान : सहरदेखि गाउँसम्म पर्यटन प्रर्वद्धन र विकासमा हाम्रो अभियान’ भन्ने नाराका साथ खाना तथा माघी मेला आयोजना गरिएको हो ।

नेपाली रैथाने खानाका परिकारहरूलाई प्राथमिकता दिएर विशेष गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले खाना तथा माघी मेला आयोजना गरिएको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए । तीन दिनसम्म चलेको उक्त महोत्सवमा खानाका परिकारका ७० वटा स्टल राखिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार