डीआईजीस्तरीय सुरक्षा बैठक सम्पन्न



शिवु खनाल । दाङ ।

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश अन्तरगत जिल्लाहरूमा अहिले देखिएको उग्र साम्प्रदायिकतत्व र सीमा अपधारलाई आपसी सहयोगमा रोक्नका लागि सशस्त्र प्रहरी बल नेपालको शुक्रवार नं. ५ बाहिनी मुख्यालय रुपन्देहीले पाल्पा जिल्लाको तिनाहु वडा नम्बर ३ मा लुम्बिनी केवलकार बुटवल हिलमा डीआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक आयोजना गरिएको थियो ।

बैठकमा नेपालका तर्फबाट नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिपकुमार पालले नेतृत्व गरेका थिए भने भारत तर्फबाट भारतीय समकक्षी सेक्टर हेड क्वाटर एसएसबी लखीमपुर खेरीका डीआईजी बी. विक्रमन तथा सेक्टर हेड क्वाटर गोरखपुरका डीआईजी मुन्ना सिंहले गरेका थिए ।

अहिले लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा देखिएका उग्र साम्प्रदायिकतत्वलाई नियन्त्रण गर्न, धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन र सीमा अपधार रोक्नको लागि दुवै पक्षले एक अर्कालाई सहयोग र सूचना आदानप्रदान गर्नका लागि सुरक्षा बैठकको आयोजना गरिएको नं. ५ बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिपकुमार पालले बताए ।

यसका साथै सुरक्षा बैठकमा नेपाली सवारी साधनहरूलाई सहज रूपमा भारतमा आवागमन गर्नका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, सीमाबाट बढ्दो लागूऔषध ओसारपसार नियन्त्रण गर्नका लागि विशेष सुरक्षा कारबाही संयुक्त रूपमा सञ्चालन गर्ने, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न, अवैध रूपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नका लागि सहकार्य गरेर अगाडी बढने सहमति भएको पालले बताए ।

बैठकमा नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीना लगायत बाहिनीमातहत् गणका गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डरहरूको समेत उपस्थिती रहेको थियो ।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरूको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरू संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण, सीमा अपराधहरू जस्तैः मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करीे नियन्त्रण, गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक लगाउने विषयमा छलफल भएको बताइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तरगत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद तथा विविध अभ्यासहरूलाई समेत निरन्तरता दिइने छलफल गरिएको छ ।

बैठकमा बरिष्ठ उपरीक्षक तिउसीनाले स्वागत मन्तव्य राख्नुका साथै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरू र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै यस किसिमका नियमित बैठकहरूको सञ्चालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरू तत्काल समाधान गर्न थप सहयोग पु¥याउने बताए ।

यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डीआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार