बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु



बाँके ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । आइतबार दिउँसो वडा नम्बर ६ को बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी एक महिलाको ज्यान गएको हो । बाघको आक्रमणबाट सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जंगलभित्र पु¥याएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीसहितको टोलीले बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै ७ सय मिटरभित्र गएर शव ल्याएको ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले जानकारी दिए । बाघले महिलाको टाउको र घाँटीमा आक्रमण गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको छ । डार्टलगायतका अन्य प्रविधिको प्रयोगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । बाघ आक्रमणको जोखिम कायमै रहेकाले स्थानीयलाई जंगलभित्र नजान आग्रह गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत साउनयता बर्दियामा हात्ती, गैँडा र पाटेबाघको आक्रमणमा परेर तीन जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए । मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि बर्दिया जिल्ला अस्पताल गुलरियामा पठाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार