
कोहलपुर ।
शनिबार कोहलपुरमा एउटा फरक शैलीको कार्यक्रमको अभ्यास गरियो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आफ्नो नयाँ कार्यक्रमलाई साँच्चैको नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास ग¥यो । मञ्चमा न कोही सभापति थियो, न प्रमुख अतिथि वा अतिथिहरू नै । न त्यहाँ कुनै लम्बेतान व्याख्यान नै भयो ।
आयोजकका तर्फबाट प्रतिष्ठानका सचिव केशव निमेषले कार्यक्रमका बारेमा छोटो जानकारी दिए र एक जोडीलाई मञ्चमा निम्त्याए ।
ती जोडीका बारेमा कवि नवीन अभिलाषीले पहिले नै तयार पारेको संक्षित चिनारी प्रोजेक्टरमार्फत प्रस्तुत गरियो र उनीहरूलाई आपसी कुराकानी सुरु गर्न माइक हस्तान्तरण गरियो । उनीहरूले कुराकानी सुरु गरे ।
हो, शनिबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले सुरु गरेको ‘सङ्घर्ष–सँगाती’ शीर्षकको नयाँ शृङ्खलामा यस्तै दृश्यहरू देखिएका थिए । प्रतिष्ठानले आफ्नै पूर्वअध्यक्ष महानन्द ढकाल र अर्की साहित्यकार सुमित्रा न्यौपानेलाई उनीहरूका सम्बन्ध र जीवन संघर्षका कथा सुनाउने हिसाबले फरक तरिकाले मञ्चमा प्रस्तुत गरेको थियो ।
कुराकानीका लागि विषय छनोट गरिएको थियो,– सम्बन्ध, साहित्य, शिक्षण र सक्रियताको सिलसिला… । दाम्पत्य जीवनका आरोहअवरोह, जीवन संघर्ष, आपसी सम्बन्ध र उनीहरूले संघर्ष गरिरहेका क्षेत्रका अधिनमा रहेर कुराकानीको सीमा तोकिएको थियो । यही सीमाभित्र रहेर उनीहरू कुराकानी गर्न थाले । शिक्षा र साहित्य क्षेत्रका कतिपय अग्रज व्यक्तित्वहरू पनि दर्शकदीर्घामा बसेर उनीहरूलाई सुनिरहे ।
शिक्षण र साहित्य क्षेत्रका लामो समयदेखि आबद्ध दम्पतीसमेत रहेका दुई पात्रले कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आफ्ना संघर्षका कथा र शिक्षण तथा साहित्य क्षेत्रका अनुभव–अनुभूति सुनाएका थिए । नयाँ फम्र्याटमा राखिएको कार्यक्रममा दुवैले पहिलो भेटघाट, विवाह, त्यसपछिको प्रेम, संघर्ष र साहित्य र शिक्षणमा गरिएका सहकार्यका बारेमा आ–आफ्ना अनुभव सुनाएका थिए ।
मञ्चमा दुई जनालाई अनौपचारिक संवादका लागि छाडिदिएर अन्य दर्शकश्रोताले फ्लोरबाट उनीहरूलाई सुनिरहे । उनीहरूका कुराकानीमा न कोही प्रश्नकर्ता थियो न कसैले सहजीकरण नै गरेको थियो । दुई दम्पतीले आपसमै अन्तरंग कुराकानी गरेका थिए । उनीहरूका कुराले कुनै बेला फ्लोरमा रहेका दर्शक श्रोता भावुक बन्थे भने कुनै बेला हाँस्दै ताली पड्काउँथे । महानन्दले स्याङ्जाको विकट पहाडी क्षेत्रबाट बसाइ आउँदाको प्रसंग निकाले ।
‘म सानै छँदा पहाडबाट बुबाको हात समातेर तराई झरेँ,’ महानन्दले ती दिन सम्झिँदै भने, ‘तराई झरेपछि बुबा उत्तरतिर लाग्नुभयो म दक्षिणतिर लागेँ । त्यसपछि आजसम्म बुबासँग कहिल्यै भेट भएको छैन ।’ आफ्ना बुबासँगको बिछोडको प्रसंग आएपछि महानन्द ढकाल भावुक बनेका थिए । उनी अगाडि बोल्नै सकेनन् । माइक सुमित्रातिर तेस्याउँदै उनी रसाएका आँखा पुछ्न थाले । दर्शकदीर्घामा पनि एक खालको सन्नाटा छायो ।
यही भावुक सन्नाटालाई अनुभूत गरेर नै सायद सुमित्राले विवाहअघिको प्रेम प्रसंगको कुरा झिकिन् । महानन्दले आफ्ना गजलमा बारम्बार प्रस्तुत गर्ने गरिएकी पात्र ‘सरु’का बारेमा जिज्ञासा राखिन् । सुमित्राको प्रश्नमा दर्शकदीर्घाबाट पनि सहमतिस्वरूप तालीका पर्रा छुटे । त्यसपछि महानन्दले मुस्कुराउँदै स्पष्टीकरण शैलीमा आफ्नो पुरानो विगत सुनाएका थिए । ‘मैले एक जना सुन्दर आँखा भएकी वास्तविक युवतीलाई नै ‘सरु’ बनाएको थिएँ,’ उनले भने, ‘तर ती मेरो वास्तविकताभन्दा निकै भिन्न रहिछन् । त्यसैले उनी मेरो वास्तविक सरु बन्न सकिनन्, मात्र कल्पनामा सीमित भइन् ।’
करिब १ घन्टा दुवै जनाले अनौपचारिक तवरले आफ्ना विगत, संघर्ष, शिक्षण, साहित्य आदिबारे कुरा गरे । उनीहरूले दाम्पत्य जीवनका सुख दुःखका पोया फुकाउने प्रयास गरेका थिए । ठट्यौली, घोचपेच र प्रेम प्रसंगका रमाइला घटनाहरूको स्मरण गर्दै उनीहरूले दर्शक श्रोतालाई पनि मन्त्रमुग्ध पार्ने प्रयास गरिरहे । उनीहरूका कुरा सकिएपछि दर्शकदीर्घाबाट आएका केही जिज्ञासालाई पनि उनीहरूले समाधान गर्ने प्रयास गरे । करिब दुई घन्टासम्म चलेको कार्यक्रममा दर्शक श्रोता अविचलित भएर उनीहरूलाई सुनिरहे ।
सहभागी संख्या र प्राविधिक कारणले कार्यक्रम केही फितलो महसुस गरिए पनि समग्रमा यस क्षेत्रमै यसखालको पहिलो कार्यक्रम भएको कतिपय सहभागीहरूको भनाइ थियो । साहित्यकार सागर गैरेले घन्टौँसम्म लम्बेतान भाषण गरेर दर्शक श्रोतालाई बोर हुने खालका कार्यक्रम गर्नुभन्दा यस्ता कार्यक्रमले दर्शकश्रोतालाई सन्देश पनि दिने र मनोरञ्जन पनि हुने बताए । ‘कार्यक्रम अत्यन्तै सफल भएको छ,’ साहित्यकार गैरेले भने, ‘कार्यक्रमका दौरान भएका सामान्य त्रुटिहरू सच्याउँदै जान सकिन्छ ।’ अब हरेक कार्यक्रमलाई नयाँ तरिकाबाट प्रभावकारी हुने गरी आयोजना गर्नुपर्ने उनले बताए ।
‘कार्यक्रम अत्यन्तै राम्रो भएको छ,’ बागेश्वरी क्याम्पसका अध्यापक तथा साहित्यकार खोपीराम वलीले भने, ‘हाम्रा अग्रजहरूका संघर्ष र जीवन अनुभव सुनेर हामीले पनि धेरै कुरा सिक्न पाएका छौँ । उहाँहरूको संघर्ष अनुकरणीय छ ।’ प्रतिष्ठानमार्फत केही नयाँ काम गर्ने उद्देश्यले सङ्घर्ष–सँगाती र क्याफे कविता जस्ता नयाँ कार्यक्रम अगाडि सारिएको प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले जानकारी दिए ।
‘हामीले केही नयाँ कार्यक्रम फरक तरिकाले आयोजना गर्ने जमर्को गरेका हौँ,’ अध्यक्ष रिजालले भने, ‘पहिलो कार्यक्रम भएकाले अझै सोचेजस्तो राम्रो गर्न सकिएन । भविष्यमा सुधार गर्दै जाने हो ।’ कार्यक्रमलाई निर्धारित समयमै सुरु र अन्त्य गर्ने कुरालाई पनि आफूहरूले प्राथमिकतामा राखेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्