कोहलपुर।
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगरविकास समितिको कोहलपुर ३ (ख)अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास)मा अतिक्रमण गरी बनाइएका १४८ घरटहरा भत्काइएको छ । बाँकेको कोहलपुर नगरपालिकाले वैशाख २६ र २७ गतेगरी कूल ७५१ मध्ये जम्मा १४८ घरटहरा भत्काइएको हो ।
पहिलो दिन ४० वटा घरटहरा भत्काइएको थियो । दोस्रो दिन १०८ घरटहरा भत्काइएको कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाले बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले सूचना जारी गरेपछि त्यहाँका नागरिकले आफैँ बस्ती छोड्न सुरु गरिसकेका थिए । शनिबारदेखि दुई वटा डोजरमार्फत अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको उनको भनाइ छ ।
थापाले भने, ‘नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम दिएर अतिक्रमित क्षेत्रबाट नागरिकहरूलाई आफैँ हट्न अनुरोध गरेको थियो, अनुरोधअनुसार त्यहाँबाट नागरिकहरू सर्ने क्रम जारी छ । सरसामान लगेर खाली गराइएका घरटहराहरूमा डोजर चलाएका हौँ, सामान निकाल्ने क्रम जारी छ, त्यहाँका नागरिकहरूले सौहार्द वातावरणमा आफैँ घरटहरा छोडेर सामान लगिरहनुभएको छ, अलि अलि बाँकी रहेका सामान अझै पनि लैजाने क्रम जारी छ, खाली भएका संरचना भत्याउने क्रम जारी छ ।’
नगरपालिकाले डोजर चलाउनुका साथसाथै उक्त स्थानका नागरिकहरूका लागि अस्थायी बसोबासका लागि होल्डिङ सेन्टरको समेत व्यवस्थापन गरेको जनाएको छ । शनिबार नगरपालिकाको सम्पर्कमा ७३ घर वास्तविक भूमिहीन सुकुम्वासीहरू आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइए पनि आइतबार उक्त सङ्ख्या घटेको छ ।
‘होल्डिङ सेन्टरमा बस्ने भनेर शनिबार ७३ घरपरिवारले फाराम भर्नुभएको थियो, शनिबार उहाँहरू बस्नु भयो, आइतबार उक्त सङ्ख्या घटेको छ, सायद कोही आफन्तकोमा जानु भयो होला, कोही कोठा खोजेर बस्नुभयो होला । ५४ घरिपरिवारका २०८ जना नागरिक होल्डिङ सेन्टरमा हुनुहुन्छ,’ उनले भने ।
उनले सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरि बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया पनि नगरपालिकाले अगाडि बढाएको बताए । उनका अनुसार गत वर्ष उक्त स्थानका ७ सय ५१ घरपरिवारले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले फाराम भरे पनि हाल पहिचान गर्दा भूमिहीन दलित १०९ घरपरिवार र भूमिहीन सुकुम्वासी ७४ घरपरिवार मात्रले फाराम भरेका छन् ।









प्रतिक्रिया दिनुहोस्