बाँकेमै बन्ने भयो सिद्धकुमाख मन्दिर



नेपालगन्ज ।

प्रसिद्ध धार्मिकस्थल सिद्धकुमाखका श्रद्धालुहरूका लागि बाँकेमै मन्दिर स्थापना गरिने भएको छ । सल्यानको कुमाख लेकमा रहेको प्रसिद्ध धार्मिकस्थलका श्रद्धालुहरूका लागि सल्यानबाट बसाइँ सरी आएकाहरूले सामूहिक लगानीमा राप्ती सोनारी गाउँपालिका–४ प्रसोनामा मन्दिर निर्माण गर्न थालेका हुन् ।

२० वर्षदेखि सिद्धकुमारी मन्दिरको नाममा चिनिँदै आएको र दसैँ पूर्णिमामा विशेष मेला लाग्ने गरेको स्थानमा सिद्धकुमाख मन्दिर निर्माण गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्दले जानकारी दिएका छन् । अहिले मन्दिर परिसरमा जमिन सम्याउने र तारबार गर्ने काम भइरहेको उनले जानकारी दिए ।

सिद्धकुमाख बाबाको पूजा गरिने सल्यानस्थित धार्मिकस्थल सल्यान मात्रै नभई जाजरकोट, रूकुम लगायतका जिल्लाका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । पहाडी क्षेत्रबाट बसाइँ सरेर बाँके आएका समुदायलाई आफ्नो धार्मिक संस्कारसँग जोडिराख्न मन्दिर स्थापना गर्न लागिएको स्थानीयहरू बताउँछन् ।

सल्यानको कालीमाटीबाट बसाइँ सरी आएका केशलाल केसी आफ्ना पुर्खाले सिद्धकुमाख बाबालाई गाईको दूध चढाएर पूजा गर्ने परम्परा निभाउँदै आएका थिए । अब बाँकेमै मन्दिर निर्माण भएपछि वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहज हुने उनले बताए ।

राप्ती सोनारीका स्थानीयवासीहरूले सल्यान क्षेत्रमा प्रचलित सोरठी नाचको पनि संरक्षण गर्दै आएको र अब मन्दिर निर्माणसँगै अरु संस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने बताए । करिब दुई बिघा चार कट्ठा क्षेत्रफलमा रहेको उक्त स्थानमा राप्ती सोनारी, कोहलपुर, खजुरा लगायतका स्थानीय तह र स्थानीयवासीको सहयोगमा मन्दिर निर्माणको काम अघि बढाइएको जानकारी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार