एन्जल्स स्कुल नेपालगन्ज प्रथम, जय बागेश्वरी स्कुल द्धितीय, जेएस युनाइटेड तृतीय तथा सगरमाथा बोर्डिङ स्कुल, नेपाल एजुकेसनल एकेडेमी र गोर्खा युनाइटेडले सान्त्वना स्थान हासिल गरेका थिए ।
समीर अलि बेहना । नेपालगन्ज ।
शुक्रबार नेपालगन्जमा सम्पन्न तेस्रो प्याब्सन अन्तर विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा एन्जल्स स्कुल नेपालगन्ज प्रथम भएको छ । बाँके जिल्ला भरका २१ वटा विद्यालयहरूमध्ये एन्जल्स स्कुलले लोकनृत्यमा प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा तिलहरी धोती, छड्के तिलहरी, भुमे, कौडा, झाँक्री, माझी, कौरा, साकेला जस्ता लोकनृत्यहरू प्रस्तुत गरिएको थियो ।
नेपाल नृत्य महासंघ उपाध्यक्ष भावना कार्की, कैलाली नृत्य संघ अध्यक्ष सुरज शाह र दाङ नृत्य संघ अध्यक्ष हेमन्त पाण्डे निर्णायक रहेको प्रतियोगितामा तीन वटा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई छनौट गरिएको थियो । जसमा सबैभन्दा बढी दुई सय ३९ अंक ल्याउँदै एन्जल्स स्कुललाई प्याब्सनले प्रथम पुरस्कारबाट पुरस्कृत गरेको हो ।
त्यस्तै प्रतिद्वन्द्वी जय बागेश्वरी स्कुल दुई सय ३३ अंकसहित द्धितीय र जेएस युनाइटेडले दुई सय ३० अंकसहित तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै सगरमाथा बोर्डिङ स्कुल, नेपाल एजुकेसनल एकेडेमी र गोर्खा युनाइटेडले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम पुरस्कार राशी ५० हजार, द्धितीय २५ हजार र तृतीय १५ हजार र सान्त्वना जनही पाँच हजार पाँच सय रुपैयाँ रहेको थियो ।
नृत्य महासंघ उपाध्यक्ष भावना कार्कीले प्याब्सनले आयोजना गर्ने लोकनृत्य प्रतियोगिताले हराउँदै गएको लोक नृत्यलाई पुनः जीवन प्रदान गर्ने आशा व्यक्त गरिन् । प्याब्सन नेपालले हरेक वर्ष आयोजना गर्ने लोकनृत्य प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता हुने गरेको प्याब्सन नेपालका बाँके जिल्ला अध्यक्ष यम रावतले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्