वीरेन्द्र जैसी । नेपालगन्ज ।
कैलालीको धनगढी उपमहानगरपालिकामा १४ जना कृषकहरूले सामूहिकरूपमा ९१ कठ्ठा जमिनमा फूल खेती गरेका छन् ।
यसबाहेक थप ५ जनाले पनि ४५ कठ्ठा जमिनका फूल खेती गरेको धनगढी उपमहानगरपालिकाका कृषि विकास अधिकृत लोकराज उपाध्यायले जानकारी दिए । यसवर्ष मात्रै १ सय ३० क्विन्टल फूल उत्पादन हुने र तिहारको सिजनमा मात्रै १ सय ६ क्विन्टलभन्दा बढी फूल तयार भएको उपाध्यायको भनाइ छ ।
दाङको घोराही उपमहानगरपालिका– १४ झिँगौराका लोकेन्द्र रोकामगरले पनि डेढ बिघा जमिनमा फूल खेती गर्दै आएका छन् । यसवर्ष ५० क्विन्टल फूल उत्पादन भएको उनले बताए । उनका अनुसार दाङ जिल्लामा करिब डेढ दर्जन कृषकहरूले फूल खेती गरिरहेका छन् । बाँके जिल्लामा पनि करिब आधा दर्जन कृषक एवं नर्सरीहरूले फूल उत्पादन गर्दै आएका छन् । यस क्षेत्रमा मुख्यतया सयपत्री फूलको खेती हुँदै आएको छ ।
फूल उत्पादनका हिसाबले ल्ुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको पुष्प कृषक एवम् बिक्रेताहरू बताउँछन् । कर्णाली प्रदेशमा उल्लेख्य मात्रामा फूल खेती नभए पनि केही कृषकहरू खेती गरिरहेको नेपालगन्जकी पुष्प कृषक एवम् बिक्रेता बिन्दु चर्तीमगर बताउँछिन् । उनका अनुसार यसवर्षको तिहार सिजनमा बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन । बरु फूलहरू बिक्री हुन्छन् कि हुन्नन् भन्नेमा किसानहरू चिन्तित रहेको पाइएको उनले बताइन् ।
घोराहीका कृषक रोकामगरका अनुसार यसअघिका वर्षमा सबै फूलहरू दाङमै खपत हुने गरेको थियो । यसवर्ष पनि हालसम्म फूलका लागि अर्डर नआएकोले अन्य जिल्लामा फूल पठाउने नपठाउनेमा अन्योल रहेको उनले बताए । अर्काेतिर फूललाई टाढा पठाउँदा ढुवानीकै क्रममा फूलहरू बिग्रने अवस्था आउने गरेको पाल्पा रामपुरका दिलहादुर थापामगरले बताए । त्यही भएर अहिले एक दिनभन्दा बढी समय लाग्ने ठाउँसम्म फूल नपठाउने सोचाइमा रहेको आफू रहेको उनी बताउँछन् ।
फूल खेतीमा लागेका किसानहरू उत्पादनका हिसाबले आफूहरू उत्साहित रहेको बताउँछन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी कृषक सुशीला विष्टले दुई बिघा जग्गामा व्यावसायिक फूल खेती गरेकी छन् । उनले फूल खेतीमै ६ जनालाई रोजगारी पनि दिएकी छन् । तिहारको सिजनमै २० क्विन्टल भन्दा बढी सयपत्री फूल उत्पादन हुने उनले बताइन् ।
पाल्पाका कृषक थापामगरले पनि ४ रोपनी जमिनमा फूल खेती गर्दै आएका छन् । यसवर्ष पनि फूलको उत्पादन राम्रो भएको उनले बताए । बरु विगतका वर्षमा फूल फूल्ने सिजन र तिहारको समय नमिलेपछि अप्ठ्यारो परेकोमा यसवर्ष त्यस्तो अवस्था पनि नरहेको उनले जानकारी दिए ।
बाँकेकी अगुवा कृषक चर्तीमगरले फूल उत्पादनका हिसाबले तिहारमा पर्याप्त हुने देखेर यसवर्ष आफूले मंसिरपछिको विवाहको सिजनलाई केन्द्रित गरेर फूल खेती गरिरहेको बताइन् । पुष्प खेतीमा लागेका कृषकहरूलाई सम्बन्धित स्थानीय तहहरूले प्रोत्साहनको काम नगरेको कृषकहरू बताउँछन् । कृषक चर्तीमगरले नेपालगन्ज उपमहानगरपालिकाले प्लास्टिकका मालामा प्रतिबन्ध लगाउनेसम्मको सहयोग पनि नगरेको दुःखेसो पोखिन् ।
पाल्पा र दाङका कृषकहरू पनि लागत र बजारीकरणमा स्थानीय सरकारको सहयोगको अपेक्षा रहे पनि नपाइएको बताउँछन् । स्थानीय सरकारको सहयोग नहुँदा लागत धेरै पर्ने र भारतबाट आयात हुने फूलसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था रहेको उनीहरू बताउँछन् ।
प्लास्टिकका माला चुनौति
तिहार सुरु भएसँगै बजारमा प्लाष्टिकका मालाहरूको प्रदर्शन सुरु भइसकेको छ । त्यस्ता मालाहरूले वातावरणसँगै पुष्प कृषकहरूलाई समेत प्रत्यक्ष प्रभाव पारिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर काठमाडौँ महानगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएका छन् ।
यसले त्यस क्षेत्रका कृषकहरू खुसी छन् । तर, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले भने त्यस्तो कुनै निर्णय गरेको छैन । यद्धपि उपमहानगरमा प्लास्टिक प्रतिबन्ध गर्ने उपमहनगरपालिकाको नीति अक्षरमै सीमित छ । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल यस विषयमा हालसम्म कुनै निर्णय नभएको र आगामी कार्यपालिका बैठकमा प्रस्ताव आउनसक्ने बताउँछन् ।
पुष्प कृषक एवम् बिक्रेता बिन्दु चर्तीमगर नेपालगन्ज उपमहानगरपालिकाले प्लास्टिकका मालामा तत्काल प्रतिबन्ध लगाउनु आवश्यक रहेको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो मौलिक संस्कृतिमा फूलको माला लगाउने चलन छ, प्लास्टिकको होइन । यस हिसाबले नै प्लास्टिकका मालाहरू बजारभरि देखिनु आफैँमा लज्जाजनक हो ।
अर्काेतिर यसले वातावरणलाई पार्ने प्रभावलाई समेत ख्याल राखेर उपमहानगरपालिकाले तत्काल प्रतिबन्ध लगाउनुपर्छ ।’ अर्काेतिर भारतबाट फूलको आयात नै रोकिदिएमा यहाँका किसानलाई राहत मिल्ने चर्तीमगरको भनाइ छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले अहिले फूल आयात गर्न दिने अनुमति नभएकाले फूलको आयात नभइरहेको जानकारी दिए ।
प्लास्टिकका मालामा प्रतिबन्ध लगाएका पालिकाहरूले सूचना जारी गर्नुबाहेक त्यसलाई कार्यान्वयन गर्नतिर भने लागेका छैनन् । प्लास्टिकका मालामा प्रतिबन्धको निर्णय राम्रोसँग कार्यान्वयन नहुँदा कोहलपुर, धनगढीलगायतका बजारमा प्लास्टिकका माला निर्बाध रूपमा बिक्रीवितरण भइरहेका छन् ।
धनगढीको उदाहरणीय काम
कैलालीको धनगढी उपमहानगरपालिकाले पुष्प खेतीमा संलग्न कृषकहरूका लागि उदाहरणीय काम गरिरहेको छ । उपमहानगरले सुरुमा इच्छुक कृषकहरूलाई दुई चरणको तालिम दिएर पुष्प खेतीमा प्रोत्साहित गरेको थियो ।
त्यसपछि समूह बनाएर खेतीमा आवश्यक प्राविधिक सहयोग र साधनमा अनुदान दिँदै आएको उपमहानगरपालिकाका कृषि विकास अधिकृत लोकराज उपाध्यायले जानकारी दिए ।
यससँगै उपमहानगरपालिकाले फूललाई सुरक्षित तरिकाले भण्डारण गरेर राख्नका लागि कोल्ड च्याम्बर नै बनाइदिएको छ । स्थानीय कृषक समूहले उक्त च्याम्बरको बिजुलीको बील पनि तिर्नुपर्दैन ।
धनगढीमा उत्पादन भएको फूलहरू काठमाडौँसम्म पठाउने गरिएको छ । फूलहरू हवाईमार्गबाट पठाउने गरिएको छ । त्यसमा पनि हवाई भाडालाई प्रतिकिलो ९५ रुपैयाँमा झार्न एयरलाइन्ससँग समन्वय गरेर त्यसमध्येको पनि ५० रुपैयाँ भाडा उपमहानगरपालिकाले नै तिरिदिने गरेको कृषि विकास अधिकृत उपाध्यायले बताए । अनि उपमहानगरमा प्लास्टिकका मालाहरू बेच्न प्रतिबन्ध पनि लगाइएको छ ।
उपमहानगरपालिकाको साथले आफूहरूलाई हौसला मिलेको कृषक सुशीला विष्ट बताउँछिन् । उनले उपमहानगरको तालिम लिएर नै आफू व्यवसायिक कृषिमा लागेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्