बाँकेमा १० लाख बढी कण्डम निःशुल्क वितरण



बाँके ।

स्वास्थ्य कार्यालय बाँकेले गत आर्थिक वर्षमा जिल्लाभर १० लाख बढी कण्डम निःशुल्क रूपमा वितरण गरेको छ ।

गत आव २०८०/०८१ मा निःशुल्क रूपमा १० लाख ६ हजार ६२९ वटा कण्डम वितरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहले जानकारी दिए । उनका अनुसार कार्यालयले जिल्लामा रहेका स्वास्थ्य चौकी र विभिन्न सामाजिक संघ संस्थामार्फत निःशुल्क कण्डम वितरण गर्दै आएको हो ।

निजी स्वास्थ्य संस्थाबाट समेत कण्डमको किनेर प्रयोग गर्ने गरिएकाले त्यसको सङ्ख्या उल्लेख नभएको फोकल पर्सन साहले बताए । उनका अनुसार चालु आवको साउन महिनामा मात्रै कार्यालयले १७ हजार २३५ वटा कण्डम जिल्लाभर निःशुल्क रूपमा वितरण गरिसकेको छ । भदौ र असोज महिनामा वितरण गरिएको कण्डमको सङ्ख्या भने रुजु गर्ने काम भइरहेको उनले बताए ।

यस्तै शनिबार बाँकेसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय कण्डम दिवस मनाइएको छ । कण्डम दिवसको नारा ‘कण्डमको सहि प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भ, सबैबाट सुरक्षा’ भन्ने तय गरिएको थियो ।

दिवस नेपालमा कोजाग्रत पूर्णिमा पछिको पहिलो शनिबार मनाइँदै आइएको छ । यो ३०औँ राष्ट्रिय कण्डम दिवस हो । यौनरोग, प्रजनन् स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघ संस्थाले गाउँ तथा सहरहरूमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएका थिए ।

नेपालगन्जमा आयोजित कार्यक्रममा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी दिने काम गरिएको थियो ।

दिवसको अवसरमा यसको जानकारी दिन तथा वितरण गर्न नेपालगन्जको त्रिभुवन चोकमा स्टल नै राखिएको थियो ।

कण्डम स्टल राखेर यसको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी दिनुका साथै निःशुल्क वितरण गरिएको परिवार नियोजन संघ बाँकेका प्रमुख रश्मी श्रेष्ठले बताइन् । दिवसको अवसरमा निःशुल्क रूपमा एचआइभी जाँच समेत गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार