कमल डाँगी । नेपालगन्ज ।
दैनिक उपभोग्य सामान भारतीय सीमावर्ती बजार रुपैडियामा किनमेल गर्ने नेपालगन्ज–१, धम्बोझीकी निर्मला विष्टले बुधबार एकलइनीबाट खाद्यान्न खरिद गरिन् । चामल, दाललगायत दैनिक उपभोग्य वस्तुमा उनले पाँच हजार रुपैयाँ खर्च गरिन् । उनीसँगै एकलइनी पुगेकी पार्वती सिंहले पनि तीन हजार रुपैयाँ बराबरको घरायशी सामान खरिद गरिन् । उनी पनि महिनामा दुईपटक किनमेलका लागि भारतीय बजार रुपैडियासम्म पुग्थिन् ।
तर, साता दिनदेखि उनीहरुले नेपालगन्जमै किनमेल गर्छन् । कारण, ‘सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार कर लगाउनु ।’ सरकारले लगाएको भन्सार करले स्वदेशी बजारमा सकारात्मक प्रभाव देखाएको हो । यतिबेला नेपालगन्ज, कोहलपुरमा चहलपहल बढेको छ । अझ बढी नेपालगन्जमा यसको प्रभाव देखिन्छ ।
कोभिड–१९ (कोरोना भाइरस), पछिल्लोपटकको आर्थिक मन्दीका कारण सुस्ताएको व्यापारलाई यसले राहत दिने अनुमान गरिएको छ । दीर्घकालीनरुपमा भारतीय बजारबाट ल्याउने सामानमा कडाइ गरे नेपाली बजार फस्टाउने व्यापारीहरुको भनाइ छ ।
‘महिनामा १५/२० हजार रुपैयाँ बराबरको सामान रुपैडियाबाट ल्याउने गरेको थिएँ,’ निर्मलाले भनिन्, ‘उता (रुपैडिया) बाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले यतैबाट सामान किन्ने गरेको छुँ ।’ पहिला सहज हुँदा रुपैडिया जानेको गरेको भन्दै उनले भनिन्, ‘अहिले सय रुपैयाँभन्दा बढीमा भन्सार कर लगाउँदा र ठाउँठाउँको चेकिङको झन्झटले यतै सामान किन्छुँ ।’ उनीहरु जस्तै अहिले धेरै उपभोक्ताले स्वदेशी पसल धाउन थालेका छन् । यसले नेपाली व्यापार उकालोतर्फ लागेको व्यवसायी बताउँछन् ।
नेपालगन्ज भन्सार कार्यालयले एक सय रुपैयाँ मूल्यभन्दा बढीको जुनसुकै सामान भिœयाउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने कानुनी व्यवस्थालाई कडाइसमेत गरेको छ । उक्त नियम कार्यान्वयनमा कडाइ गरेपछि बाँकेलगायत छिमेकी जिल्ला बर्दिया, सुर्खेतसम्मबाट किनमेलका लागि रुपैडिया पुग्न सर्वसाधारण हच्किएका छन् ।
नेपालगन्ज र कोहलपुरका व्यवसायीहरुले एक सयभन्दा माथिको मूल्यका सामान भन्सार लगाउनेसम्बन्धी नियमलाई कडाइका साथ कार्यान्वयन गर्दा स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको महसुस गरेका छन् । तर उनीहरुले त्यही बहानामा तस्करी मौलाउने अवस्था आए भन्सारको कडाइले कुनै अर्थ नराख्ने भन्दै सरोकारवाला निकायलाई सचेत बनाएका छन् ।
‘सय रुपैयाँभन्दा माथिको सामग्रीमा भन्सार महसुल लाग्ने नियमलाई कडाइका साथ लागु गर्नेसम्बन्धी नेपालगन्ज भन्सार कार्यालयले प्रकाशन गरेको सूचनाको नेपालगन्ज उद्योग वाणिज्य संघ स्वागत गर्दछ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्, ‘खुला सिमानाको मौकाको फाइदा उठाउँदै दैनिकरुपमा बिनाभन्सार सामान आयात गर्न दिँदा एकातिर राज्यलाई राजस्व घाटा व्यहोर्न परिरहेको थियो भने अर्कोतर्फ नेपालगन्जको स्वदेशी बजार फस्टाउन सकिरहेको थिएन ।’
नेपालगन्ज उद्योग वाणिज्य संघले विगतदेखि नै भन्सारको नियमन गरी थोरै सामानका नाममा दैनिक बिनाभन्सार लाखाँैको सामान भित्रिने कार्यलाई रोक्न माग गर्दै आइरहेको थियो । कानुनबमोजिम नै सयभन्दा माथिको सामग्री आयात गर्दा भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन भए मात्र राज्यलाई राजस्व र स्वदेशी बजार प्रवद्र्धन हुने आशा र अपेक्षा गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल बताउँछन् । उनी भन्छन्, ‘यो व्यवस्थालाई कडाइका साथ लागु गर्न नेपालगन्ज भन्सार कार्यालयलाई अनुरोध गर्दछुँ र पूर्णरुपमा साथ, समर्थन हुने जानकारी गराउँदछौं ।’
भन्सारको कडाइले स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जका महासचिव टोपेन्द्र थापा बताउँछन् । ‘केही दिनमात्रै भएका कारण अपेक्षा गरेअनुसारको प्रभाव परेको छैन तर चहलपहल भएकै छ । सर्वसाधारणहरु अनावश्यक झन्झट हुन्छ भनेर रुपैडिया जाने कष्ट नगरिरहेको भेटिएको छ,’ उनले भने ।
तयारी कपडा ब्याग, जुत्ता, चप्पल खुद्रा व्यवसायी संघका संस्थापक अध्यक्ष भीम रानाभाटले नाकामा कडाइ गर्दा स्वभाविकरुपमा नेपालगन्जको बजार चलायमान हुने बताउँछन् । तर, नाकामा अहिले भइरहेको कडाइ निरन्तर भइरहनुपर्ने भन्दै नेपालगन्ज भन्सारलाई उनको सुझाव छ, ‘अहिलेको कार्यले यहाँ व्यवसायीको मनोबल बढाएको छ । तर यस्तो कडाइ फेरि अब फितलो हुनुहुँदैन ।’
किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जका वरिष्ठ उपाध्यक्ष श्यामसुन्दर अधिकारीले अहिलेको जस्तै अवस्था लामो समय कायम गर्न सके सीमापारि किनमेल गर्न कोही नजाने अवस्था आउने बताउँछन् । सीमापारको व्यापारले सबैभन्दा प्रभावित घरेलु तथा साना उद्योगहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुषालले निकै सह्रानिय कार्यको शुरुवात भएको बताउँदै अब सेटिङका गाडी र क्यारिङ पनि बन्द गर्दै बजार अनुगमन व्यापक गर्नेुपर्ने बताउँछन् ।
नेपाली उपभोक्ता जान छाडेपछि भारतीय बजार रुपैडिया सुनसान बनेको छ । नेपाल सरकारले ल्याएको नयाँ नीतिका कारण सीमावर्ती बजारमा दैनिक करोडौंको व्यापार नोक्सान व्यहोर्नु परेको उनीहरु बताउँछन् । रुपैडियामा मात्र नेपाली उपभोक्ताले दैनिक करोडौंको कारोबार गर्दै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्