शुभाकर विश्वकर्मा
कोहलपुर, बाँकेमा क्षयरोगका प्रकोप जटिल देखिएको छ । खुला भारतीय सीमा क्षेत्र हुनु र जनचेतना नहुनुले बाँकेका क्षयरोग जटिल बन्दै गएको हो ।
पछिल्लो तथ्यांकअनुसार बाँकेमा पाँच सयभन्दा बढी क्षयरोगका बिरामी झेला परेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा पाँच सय १६ जना क्षयरोगका बिरामी भेटिएका स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले जनाए ।
जसमा ४४ प्रतिशत महिला र ५६ प्रतिशत पुरुषमा क्षयरोग देखिएको उनले बताए । यो तथ्यांक प्रारम्भिक भए पनि वार्षिक समीक्षाको तथ्यांक आउन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार बाँकेको नेपालगन्जमा सबैभन्दा क्षयरोगका बिरामी छन् । पछिल्लो तथ्यांकअुसार नेपालगन्जमा एक सय ६३ जना नयाँ क्षयरोगीका बिरामी पत्ता लागेका छन् ।

त्यस्तै राप्तीसोनारीमा ५७ जना कोहलपुरमा ९८ (पुस मसान्तसम्म) जना, बैजनाथमा ४२ जना र खजुरमा ५४ जना उक्त रोगका बिरामी पत्ता लागेका छन् । यस्तै जानकीमा ३४ जना, डुडुवामा ३१ जना र नरैनापुरमा ३९ जना बिरामी फेला परेका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बाँकेमा मात्रै यस आर्थिक वर्षमा १४ सय २३ जना क्षयरोणी पत्ता लगाउने सरकारी लक्ष्य छ । बाँकेमा कुल ४४ प्रतिशत महिला र ५६ प्रतिशत पुरुषमा क्षयरोग देखिएको उनले बताए ।
४ वर्ष उमेर समूहका १४ प्रतिशत, ५ देखि १४ वर्ष उमेर समूहका सात प्रतिशत र १५ देखि २५ वर्ष उमेर समूहका १४ प्रतिशतमा क्षयरोग भेटिएको फोकल पर्सन नेपाली बताउँछन् । २५ देखि ३४ वर्ष उमेर समूहका नागरिकमा १५ प्रतिशत, ३५ देखि ४४ वर्षसम्मका १२ प्रतिशत र ४५ देखि ५४ वर्ष उमेर समूहका १० प्रतिशत नागरिक क्षयरोगी छन् ।
५४ देखि ६४ वर्ष उमेर समूहका नौ प्रतिशत र ६५ वर्षभन्दा माथिका १९ प्रतिशत नागरिक क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतीय विभिन्न क्षेत्रमा पुगेका नेपाली कामदारका कारण पनि बाँकेलगायत पश्चिम नेपाल क्षयरोगको जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।‘नेपाली कामदार भारतीय विभिन्न क्षेत्रमा छन्,’ उनले भने, ‘फर्किँदा उनीहरुमध्ये केही क्षयरोगको संक्रमित भएर फर्किन्छ ।’
कोहलपुरमा क्षयरोगमुक्त अभियान
राष्ट्रिय क्षयरोग केन्द्रले देशभरिका २५ पालिकामा क्षयरोगमुक्त अभियान सञ्चालन गरिरहेको छ । क्षयरोगमुक्त पालिका बनाउने उद्देश्यअनुरूप अभियान सञ्चालन भइरहेको छ । हाल लुम्बिनी प्रदेशका तीन पालिकामा मात्रै यो कार्यक्रम लागु भएको छ ।
बाँकेका आठमध्ये कोहलपुर नगरपालिका मात्र यो अभियान सञ्चालन भएको छ । कोहलपुरमा पुस मसान्तसम्म ९८ जना पत्ता लागेका थिए । चैत मसान्तसम्म यो संख्या बढेर एक सय ३२ पुगेका छ । क्षयरोग फोकल पर्सन नेपालीका अनुसार जिल्लाका सबै पालिकामा क्षयरोगी देखिएका छन् ।
क्षयरोगको सम्भावना रहेको भारतीय सीमा नाकामा स्क्रीनिङ गर्ने गरिएको उनले बताए । नेपालबाट मौसमी कामदारको रुपमा भारत जाने र भारतबाट फर्किने मानिसहरुलाई नेपालभारत सीमा नाकामामा चेकजाँच गर्ने गरेको उनको भनाइ छ ।
हालसम्म सीमामा एक हजार ६ सय ७६ जनाको खकार जाँच गरिएको छ । तीमध्ये १४ जना पोजेभिट देखिएका छन् । यतिमात्रै होइन, जिल्लामा ७५ वटा क्षयरोगको उपहार गर्ने डट्स सेन्टर छन् ।
‘कोहलपुरमा क्षयरोगमुक्त अभियान चलिरहेको छ । अन्य दुई पालिकामा पनि अभियान सञ्चालन गर्ने तयारी छ । कोहलपुरमा अहिले मेडिकल कलेजसहित चार डट्स सेन्टर छन् । सबै वडामा थप्नुपर्ने देखिएको छ । साउनदेखि कोहलपुरमा नयाँ डट्स थप्ने योजना छ,’ क्षयरोग फोकल पर्सन नेपालीले मिसन टुडे दैनिकसँग भने ।









प्रतिक्रिया दिनुहोस्