वीरेन्द्र जैसी,नेपालगन्ज
भेरी अस्पतालको इमरजेन्सी सेवाको स्तरोन्नति गरिएको छ । हालसम्म १५ वटा बेडमात्रै रहेको अस्पतालको इमरजेन्सी अब ३० बेडमा स्तरोन्नति भएको हो ।
यसका साथै एक्स–रे, प्रयोगशाला र सुविधा सम्पन्न अन्य पूर्वाधारसहितको उक्त इमरजेन्सी कक्षको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गरेका छन् । भेरी अस्पताल परिसरमा निर्माणाधीन भवनको भुईँतलामा रहेको उक्त इमरजेन्सी कक्ष भवनको अरु भाग फिनिसिङ नहुँदै सञ्चालनमा ल्याइएको हो । यसअघि भेरीको इमरजेन्सी कक्षमा बेडको अभावमा कुर्सीमा राखेरसमेत बिरामीको उपचार गरिँदै आएको थियो ।
नयाँ इमरजेन्सी कक्षमा बिरामीको अवस्था अनुरूपको रातो, पहेँलो र हरियो गरी बेड तथा स्थान वर्गीकरण गरिएको छ । कुनै बिरामीको मृत्यु भइहालेमा शव राख्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ भने सरुवा रोगका बिरामीलाई राख्न आइसोलेसन कक्षको पनि व्यवस्था गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बिरामीको अत्यधिक चाप र एमआरआई मेसिनको सञ्चालनका लागि पहिले रहेको भवनबाट नयाँ भवनमा इमरजेन्सी सार्न हतार गर्नुपरेको बताए । असार मसान्तसम्म भवन हस्तान्तरण हुने अपेक्षा गरिएको बताउँदै उनले त्यसपछि हाल एक सय ६२ बेडमा सेवा दिइरहेको अस्पताल करिब तीन सय बेडमा सेवा दिने अवस्थामा पुग्ने जानकारी दिए । उक्त भवन निर्माणमा ढिलाइ हुँदा गत वर्ष नै हस्तान्तरण हुनुपर्ने भवन अझै निर्माणाधीन छ । इमरजेन्सी कक्ष पुरानोबाट नयाँ भवनमा सरेर जेठ १५ गतेबाट पूर्ण क्षमतामा सेवा दिन थाल्ने डा. चापागाईंले जानकारी दिएका छन् ।
नयाँ इमरजेन्सी कक्षको उद्घाटन गदै सचिव डा. पोखरेलले पाँच सय बेडको अस्पताल हुँदा ५० बेडको इमरजेन्सी कक्ष हुनुपर्ने बताउँदै त्यसका लागि पनि अहिलेदेखि नै तयारी गर्न सुझाव दिए ।
अस्पताल समितिका पदाधिकारीको बिदाइ
भेरी अस्पताल विकास समितिका पदाधिकारीको बिदाइ गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम वलीको बिदाइ गरिएको हो । अस्पतालले आयोजना गरेको इमरजेन्सी कक्ष स्तरोन्नति तथा बिदाइ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले पदाधिकारीलाई कदरपत्रसहित बिदाइ गरेका हुन् ।
२०७७ साल जेठ १३ गते नियुक्त उक्त समितिको तीन वर्षीय कार्यकाल सकिएको छ । बिदाइ कार्यक्रममा बोल्दै विकास समितिका सदस्य धनराम वलीले अस्पतालको वृद्धि विकासका लागि ३६ महिनाको कार्यकालमा अस्पताल विकास समितिले महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले यस अवधिमा ५० पटक समितिको बैठक बसेको जानकारी दिँदै डा.प्रकाश थापा, डा.वीरेन्द्रबहादुर चन्द र डा.बद्री चापागाईं गरी तीनजना मेसुसँग समन्वय र सहकार्य गरेर काम गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे । समितिले अस्पताल स्थापनाको १३१ वर्षपछि पहिलोपटक स्थापना दिवस मनाउन सुरु गरेको, अस्पतालको स्तरोन्नति र विकासमा सकेसम्म नीतिगत तहमा दबाब दिने काम गरेको उल्लेख गरे । उनले भेरी अस्पताल परिसरमा रहेका अव्यवस्थित भवन विस्थापनदेखि विचौलिया नियन्त्रणमा काम गरेको उल्लेख गरे ।
उनले भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव चरम रहेको भन्दै मन्त्रालयका सचिव पोखरेलको ध्यानाकर्षण गराए । बिरामीको चापको आधारमा भेरी अस्पताललाई अझै एक हजार तीन सय ७६ जना कर्मचारी आवश्यक रहेकोे भन्दै मन्त्रालयमा खाका पेस गरे पनि सोअनुसार दरबन्दी कायम नभएको गुनासो गरे । त्यसक्रममा सचिव डा . पोखरेलले अस्पताल विकास समितिले अस्पतालको वृद्धि विकासका लागि खेलेको भूमिकाको खुलेर प्रंशसा गरे । साथै अस्पतालको विकासका लागि नीतिगत तहमा पहल गर्ने प्रतिबद्धता पनि जनाए ।









प्रतिक्रिया दिनुहोस्