गर्मीबाट बचौं, यसले ज्यानै लिन सक्छ



तराई क्षेत्रमा ह्वात्तै गर्मी बढेको छ । गर्मी बढेसँगै हावाहुरीसमेत लाग्न सुरु भएको छ । हरेक दिन गर्मी बढ्दो क्रममा छ । गर्मी बढ्दै जाँदा हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । स्वास्थ्य नै धन हो भन्ने गरिन्छ । त्यसैले स्वास्थ्यको विशेष ख्याल राख्नु आवश्यक हुन्छ । आफ्नो शरीर स्वस्थ राख्न जरुरी छ । मैले बिहान उठेदेखि साँझ नसुतुञ्जेलसम्म ध्यान दिनुपर्नेछ ।

अन्य अवस्थामा भन्दा यस्तो अवस्थामा हरेक समयमा ख्याल राख्नुपर्छ । सबैभन्दा हामीले खानेपानीमा ध्यान दिनुपर्छ । बासी खाना र बजारमा पाइने खाना खानुहुँदैन । पहिरनमा ध्यान दिनुपर्छ । यो समयमा सबैभन्दा धेरै ठूलो समस्याको रुपमा झाडापखाला हुने गरेको छ । पछिल्लो समय स्वास्थ्य चौकी तथा अस्पतालहरुमा यस्ताखालका बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । कतिपय अवस्थामा उपचारका लागि पालो कुनुपर्नेसम्मको अवस्था सिर्जना हुने गरेको छ ।

हामीले विगतलाई हेर्ने हो भने गर्मीयाममा झाडापखाला कै कारण मानिसहरुको मृत्यु हुने गरेको छ । प्रकोप कै रुपमा पनि फैलिरहेको देखेका छौं । यस्तो बेलामा विशेष गरेर सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिकले ध्यान दिनुपर्ने देखिन्छ । आफ्नो स्वास्थ्यको उचित स्याहार र सतर्कता नअपनाउँदा धेरै किसिमका समस्या उत्पन्न भएका छन् । त्यसैले मेरो आग्रह छ, ‘आफ्नो स्वास्थ्यको पूर्णरुपमा ध्यान दिनुहोस् । लापरबाही नगर्नुहोस् मानिसको ज्यानै जान सक्छ ।’
यस्तो बेलामा ताजा फलफूल खानुपर्छ । खानुभन्दा पहिला सफा गरेर मात्रै खाने ।

                                                                                                  डा. देवेन्द्र आचार्य

खानुभन्दा अघि राम्रोसँग हात, मुख धुने गर्नुपर्छ । अत्यधिक तातोका कारण विभिन्न किसिमका समस्या देखा पर्दछ । अर्को कुरा भनेको गर्मीयाममा पानी प्रशस्त मात्रामा पिउनुपर्छ । त्यो पनि शुद्ध पानी पिउन जरुरी हुन्छ । धेरै पानी खाने निहुँमा अशुद्ध पानी पिउनुभयो भने पनि समस्या हुन्छ । पानीका कारण विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छन् ।

चर्को गर्मीसँगै लू सँग बच्ने

चर्किँदो गर्मीसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु हुन्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो गर्मीमा ‘लू’ को समस्या हुन्छ । यो गर्मी मौसमको बिरामी हो । मौसमी समस्या भएकाले लू जसलाई पनि लाग्न सक्छ । खासगरी तराई क्षेत्रमा लूबाट बच्न सर्तकता अपनाउनु पर्छ । लूको कारण ज्यान जान पनि सक्छ । गर्मीको कारण धेरै पसिना बग्छ । शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान वृद्धि गर्छ ।

शरीरमा पानीको मात्रा कमी हुनु लू लाग्ने एउटा कारण हो । जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ, टाउको भारी हुन्छ । नाडीको गति बढ्छ । रगतको गति पनि तिव्र हुन्छ । श्वासप्रश्वासको गति असामान्य हुँदै जान्छ । हात, खुट्टा र तालुमा जलन बढ्छ । आँखामा पनि जलन बढ्छ । यसले गर्दा अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।

पटकपटक पानी पिउने, खाली पेट नबस्ने, बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, सम्भव भएसम्म मध्यान्हको चर्को गर्मीमा घर बाहिर निस्कनु हुँदैन । यदि घर बाहिर जान परे टाउको र गर्दनमा तौलियाले ढाक्नुपर्छ । पटकपटक पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको अभाव नहोस् । गर्मीको समयमा सुपाच्य खानेकुरा खानुपर्छ । बाहिर गएको बेलामा खाली पेट हुनुहुन्न ।

नरम, मुलायम सुतीको कपडा लगाउनु पर्छ । चिसो खानेकुराको सेवन गर्नुपर्छ । मौसमी फलको सेवन एकदमै लाभदायक हुन्छ । यतिबेला प्याजको सेवन पनि राम्रो हुन्छ । घरबाट बाहिर निस्किँदा छाता ओड्नुपर्छ । घर बाहिरबाट आउनसाथ तुरुन्तै पानी पिउनु हुँदैन ।

मौसम परिवर्तनका लागि मानिसहरुमा मौसमी रुघाखोकीको समेत समस्या देखिएको छ । पछिल्लो समयमा बाँकेमा गर्मीयाम बढेसँगै कोभिड–१९ समेत फैलिँदो क्रममा रहेकाले झन जोखिम छ । केही दिनयता संक्रमित बढ्नुका साथै मानिसको मृत्युसमेत भएको समाचार बाहिरएका छन् । त्यसैले सकभर मौसमी रुघाखोकीबाट बच्नु नै उत्तम हुन्छ । बाहिर निस्किँदा अनिवार्य मास्क लगाएर हिँड्ने गरौँ ।

अनि बाहिर निस्किँदा बजारका तयारी खाना र अत्यधिक चिसो पेय पदार्थ नपिउ । बजारमा पाइने खानेकुरा त खाँदै नखाँदा उत्तम हुन्छ । किन भने बाहिर राखिएका खानेकुरामा हावाहुरीसँगै विभिन्न किटाणुहरु टाँस्सिएका हुन्छन् । त्यसैले समस्या हुन्छ । त्यसले स्वास्थ्यलाई हानी हुन्छ । तयारी खानाले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकोले सचेत रहन आवश्यक छ । स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ । त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ ।

हलुका रङको लुगा लगाउनुहोस् । पासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ । यस्तो बेलामा सेतो र पहेँलो रङको कपडा लगाउनु राम्रो मानिन्छ । गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ । सकभर यो मौसममा सेतो रङको हलुका कपडा लगाउन राम्रो हुन्छ । आफूलाई हाइड्रेटेड राख्नु राम्रो मानिन्छ । यो मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक छ ।

गर्मीको कारण शरीरमा देखिने स्वास्थ्य समस्याबाट बच्न हरेक दिन कम्तिमा ८–१० गिलास पानी पिउने सल्लाह दिन्छन् । चर्को गर्मीमा घर बाहिर नजानुहोला । दिनको सबैभन्दा तातो समय सामान्यतः दिउँसो १२ बजे र ४ बजेको बीचमा हुन्छ ।

यो समयमा बाहिर नजानुहोस्, चर्को गर्मीमा घर बाहिर जानै पर्ने काम परेमा टोपी र छाताको प्रयोग गर्नुहोस् । सनस्क्रीन लगाउँदा राम्रो हुन्छ । सूर्यको हानीकारक किरणहरूबाट आफ्नो आँखालाई जोगाउन, कम्तीमा एसपीएफ ३० भएको सनस्क्रीन लगाउनुहोस् र सनग्लास लगाउनुहोस् ।

कुन उमेर समूहकाले कसरी सुरक्षा अपनाउने
गर्मीयाम भनेको मानिसको लागि प्रतिकूल अवस्था हो । झन लू लाग्यो भने त झनै ध्यान पु¥याउनुपर्छ । यस्तो बेलामा विभिन्न उमेर समूहका मानिसले सोहीअनुसारको सजकता अपनाउनुपर्ने हुन्छ । उमेर समूहका आधारमा भन्ने होलो यतिबेला बालबालिकाहरुलाई विशेष ख्याल गनुपर्ने हुन्छ । सरसफाइमा ध्यान दिनुपर्छ । यस्तो बेलामा हामीले उचित ध्यान नदिँदा बालबालिकाहरुमा झाडापखालाको समस्या देखिन्छ ।

त्यसैले बालबालिकाई सधै सफा राख्ने, फोहोर गर्न नदिने । सबै मानिसको रोग प्रतिरोधात्मक क्षमता फरक हुन्छ । त्यसैले गर्मी याममा सबै उमेर समूहका विशेष ध्यान दिनैपर्छ । वयस्क मानिसले पनि विशेष ख्याल गर्नुपर्छ । यस्तो उमेर समूहका मानिसहरु बढी काममा हुने हुनाले उनीहरुले काममा धेरै प्रेसर लिनु राम्रो मानिँदैन ।

संक्रमणसमेत छिटो फैलिने भएकोले वयस्कहरुले खानेकुरा, पहिरनदेखि अन्य अवस्थाको समेत ख्याल राख्नु राम्रो मानिन्छ । पछिल्लो समय बाँकेमा कोरोनासमेत देखिएकाले यसले जुनसुकै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्ने हुन्छ । सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । दीर्घरोगी र वृद्धावृद्धाहरु पनि गर्मीबाट बढी प्रभावित हुने उमेर समूह हो ।
स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमताका हिसाबले पनि कमजोर हुने भएकाले यिनीहरुमा छिटो संक्रमण हुन्छ । धेरै गर्मी हुन्छ । तापक्रम बढ्छ । वृद्धवृद्धाहरुमा अत्यधिक गर्मी सहन सक्ने क्षमता अन्यको भन्दा कम हुन्छ । त्यसले शरीरमा असर गर्छ ।

वृद्धावृद्धाहरु यस्तो अवस्थामा बिरामी हुने सम्भावना निकै बढी हुन्छ । उनीहरु कतिपय अवस्थामा आफैँले स्याहार गर्न नसक्ने भएकाले परिवारका सदस्यहरुको सहयोग महŒवपूर्ण हुन्छ । यस्तै हाम्रो मस्तिष्कले एक तहसम्मको गर्मी धान्छ । क्षमताभन्दा बढी गर्मी भयो भने चाहिँ मानिसहरु बेहोस हुन्छन् । अन्ततः समयमै उपचार पाइएन भने मृत्युसमेत हुन्छ ।
कार्यालय समयमा पनि ध्यान दिनुपर्ने हुन्छ । घरमा बस्दा सरसफाइमा ध्यान दिने । कार्यालय जाँदा पनि सक्रिया जीवन जिउनुपर्छ । पानी, खानेकुरादेखि पहिरनसम्म ध्यान दिनुपर्छ । अन्त्यमा सम्पूर्ण नागरिकलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्न चाहन्छुँ ।
(मिसन टुडे दैनिकका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा. देवेन्द्र आचार्यसँग शुभाकर विश्वकर्माले गरेको कुराकानीमा आधारित ।)

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार