शुभाकर विश्वकर्मा । कोहलपुर ।
असफलता भनेकै सफल हुने प्रक्रिया हो । असफलता फेरि सुरु गर्ने अर्को अवसर पनि । पटकपटकको असफलता, सफल हुने नयाँ मौका पनि हो । असफलतासँग नहारेर सफल भइन्छ भन्ने ज्वलन्त उदाहरण हुन्, पदमकला बम । आजभन्दा १६ वर्षअघिको कुरा हो, बम गृहिणी थिइन् । सामान्य कृषि कर्म गरेर उनको परिवार चलेको थियो । कृषि कर्मले जीवन चल्ने सम्भावना देखिनन् ।
घरको आर्थिक कार्यभार पूरा गर्न उनले आफैँ व्यवसायमा होमिने प्रयास गरिन् । विकल्प रोजिन्, च्याउ उत्पादन र बिक्रीवितरण । न तालिम, न त सीप । हठात्मा सुरु गरेको व्यवसायले उनलाई सुरुमा घाटाको स्वार्थ चखायो । व्यवसाय सुरु गरेको दुई वर्ष त उनले च्याउ खेतीका लागि गरेको लगानी बालुवामा पानी भनेझैँ भयो । आफू सुत्ने कोठाभित्र सात–आठ बलबाट व्यवसाय सुरु गरेकी थिइन् उनले । आफूले गरेको दुःखले फल नपाएपछि उनी दुःखी भइन् । तर, व्यवसायप्रति माया भने मारिनन् ।
जसरी पनि व्यवसायलाई निरन्तरता दिनुको विकल्प बमसँग थिएन । व्यवसाय सुरु गरेको दुई वर्षपछि गाउँमा रहेको लघुवित्तमा आबद्ध भइन् । त्यहाँ महिलाहरु मिलेर बचत गर्थे । उक्त समूहमा मिसिइन् । केही समयपछि लघुवित्तले अवलोकन भ्रमणमा लिने बतायो । उनी पनि जाने भइन् । उनीहरुको गन्तव्य थियो, पाल्पाको मदनपोखरा । उनीहरु त्यहाँ भइरहेको सफल कृषि व्यवसाय अवलोकनका लागि गएका थिए ।
उक्त भ्रमण पदमकलाका लागि वरदान नै सावित भइदियो । उनी भन्छिन्, ‘त्यहाँ एकजना कृषकले व्यावसायिक च्याउ खेती गरिरहनु भएको रहेछ । उहाँको फर्म व्यवस्थित थियो । त्यो देखेर मलाई थप हौसला प्रदान भयो । धेरै कुरा सिक्न पाएँ । भ्रमण उपलब्धिपूर्ण नै रह्यो ।’
त्यहाँबाट फर्केपछि उनले नयाँ ढंगबाट आफ्नो व्यवसायलाई अघि बढाइन् । सुत्ने कोठाबाट उनको च्याउ खेती घरको माथिल्लो फ्ल्याटमा स¥यो । उनले पूरा फ्ल्याट त्यसकै लागि प्रयोगमा ल्याइन् । पछि भने बिस्तारै व्यापार हुन थाल्यो ।
च्याउबाट धेरथोर कमाइ हुन थालेपछि आफू हौसिएको बम बताउँछिन् । बिस्तारै उनी व्यावसायिक च्याउ खेतीतर्फ आर्कषित भइन् । सुरुमा आफ्नै लगानीमा व्यावसायिक च्याउ खेती सुरु गरेको उनले बताइन् । व्यवसायी बमका अनुसार व्यवसाय दर्ता गरेरै त्यसमा लाग्ने सोच पलायो । उनले आफ्नो व्यवसाय दर्ता गरिन् । फर्मको नाम राखिन्, नमुना च्याउ फर्म । जमिन भाडामा लिएर व्यवसाय सुरु भयो उनको ।
उनको व्यवसाय दिन दुई गुना रात चौ गुना फस्टाउन थाल्यो । बिस्तारै आर्थिकरुपमा शसक्त हुन थालिन् । उनले १० लाख रुपैयाँ ऋण लिएर व्यवसायलाई विस्तार गरिन् । ‘पहिला अलि कमाइ हुन्छ की भनेर लागेकी थिएँ । दुई वर्ष हण्डर खाएँ । तर, हार मानिन्ँ,’ बम सुनाउँछिन्, ‘व्यवसायलाई निरन्तरता दिएँ । संघर्ष गरिरहेँ । संघर्षको फल कस्तो हुन्छ । अनुभव गरेँ ।’
निरन्तर संघर्ष गरे सफल हुने र सबैको सकारात्मक साथ रहने उनको भोगाइ छ । उनको व्यवसायलाई थप शसक्त बनाउन स्थानीय सरकारसमेत सहयोगी बनिदियो । उनले व्यवसाय प्रवद्र्धनका लागि कोहलपुर नगरपालिका कृषि शाखाबाट अनुदान प्राप्त गरिन् । कृषि शाखाका अनुसारको बमको कृषि व्यवसायलाई थप मजबुत बनाउन अनुदान प्रदान गरिएको हो ।
कृषि शाखाले १० लाख रुपैयाँ अनुदान दिएपछि व्यवसायलाई निरन्तरता दिन आफूहरुलाई राहत पुगेको उनले बताइन् । अहिलेसम्म उनले च्याउखेती कै लागि व्यक्तिगत र शाखाको अनुदान गरी २० लाख रुपैयाँ लगानी गरिसकेकी छन् । कृषि शाखाको अनुदानपछि आफूलाई व्यावसायिकरुपमा फड्को मार्न सहयोग पुगेको उनको भनाइ छ ।
उनी अहिले एक वर्षमा तीन/चार लटमा च्याउ निकालेर बिक्रीवितरण गर्दै आएकी छिन् । च्याउ बिक्रीवितरणबाटै वार्षिक १२ लाख रुपैयाँ कमाउँछिन् उनले । हाल उनका नियमित ग्राहक छन् । दैनिक तीनवटा मण्डीमा उनको च्याउ पुग्छ । जिल्ला मात्रै होइन बाहिरी जिल्लामा समेत च्याउ जाने गरेको उनले बताइन् । कोहलपुरमा उत्पादन च्याउ उनी सुर्खेतसम्म पु¥याउँछिन् ।
यतिमात्रै होइन दैनिकरुपमा बोकेर बेच्ने कर्मचारीसमेत राखेकी छिन् । उनीहरु रोजगारीसमेत प्रदान गरेकी छन्, व्यवसायबाटै । पछिल्लो समय च्याउको मागसमेत बढ्दै गएको छ । च्याउप्रति केजी तीन सय रुपैयाँका दरले बिक्रीवितरण हुने गरेको छ । ‘निरन्तर प्रयास गरेमा सफल भइन्छ । यसको लागि राज्यले व्यवसाय प्रवद्र्धनको लागि सहयोग गर्नुपर्छ । सुविधासमेत प्रदान गर्नुपर्छ,’ बम भन्छिन् ।









प्रतिक्रिया दिनुहोस्