स्थानीय सरकारले विपन्नलाई बेलाबेला दिने सहयोग उनीसम्म पुग्दैन । उनीसम्म नपुग्नुको एउटै कारण हो, ‘उनको पहुँच नहुनु ।’ के पहुँच नहुने विपन्न भोकै बस्नु पर्ने हो ? आखिर उनले यही नगरपालिकाका जनप्रतिनिधिलाई पटकपटक चुनावमा भोट हालेकी
छिन् । संघ र प्रदेशमा भोट हाल्न उनी अग्र मोर्चामा हुन्छिन् । तर उनको अवस्था जनप्रतिनिधि र राज्यविहीन जस्तो छ ।
गणेश विशु ।
सम्पत्तिको नाममा सिधा उभिएर पस्न र निस्कनसमेत नमिल्ने खरको झुपडी छ । खरले चारैतिर बारेर बनाएको झुपडी मात्र आफ्नो हो, जग्गा सार्वजनिक । खर अभावमा राम्रोसँग नटालिएको झुपडीबाट चिसो हावा भित्रैसम्म पस्छ ।
चिसो हावालाई छेक्ने न्यानो कम्बल र सिरक छैन । नत तातो पकाएर खानलाई अन्नपानी र खाने कुरा छ । न त काम गर्नसक्ने अवस्थामा छिन् न कमाएर खुवाउने नै कोही छन् । यस्तै पीडादायी क्षणले भरिएको छ, कोहलपुर–११, स्थित निर्माणाधीन बसपार्कको पूर्व उत्तरतिर बस्ने ६५ वर्षीया इन्द्रेणी वादीको दैनिकी ।
एउटा घर बनाउने र सहयोग जुटाएर दैनिकी निर्वाह गर्ने परम्परागत अवस्थालाई बदल्न आजभन्दा करिब १५ वर्ष अघि उनी श्रीमान् बजारुसँगै कोहलपुर झरिन् । ज्यालादारी काम गरेर राम्रै कमाइ हुन थालेपछि उनीहरुले कोहलपुरमै बसाइँ सारे । जहाँ सपनाको सुन्दर घर बनाएर रोजगारी बन्ने सपना थियो ।
सहयोग मागेर जीवन निर्वाह गर्ने परम्परालाई उनीहरुले आफ्नो जीवनबाट त हटाए तर घर भने बनाउन सकेनन् । गाउँमा पनि घरखेत नहुँदा उनीहरुले कोहलपुरमै घर बनाउने योजना बुनेका थिए । तर, बजारु दमलगायतको रोगबाट पीडित बने र आजभन्दा आठ वर्ष अघि उनको दुःखद् निधन भयो । अनि इन्द्रेणीको सुपनामा ठेस लाग्यो ।
लामो समयसम्म रोगबाट पीडित श्रीमान्लाई बचाउन उनले ठूलो रकम खर्च गरिन् । ‘उपचार गर्दागर्दै मेरो कमाइ सकिएको थियो,’ उनी भन्छिन्, ‘मैले सहयोग मागेरै भए पनि बचाउन खोजे तर, दैवको लिला उहाँको मृत्यु भयो ।’ त्यतिबेला उनी कोहलपुरको चौराह नजिकै बस्थिन् । अहिले नगरपालिकाले चौराहबाट सुकुम्बासीलाई हटाएको छ । उनी निर्माणाधीन बसपार्कभन्दा पछाडि पूर्व उत्तरतर्फ झुपडी बनाएर बस्छिन् । यहाँ पुग्ने जो कोहीले उनको बासस्थानलाई झुपडी भने पनि उनी यसलाई आफ्नो सपनाको महल भन्छिन् ।
‘एउटा भएको सन्तानले पनि घर परिवार सम्हाल्न सकेको छैन । बाँकी अरु सहारा नहुँदा खान र न्यानो नपाएरै मर्ने भइयो,’ उनले भनिन् । जाडो थेग्ने गरी लत्ताकपडा नभएपछि कष्टकररुपमा रात बिताउने गरेको उनी बताउँछिन् । काम गर्न नसक्ने भएपछि कसैले केही देलान र खाउँला भन्ने आसमा छिन् उनी । इन्द्रेणीको ‘महल’ खरले बनेको छ । बर्खामा पानी चुहिन्छ भने चिसोमा चिसो छेक्दैन । त्यही झुपडीभित्र एउटा कुनामा चुलो छ भने अर्काे कुनामा सुत्छिन् । ‘खरले बनाएको बासस्थानले चिसो छेक्दैन,’ उनी भन्छिन् । साँघुरो झुपडीमा उनी र उनका एकजना नाति अटाएका छन् । अहिले बाँकेमा कठ्यांरिँदो जाडो छ ।
शीतलहरले अझ बढी चिसो बढाएको छ । दिनमै चल्ने चिसो सिरेठोले जनजीवन प्रभावित पारेको छ । ‘दिउसोमा आगो ताप्ने दाउरासमेत छैनन्,’ उनी भन्छिन्, ‘रातिमा न्यानो हुने न्यानो कपडा छैन । कसरी यो चिसो कटाउने होला ।’ दुई छोरीको विवाह भइसकेको छ । छोरा ज्यालादारी काम गर्छन् । उनी पनि छुट्टै बस्छन् । कहिलेकसो बच्यो भने आमालाई सम्झिन्छन् । उनले काम पनि गर्न सक्दैनिन् ।
आम्दानीको स्रोत पनि छैन । सरकारले दिने भत्ताले उनको दैनिक चलेको छ । ‘चार महिनामा एकपटक आठ हजार रुपैयाँ पाउछुँ,’ उनी भन्छिन्, ‘त्यही पैसाले घर खर्च चलाउछुँ ।’ चार महिनामा आठ हजार रुपैयाँले जीविकोपार्जन गर्ने इन्द्रेणीको दयनीय अवस्थाले सरकारलाई नराम्रोसँग गिज्याएको छ ।
स्थानीय सरकारले विपन्नलाई बेलाबेला दिने सहयोग उनीसम्म पुग्दैन । उनीसम्म नपुग्नुको एउटै कारण हो, ‘उनको पहुँच नहुनु ।’ के पहुँच नहुने विपन्न भोकै बस्नु पर्ने हो ? आखिर उनले यही नगरपालिकाका जनप्रतिनिधिलाई पटकपटक चुनावमा भोट हालेकी छिन् । संघ र प्रदेशमा भोट हाल्न उनी अग्र मोर्चामा हुन्छिन् । तर उनको अवस्था जनप्रतिनिधि र राज्यविहीन जस्तो छ ।









प्रतिक्रिया दिनुहोस्