कोहलपुर ।
स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्ने सरकारले घोषणा गरेको छ । सातौ संविधान दिवसको अवसरमा सरकारले विभूषित हुनेहरूको नामावली सार्वजनिक गर्दै बाँकेका कोइरालालाई नेपाल रत्न दिने घोषणा गरेको हो ।
सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको नेपाल रत्न नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहेका कोइरालाले मरणोपरान्त प्राप्त गरेका हुन् ।
पूर्वप्रधानमन्त्री स्वर्गीय कोइराला लामो समय बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै आएका थिए । बाँके जिल्ला नै प्रतिनिधित्व गर्दै उनी नेपालको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्रीसमेत हुन सफल भए । उनी लगातार २०४८ देखि २०७० सालसम्म निर्वाचन लडे ।
जसमा उनले तीनपटक जिते । एकपटक हार व्यहोरे । कोइराला पहिलोपटक २०४८ को संसदीय निर्वाचनमा सांसदमा निर्वाचित भए । २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका थिए । २०६२/६३ को जनआन्दोलनमा कोइरालाको अहम् भूमिका रहयो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने कोइराला पराजित भए ।
त्यसपछि २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बाँके र चितवनबाट सभाषद्मा विजयी भएका हुन् । कोइराला नेपाली कांग्रेसको सभापतिसमेत भए । नेपालको संविधान–२०७२ उनकै नेतृत्वमा जारी भएको हो । यस्तै बाँके जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि पदक प्राप्त गरेका छन् । ती पदक प्राप्त गर्नेमा स्वास्थ्यकर्मी, सहिद तथा पत्रकारसमेत रहेका छन् ।
सरकारले घोषणा गरेको सुप्रबल जनश्रीबाट डुडुवा–२ का स्वर्गीय मायाप्रसाद बर्मा र नेपालगन्ज–२ का गुल्जार खान सम्मानित भएका हुन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, नेपालगन्ज–१ का व्यवसायी कुमुदकुमार दुगड, नेपालगन्ज–१२ का पत्रकार जीवनप्रसाद पाण्डे, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालका सहनिर्देशक वरिष्ठ चिकित्सक डाक्टर रोमन किदवाई र नेपालगन्ज–१ का समाजसेवी प्रभातकुमार ठकुरी सम्मानित हुने भएका छन् ।
यस्तै लुम्बिनी प्रदेश सरकारले वितरण गर्ने विभिन्न पदकसमेत बाँकेका विभिन्न व्यक्तिहरुले प्राप्त गरेका छन् । तीमध्ये भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित हुने भएका छन् ।
यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री प्रज्जवलदीप द्वितीय पदकबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक तथा वरिष्ठ चिकित्सक डा. एम किदवाई सम्मानित भएका छन् । यस्तै लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने जनसेवा श्री द्वितीय इफरान सिद्दिकी पनि सम्मानित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्