कोहलपुरको चौधरीया गाउँमा पशु स्वास्थ्य घुम्ती शिविर



कोहलपुर ।

कोहलपुर नगरपालिका– १५ को चौधरीया गाउँमा पशु स्वास्थ्य तथा परजिवी नियन्त्रण घुम्ती शिविर सम्पन्न भएको छ । नगर पशु शाखाको आयोजनामा पशु स्वास्थ्य तथा परजिवी नियन्त्रण घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा चौधरीया गाउँमा रहेका पशुचौपाया, कुकुर तथा अन्य पशुहरुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको थियो ।

पछिल्लो समयमा पशु चौपायाहरुमा विभिन्न खालका परजीवीहरुको संक्रमणको जोखिम रहेकोले त्यसको नियन्त्रणका लागि गाउँमै पुगेर निःशुल्क खोप लगाइएको पशु शाखाका प्रमुख गोविन्दबहादुर रोकायले जानकारी दिए । शिविरमा पशुचौपायालाई घरमै गएर जुकाको औषधि, रेविज विरुद्धको खोप, विभिन्न भ्याक्सिन लगाइएको र औषधिसमेत वितरण गरिएको थियो ।

आगामी दिनमा अन्य वडाहरुमा समेत घुम्ती शिविर सञ्चालन गरिने उनले बताए । उनले विभिन्न समयमा पशुहरुलाई विभिन्न रोगविरुद्ध खोप लगाउनुपर्ने भएकोले सचेतना अपनाउनुपर्ने समेत बताए ।

नगरका विभिन्न ग्रामीण बस्तीमा पुगेर शाखाले निःशुल्क सेवा दिइरहेको छ । पशु शाखा प्रमुख रोकायले चालू आर्थिक वर्षको कार्यक्रम अनुसार विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको बताए । ‘यो कार्यक्रम नगरपालिकाका सबै वडामा सञ्चालन हुन्छ । हामीले कम्तिमा १० पटक यो कार्यक्रम आयोजना गर्ने लक्ष्य लिएका छौँ । सोही अनुसार जनशक्तिसमेत परिचालन हुन्छन्’ उनले भने ।

वार्षिक कार्यक्रममा उपचार सेवा, सुत्केरी भत्ता कार्यक्रम, पशु बीमा कार्यक्रम रोग निरोधक खोप कार्यक्रम, हिउँदे घाँस बीउ विरतण कार्यक्रम तथा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने पशु शाखाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार