शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेमा चुनावी सरगर्मी सुरु भएको छ । आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्र रहेको बाँकेमा सबै दल उम्मेदवार सिफारिस, छनोटदेखि चुनाव प्रचारप्रसारमा जुटेका देखिन्छन् ।
ती क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २ विशेष छ । अन्य क्षेत्रभन्दा यो क्षेत्रमा ‘हाइप्रोफाइल’ भिडन्त हुने पक्कापक्की जस्तै छ । प्रथमतः यो क्षेत्र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाले जित्दै आएको क्षेत्रसमेत हो । जहाँबाट उनी २०४८ देखि २०७० सम्म चारपटक चुनाव लडे । जसमा उनले तीनपटक विजयी भए भने एकपटक पराजय व्यहोरे ।
कोइराला पहिलोपटक २०४८ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर २ बाट कोइराला सांसदमा निर्वाचित भए । २०५६ को संसदीय निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट सांसद बने । २०६२÷६३ को जनआन्दोलनमा कोइरालाको अहम् भूमिका रह्यो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने कोइराला पराजित भए । त्यसपछि २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बाँके र चितवनबाट सभाषद्मा विजयी भए । कोइराला नेपाली कांग्रेसको सभापतिसमेत भए । नेपालको संविधान–२०७२ उनकै नेतृत्वमा जारी भएको हो ।
नेपाली कांग्रेस अहिले उम्मेदवार छनोटको चरणमा छ । जिल्लाका तीनवटै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस भइसकेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि पूर्व जिल्ला सभापतिसम्म छन् ।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा नेपाली कांग्रेस बाँकेकी पूर्वसभापति तथा स्वर्गीय सुशीलकी भाइबुहारी किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल र तरुण दल बाँकेका अध्यक्ष युवा नेता वीरेन्द्रबहादुर शाहको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए । यसअघि प्रत्यक्षमा आंकाक्षा देखाएका पूर्वमन्त्री गजेन्द्र हमाल भने समानुपातिकको एक नम्बरमा सिफारिस भएका छन् ।
यस्तै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दीकी (भोला), साबरा बेगम छन् । यस्तै मधेसीतर्फ बन्दना सिंह, त्रिलोकी गिरी, आदिवासी जनजातितर्फ रवीन्द्रमान श्रेष्ठ, अपांग-अल्पसंख्यकतर्फ डा. सुरेशकुमार कनोडिया, रामु चिडिमार, राकेश श्रीवास्तव तथा खसआर्यतर्फ अजितकुमार शर्मा, रमा उपाध्याय, कमला भट्टको नाम सिफारिस भएको छ ।
यही क्षेत्रबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका मोहम्मद ईश्तियाक राईलाई जनता समाजवादी पार्टीले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ । राईले क्षेत्र नम्बर २ मै २०७४ सालमा यही क्षेत्रबाट जितेका थिए । यसपटक पनि उनी पनि प्रवल दाबेदार हुन् । त्यतिबेला उनले तत्कालीन समाजवादी फोरमबाट जितेका थिए । केन्द्रीय गठबन्धनअनुसार सिट बाँडफाँट भएमा समेत अन्य पार्टीभन्दा यो क्षेत्रमा मन्त्री राईको सम्भावना प्रवल देखिन्छ ।
किनकी यो जसपाको आधार क्षेत्र हो । जसपाले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गरेको थियो । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको प्रमुख दाबेदारी रहने बताउँछन् । विगतको निर्वाचन इतिहास र स्थानीय तह निर्वाचनको परिणामलाई समेत आधार मान्ने हो नेपाली कांग्रेस नै मुख्य हकदार रहेको उनको भनाइ छ । यहाँ नेपालगन्जका पूर्वमेयर डा. धवलशम्शेर राणासमेत उम्मेदवार बन्ने चर्चा छ । नेकपा एमालेले समेत यसक्षेत्रबाट उम्मेदवार छनोटको तयारी गरिरहेको उपाध्यक्ष डिल्ली विसी बताउँछन् ।
यसपटक जिल्लामा गठबन्धन भर्सेस नेकपा एमाले हुने पक्कापक्की नै छ । यद्यपि राप्रपा–एमाले गठबन्धनको समेत सम्भावना छ । विगतमा लगातार नेपाली कांग्रेसले जित्दै आएको क्षेत्र हो । यसपटक कांग्रेस आफ्नो २०७४ मा गुमेको साख फर्काउने चुनौतीमा हुनेछ भने जसपामा आफ्नो विजय सुनिश्चित गर्ने धाउन्नमा हुनेछ ।
अरु क्षेत्रमा भन्दा क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट उम्मेदवार छनोट चुनौती बन्ने देखिन्छ । यस क्षेत्रमा गठबन्धन भइहालेमा यहाँ जसपा बलियो देखिन्छ । नेपाली कांग्रेसले भाग पाउने सम्भावना कमै देखिन्छ । नेकपा माओवादी केन्द्रले यहाँ आंकाक्षा देखाएकै छैन ।









प्रतिक्रिया दिनुहोस्