कोहलपुर नगरपालिकाको फोटो र भिडियो खिच्न रोक, पत्रकारमाथि दुव्र्यवहार



कोहलपुर ।

मिसन टुडे राष्ट्रिय दैनिकका संवाददाता गणेश रावतमाथि दुव्र्यवहार भएको छ । आइतबार दिउँसो नगरपालिकाको हाताभित्र अवस्थित स्वास्थ्य चौकी र यहाँ प्रयोगविहीन भएको एम्बुलेन्सको भिडियो रेकर्ड गर्दै गर्दा नगरपालिकाका सुरक्षागार्ड तिलक नेपालीले दुव्र्यवहार गरेका हुन् ।

भिडियो रेकर्ड गर्नसमेत उनले रोक लगाएका थिए । माथिको आदेशभन्दै उनले नगरपालिका र स्वास्थ्यचौकीको भिडियो रेकर्ड तथा तस्विर खिच्न अवरोध गरेका थिए । यता मिसन टुडेकर्मी रावतले भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको निर्देशनमा आफूलाई भिडियो खिच्न रोकिएको बताएका छन् ।

‘म भिडियो रेकर्ड गरिरहेको थिएँ,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत ढकालले सिसी क्यामेरा हेरिरहनु भएको रहेछ । सिसी क्यामेराबाट मैले भिडियो खिचेको देख्दा उहाँले गार्डलाई आदेश दिनु भएको रहेछ ।’

नगरपालिकाको गेटमा पोसाकसहित खटिएका कर्मचारीले भिडियो खिचिरहेको बेला निर्देशनात्मक शैलीमा भिडियो खिच्न पाइँदैन भन्दै अवरोध गरेका थिए । ‘म भिडियो खिचिरहेको थिएँ । पछाडिबाट ओइ भनेको आवाज सुनियो । फर्केर हेर्दा त्यहाँका कर्मचारी मतिर आउँदै थिए,’ उनले भने, ‘भिडियो खिच्न पाइँदैन ।

खिच्नका लागि माथिको आदेश चाहिन्छ ।’ ती कर्मचारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सिसी क्यामेरा हेरेर आफूलाई फोन गरेर भिडियो खिच्न नदिन भन्दै निर्देशन दिएको ती कर्मचारीले पीडित पत्रकार रावतलाई सुनाएका थिए । मिसन टुडे दैनिकबाट आएको हो भनेर परिचय दिँदासमेत कर्मचारीले धम्काएको उनको भनाइ छ ।

त्यतिकैमा अन्य कर्मचारीसमेत आएका थिए । उनीहरुले समेत आफूलाई किन गाडीहरुको नम्बर प्लेट खिचेको भन्दै धम्काएको उनले बताए । आफूले एम्बुलेन्सको भिडियो चाहिएको भन्दासमेत अटेरी गरेको रावतले बताए ।

मिसनकर्मीलाई दुव्र्यवहार भएको विषयमा भने आफूलाई जानकारी नभएको ढकालले बताए । तपाईंको निर्देशनमा मिसनकर्मीमाथि दुव्र्यवहार भएको हो भन्ने प्रश्नमा ढकालले टेलिफोनमा भने, ‘खै मलाई थाहा छैन । म कार्यक्रममा छुँ । के भएको रहेछ । बुझेर तपाईंलाई भन्छुँ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ६ गते सोमबार